सम्पादकीय—अन्तर्राष्ट्रिय उडान भर्ने आशा

समाधान संवाददाता २०८१ मंसिर १४ गते १२:०५

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल व्यवसायिक हिसाबले सञ्चालन भएको २ वर्ष पुरा हुँदा समेत अझै नियमित रुपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । १ जनवरी २०२३ बाट सञ्चालनमा आएको विमानस्थलबाट हिमालयले एयरलायन्सले चीनको ल्हासा उडान गर्ने प्रस्ताव गरेको छ । पोखरा–ल्हासा सम्भावना देखेर उडानको तयारी थालेको एयरलायन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमतिका लागि छलफल सकेर प्रक्रिया अघि बढाएको छ । हिमालयले पोखराबाट उडान गर्न प्रक्रियागत काम थालेपनि प्राधिकरणले अनुमति दिन बाँकी छ । यदि हिमालयले पोखराबाट नियमित उडान थालेमा यो पहिलो व्यावसायिक उडान गर्ने वायुसेवा हुन सक्छ । पोखरामा जेट विमान पहिलोपटक अवतरण गर्नेमा हिमालय पहिलो वायुसेवा थियो ।

Advertisement


चीनको एक्जिम बैंकको २२ अर्ब ऋणमा बनेको विमानस्थलबाट अझै पनि चार्टर उडानबाहेक व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको छैन । आन्तरिक उडानमा सिमित विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न नेपालको बुद्ध एयर, बंगलादेशको वायुसेवा कम्पनी एयर अस्ट्राले नेपालसँग प्रस्ताव गरेको छन् । जजिरा, थाई स्माइल, कतार, फ्लाई दुबई लगायतका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरलायन्स कम्पनीहरूले पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्न चासो देखाए । नेपाल सरकारले पोखराबाट अन्तर्राष्ट्रिय उडानको लागि कुटनीतिक रुपमा पहल नगर्दा सबै प्रक्रिया रोकिएको छ ।


पोखराबाट अन्तर्राष्ट्रिय उडानको लागि भारततर्फ ठोस प्रगति हुन सकेको देखिदैन । १५ भदौ २०८०मा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको क्रममा नेपाल– चीनले जारी गरेको १३ बुँदे संयुक्त वक्तव्यको ७ नम्बर बुँदामा दुबैपक्षबाट पोखरा एयरपोर्टसहितबाट उडान र थप हवाइ रुट बिस्तार गर्ने सकारात्मक सहमति भएको छ । दुबै देशले आफ्ना एयरलाइन्स कम्पनीलाई उडान सुरु र थप उडानका लागि सहयोगसँगै सहजीकरण गर्ने सहमति गरिएको छ । हालैका वर्षमा नेपालसँग उड्डयन क्षेत्रमा सहकार्य बढाउने नीति चीनले लिएको देखिन्छ ।


यद्धपी सहमति अनुसार काम अगाडि नबढेको अवस्था छ । यस्तो अवस्थामा हिमालयले पोखराबाट चीनको ल्हासा उडान गर्ने विषय वाहिर आएको छ । चीनका राष्ट्रपति सी जिनपिङको औपचारिक निमन्त्रणामा यहि मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको ५ दिने चीन भ्रमण तय भएको छ । पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने विषयमा समेत छलफल हुने प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा युवराज खतिवडाले सार्वजनिक गरेका छन् । जसले दुबै देश बीच भएको सहमति अनुसार काम अगाडि बढ्ने आशा पलाएको छ ।


भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही समय अन्तर्राष्ट्रिय उडान भएर रोकिएर फेरी सुरुवात भएको छ । यस्तो अवस्थामा सरकारले राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि बनाएको कार्ययोजनालाई कार्यान्वयन गर्नु पर्छ । भारत चीन सहितका अन्य देशसँग समन्वय गरेर अन्तर्राष्ट्रिय उडान थाल्न सरकारले कूटनीतिक पहल थाल्नु पर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया