मुस्ताङमा पहिलोपटक करदाता शिक्षा

जोमसोम । हिमाली जिल्ला मुस्ताङमा पहिलोपटक करदाता शिक्षा सचेतना कार्यक्रम आयोजना गरिएको छ । आन्तरिक राजस्व कार्यालय बागलुङको आयोजना तथा कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङको समन्वयमा बिहीबार जिल्ला प्रशासन कार्यालय मुस्ताङको सभाहलमा करदाता शिक्षा सचेतना कार्यक्रम आयोजना गरिएको हो ।
राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला)सडक आयोजना सहज हुँदै गएपछि मुस्ताङ जिल्लाको कृषि र पर्यटन व्यवसायको आर्थिक क्षेत्र निकै चलायमान अवस्थामा छ । पर्यटक वृद्धि दर उकासिएसँगै यहाँको कृषि र पर्यटन व्यवसायको क्षेत्र फस्टाउँदो अवस्थामा छ । यसैका कारण स्थानीयहरु कृषि र पर्यटन व्यवसाय क्षेत्रमा जोडिँदै जान थालेका छन् ।
मुस्ताङमा कृषि र पर्यटन लगायत विभिन्न क्षेत्रमा कार्यरत तथा यस्ता व्यवसायमा जोडिने तयारीमा रहेका उद्यागी, व्यवसायी र संघसंस्थाका व्यवसायीहरु कर प्रणाली तथा यसको सहजताका विषयमा पर्याप्त ज्ञान नहुँदा विभिन्न खाले समस्या भोग्न बाध्य छन् । यिनै समस्याको समाधान गर्न आन्तरिक राजस्व कार्यालय बागलुङको ४ सदस्यीय टोली मुस्ताङ आएको हो । आन्तरिक राजस्व कार्यालय बागलुङका कर अधिकृत नारायण भण्डारी, मोहनप्रसाद आचार्य र राजनमणि शर्मा लगायतको टोली करदाता शिक्षा सचेतना चलाउन मुस्ताङ आएको हो ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङको सभाहलमा आयोजित करदाता शिक्षा सचेतना कार्यक्रममा स्थानीय उद्यागी, व्यवसायी र विभिन्न संघसंस्थाका व्यक्तिहरुको उत्साहजनक सहभागिता थियो । ‘कर प्रणालीको सार, लगानीको आधार’ नारासहित राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८१ को अवसरमा मुस्ताङमा करदाता शिक्षा सचेतना कार्यक्रम आयोजना गरिएको हो ।
आन्तरिक राजस्व कार्यालय बागलुङको टोलीले मुस्ताङको जोमसोममा उद्योगी, व्यवसायी तथा विभिन्न संघसंस्थाका सञ्चालकहरुलाई स्थायी लेखा नम्बर दर्ता, कर दर्ता, आय व्यय विवरण, मूल्य अभिवृद्ध कर दर्ता, अन्तशुल्क इजाजत लगायत कर प्रणाली र कर नीतिका बारेमा जानकारी गराइएको छ । कार्यक्रममा करदाता वेबसाइटमार्फत करचुक्ता लिने प्रक्रियाका बारेमा आन्तरिक राजस्व कार्यालय बागलुङको कर अधिकृत टोलीले जानकारी दिएका थिए । करदाता शिक्षा सचेतना तथा अभिमुखीकरण कार्यक्रममा वर्तमान कर व्यवसाय तथा आर्थिक विधेयकमा भएका विभिन्न कर छुट सुविधाका बारेमा समेत व्यवसायीहरुलाई जानकारी गराइएको थियो ।
मुस्ताङमा आयोजित करदाता शिक्षा कार्यक्रममा आन्तरिक राजस्व कार्यलयका कर अधिकृतद्वय मोहनप्रसाद अचार्य र राजनमणि शर्माले प्रस्तुतीकरण गरेका थिए । करदाता शिक्षा सचेतना कार्यक्रममा आयोजित कर संम्बन्धी अन्तत्र्रिmयामा मुस्ताङका व्यवसायी तथा उद्यमीहरुले यसप्रकारको कार्यक्रममा बर्सेनि आयोजना गर्नुपर्ने माग राखेका छन् । उपल्लो र तल्लो मुस्ताङका व्यवसायीहरुलाई समेट्ने गरी करदाता शिक्षाको कार्यक्रमलाई बृहत् बनाएर लैजानुपर्नेमा सुझाएका छन् । आन्तरिक राजस्व कार्यालयको सेवालाई फराकिलो बनाएर लैजान मुस्ताङमा कार्यालयको शाखा विस्तार गर्नुपर्नेमा व्यवसायीहरुले आवाज उठाएका थिए ।
यसअघि करदाता शिक्षा सचेतना कार्यक्रममा मुस्ताङका प्रजिअ विष्णु भुसालले राज्यका सबै नागरिक करको संवाहक भएको उल्लेख गरे । राज्यका उद्यमी व्यवसायी, संघसंस्था र नागरिकले कर स्वरुप बुझाएको पैसाले देशको अर्थतन्त्र व्यवस्थापन र विकासका काममा योगदान पुग्ने बताए । प्रजिअ भुसालले सबै नागरिकले राज्यलाई कर तिर्ने र व्यवसाय दर्ता गर्ने कानुनी आधार भएकाले कर प्रणालीमा जोडिएर राष्ट्रप्रति योगदान गर्न सुझाए । कार्यक्रममा वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङले राज्य निर्माणमा व्यवसायीहरु महत्वपूर्ण भूमिका रहने बताए ।
राज्य संयन्य सञ्चालन गर्ने प्रणालीको विकासमा ३ तहको सरकारको भूमिका हुने भएकाले सबै निकायहरुले करदाताहरुलाई सहज सरल र सेवामैत्री तुल्याउँदै लैजानुपर्ने अध्यक्ष गुरुङको भनाइ थियो ।
कार्यक्रममा मुस्ताङका झन्डै ६० भन्दा बढी उद्योगी, व्यवसायी र संघसंस्थाका सञ्चालकहरुको सहभागिता रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय जब्बरबहादुर भण्डारीले जानकारी दिए । उनले आन्तरिक राजस्व कार्यालयले प्रवाह गर्ने केही सीमित अधिकारको अख्तियारी कार्यालयलाई सुम्पिएको र कार्यालयको शाखा स्थापना गर्ने विषयमा प्रक्रिया अघि बढिसकेको बताए ।
तपाईको प्रतिक्रिया