योग चेतनासँग जोड्ने सहज माध्यमः प्रदेश प्रमुख भट्ट

पोखरा ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अद्वितीय ध्यान विधि मानव जातिलाई सर्वव्यापी चेतनासँग जोड्ने एक सरल र सहज माध्यम भएको बताएका छन् ।
हिमालय समर्पण ध्यान योग नेपालले गण्डकी प्रदेश सभा सचिवालयको व्यवस्थापनमा पोखरामा आयोजना गरेको ध्यान योग शिविरमा प्रदेश प्रमुख भट्टले शरीर र आत्मासँगको जोड नै योग भएकाले हामीलाई आफ्नो अन्तर आत्मासँग जोडिन योगले मद्दत गर्ने उल्लेख गरे ।
‘आज मानिसहरू अशान्ति, तनाव, अंहकार जस्ता रोगहरूबाट पीडित छन् । यसबाट मुक्तिका लागि ध्यान र योगको आवश्यकता छ । यो हो । योग भनेको जोड हो । ध्यानका लागि कुनै रकम खर्च गर्नुपनि पर्दैन । सम्पूर्ण मानव जातिलाई ध्यान सर्वसुलभ छ,’ उनले भने ।
ध्यानले आफ्नै आत्मासँग हाम्रो सम्बन्ध गाँसिदिने र त्यसपछि हाम्रो आत्माले हामीलाई मार्गनिर्देशन गर्ने उल्लेख गर्दै उनले ध्यान जति गहन हुँदै जान्छ, त्यति नै हामीमा शरीरभाव कम हुँदै जाने र आत्मभाव वृद्धि हुन थाल्ने बताए ।
उनले ध्यानले हरेक कुराको मार्गदर्शनको ढोका खुल्न थाल्ने र यो हिमालय समर्पण ध्यानयोग संस्कार विश्व चेतनासँग जोडिने एक सरल र सशक्त माध्यम रहेको जनाए । सन्तुलित विचारले सन्तुलित व्यक्तित्व निर्माण हुने र जीवनमै सफलता प्राप्त हुनेमा जोड दिँदै भट्टले आयुर्वेदका अनुसार जहाँ शरीर, मन, आत्मा र पर्यावरणबीच सद्भाव रहन्छ, त्यो नै स्वास्थ्य सन्तुलनको स्थिति रहेको उल्लेख गरे ।
‘हाम्रो जीवनको मुक्ति साधना हो । साधना विना कुनै पनि क्षेत्रको सफलता सम्भव छैन । सफलताका लागि कर्म गर्नुपर्दछ । कर्म असल भयो भने मात्र सफलता सम्भव छ,’ भट्टको भनाइ छ । यस संस्थाको आयोजनामा भोलि बिहान पोखरा रंगशालामा जीवन रूपान्तरणको लागि हिमालयन ध्यान योग अन्तर्मनको शान्तियात्रा २०८१, आत्मिक शुद्धिका लागि निःशुल्क अद्वितीय ध्यान शिविर हुँदै गरेकोमा यस कार्यक्रमको पूर्ण सफलताको शुभकामना दिए ।
हिमालयमा तपस्या गरेका ऋषिमुनीहरूका परमप्रिय शिष्य, नेपालमा बुद्धत्व प्राप्त गरेका बुद्ध पुरुष महर्षि श्री शिव कृपानन्द स्वामीजीलाई नेपाल भ्रमण वर्ष २०२० को पर्यटन सद्भावना दूतका रुपमा नेपाल सरकारले नियुक्त गरेको थियो । ४५ वर्षअघि पशुपतिनाथबाट अध्यात्मिक यात्रा सुरु गर्नुभएका स्वामीजीले रसुवा जिल्लाको हिमाच्छादित गुफामा तपस्या गर्नुभएको थियो ।
उनै स्वामीजीको सान्निध्यमा जीवन रूपान्तरणका लागि अद्वितीय हिमालयन ध्यानयोग प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।
तपाईको प्रतिक्रिया