हिसान स्पोर्टस मिटः भलिबल र बास्केटबलका फाइनल खेल आज

पोखरा ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा जारी १७ औं हिसान कास्की स्पोर्टस मिट २०८१ को समापनसहित पुरस्कार वितरण शुक्रबार हुँदै छ ।
बिहीबार प्लस टु छात्रा–छात्रा र विश्वविद्यालय विङतर्फका ब्याडमिन्टनका सम्पूर्ण खेल सकिएका छन् । ब्याडमिन्टन प्लस टुतर्फ मदरल्यान्डले बाजी मारेको छ । समग्रमा मदरल्यान्डले माविले ७ अंक प्राप्त गर्दा प्रतिभा मावि दोस्रो हुँदै ५ र कास्की मोर्डनाइज्ड तेस्रो हुँदै ३ अंक हात पारेको ब्याडमिन्टनका संयोजक पुरन कुँवरले जानकारी दिए ।
विश्वद्यिालय विङतर्फ पोखरा लिंकन इन्टरनेसनल कलेज ७ अंका साथ पहिलो बन्दा पोखरा इन्जिनियरिङ कलेज ५ अंका साथ दोस्रो, इन्फर्मेटिक्स र पोखरा कलेज अफ म्यानेजमेन्ट ३–३ अंकका साथ तेस्रो स्थान प्राप्त गरे ।
छात्र प्लस टु सिंगल्समा प्रतिभाका विज्ञान भण्डारीले मदरल्यान्डका दीप रानालाई २–१ को सेटमा पराजित गर्दा छात्रा सिंगल्समा केएमएकी प्रजु थापाले मदरल्यान्डकी विशिष्ट केसीलाई २१–१६, २१–११ ले पाखा लगाइन् ।
छात्र सिंगल्समा मदरल्यान्डका पृथक गुरुङ र प्रतिभाका सुमित सुनार र छात्रातर्फ सगरमाथाकी सदिक्षा खत्री र ग्लोबलकी प्रश्मिता खाँडले तेस्रो स्थान हात पारे । प्लस टु छात्र डबल्समा प्रतिभाका विज्ञान भण्डारी र सुमित सुनारको जोडीले मदरल्यान्डका दीप राना र पृथक रानाको जोडीलाई २२–२०, २१–१७ ले पराजित गरे ।
छात्रातर्फ केएमएका प्रजु थापा र आइशा संग्रौलाको जोडीले मदरल्यान्डका विशिष्ट केसी र उपसना पौडेललाई २१–१५, १६–२१ र २१–७ ले पराजित गरेका छन् । छात्र डबल्समा सगरमाथाका समीर र सुमन अधिकारीको जोडी रेन्बोका आइशा राना र किस्मत गुरुङको जोडी तथा छात्रातर्फ ज्योतीकुञ्जका सज्जा घले र आयुप्सा गुरुङको जोडी र ग्लोबलका शइन थापा मगर र प्राप्ति खड्काको जोडीले तेस्रो स्थान हात पारे ।
विजेताहरुलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, हिसान केन्द्रीय उपाध्यक्ष बाबुराम पन्त, हिसान कास्कीका अध्यक्ष दिवाकर जैशी लगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
छात्र भलिबलमा प्रतिभा मावि र गुरुकुल मावि, सिर्जना र न्यू ग्यालेक्सी सेमीफाइनल प्रवेश गरेको छात्र भलिबलका संयोजक नवीन बरालले जानकारी दिए । छात्रा भलिबलतर्फ सिर्जना र सगरमाथा तथा करुणनिधी मावि र गुरुकुल मावि सेमीफाइनलमा भिड्नेछन् ।
पोखरा रंगशालामा भएको प्लस टु छात्र बास्केटबलमा प्रतिभा मावि र मनकामना तथा न्यू ग्यालेक्सी र कास्की मोर्डनाइज्ड अन्तिम ४ मा प्रवेश गरेका छन् । यसअघि भएका क्वाटर फाइनलमा प्रतिभाले ग्लोबललाई ५२–२५ ले, मनकामनाले सोसल पब्लिकलाई ३६–१५ ले, कास्की मोर्डनाइज्डले माउन्ट अन्नपूर्णलाई ५०–४० ले र न्यू ग्यालेक्सीले मेरीगोल्डलाई ४८–२१ ले पराजित गरेको बास्केटबलका संयोजक खिमबहादुर गुरुङले जानकारी दिए ।
हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धामा कक्षा ११–१२ छात्र भलिबलमा ३३ र छात्रातर्फ २१ विद्यालयको सहभागिता छ । छात्र बास्केटबलमा सर्वाधिक ३९ र छात्रातर्फ ११ टिमको सहभागिता छ । छात्रा बास्केटबल भइसकेको छ ।
टेबुल टेनिसतर्फ छात्र–छात्रा सिंगल्स, डब्लसतर्फ १ सय ११ खेल बिहीबार भएका छन् । त्यसै गरी व्याडमिन्टन छात्र–छात्रातर्फ सिंगल्स र डब्सल्समा गरी १ सय २४ खेल भएका छन् । विश्वविद्यालयतर्फ बास्केटबलमा छात्रतर्फ ८ र छात्रातर्फ समेत ८ टिमले सहभागिता जनाएका छन् ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय प्लस टु तर्फ ६६, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका १५ मध्ये कुल ६१ शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका छन् ।
प्रतियोगिता गर्न करिब २५ लाख खर्च हुने तथा प्रतियोगितामा विजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक यामबहादुर रोक्काले जानकारी दिएका छन् । प्रतियोगितालाई आइएनजी ग्रुपले मुख्य प्रायोजन गरेको छ ।
१५ औं र १६ औं संस्करणको हिसान स्पोर्टस मिटको उपाधि प्रतिभा माविले जितेको थियो । हालसम्म ग्लोबल कलेजियट माविले लगातार ३ पटक र न्यू ग्यालेक्सीले लगातार ४ पटक जितेर रनिङ सिल्डमा कब्जा गरेका छन् ।
निजी शिक्षालयहरूको साझा संगठनका रुपमा रहेको हिसान अन्तर्गत कास्कीमा ४० हजार भन्दा बढी विद्यार्थी र ५ हजार बढी शिक्षक तथा कर्मचारी कार्यरत छन् । हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा संगठित ६५ भन्दा बढी प्लस टु विद्यालय र १५ कलेज आबद्ध छन् ।
तपाईको प्रतिक्रिया