पोखरामा नेपाल इन्डिया चाइना एक्सपो तयारी

समाधान संवाददाता २०८१ मंसिर १४ गते १८:५४

पोखरा । पोखरामा पर्यटक बढाउनका लागि नेपाल इन्डिया चाईना एक्सपो ‘नाइस’ को तयारी थालिएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको आयोजनामा फागुन १२ देखि १४ सम्म एक्सपो हुने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

Advertisement

ती देशको सहभागितामा हुने एक्सपोलाई नेपाल पर्यटन बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय (गण्डकी प्रदेश), पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्सँगै अन्य प्रमुख पर्यटन संघ, संस्था र सरकारी एवं निजी क्षेत्रका विभिन्न साझेदार संस्थासँगको सहकार्य र सहयोग गर्ने छ । विश्व पर्यटन इतिहासमै पहिलो पटक ३ मुलुक समावेश भई आयोजना गरिने ‘नाइस’ सम्भवतः पहिलो पर्यटन मेला रहेको नाइस २०२५ का संयोजक सुनीलबहादुर भट्टराईले जानकारी दिए ।

‘नेपालको पर्यटन प्रवद्र्धन तथा विकासका लागि सबैभन्दा महत्वपूर्ण निकट छिमेकी पर्यटन स्रोत बजार चीन र भारत हुन्,’ उनले भने, ‘यसबाट पर्यटन सम्बद्ध व्यवसायी र निजी तथा सरकारी निकायका सरोकारवाला एवं संघ, संस्थालाई एकै थलोमा आमन्त्रण गरी आपसी व्यापार प्रवद्र्धन, सम्पर्क सञ्जाल विस्तार, तथा त्रिदेशीय पर्यटनको नयाँ आयामहरु उजागर गराउन प्रेरणा प्रदान गर्ने महत्वपूर्ण मञ्च बन्ने हामीले विश्वास गरेका छौं ।’

‘नाइस फर माइस एन्ड मोर’ भन्ने नाराका साथ आयोजना हुने यो ऐतिहासिक कार्यक्रमले पोखरालाई पदयात्रा र साहसिक पर्यटनको केन्द्रको रूपमा मात्र नभई माईस पर्यटन (अर्थात् बैठक, सभा सम्मेलन, प्रोत्साहन, विवाह तथा अन्य उत्सव, महोत्सव, समारोह, मेला र प्रदर्शनीहरू) का रुपमा विकास गर्न सकिने संयोजक भट्टराईले बताए । एक्सपोमार्फत पोखरालाई नेपालको पर्यटन राजधानी तथा घुम्नैपर्ने प्रमुख गन्तव्यको रुपमा परिचित गराउने उद्देश्य पनि राखेको छ ।

एक्स्पो आयोजनाको मुख्य उद्देश्य दुई ठूला अर्थतन्त्र तथा पर्यटन स्रोतबजारहरू भारत र चीनसँग नेपालको अप्रयुक्त प्रचुर पर्यटन सम्भाव्यता र एकीकृत व्यवसायिक अवसरहरूलाई प्रवर्धन गर्नु रहेको उनले सुनाए । विश्वव्यापी महामारीपूर्वको सामान्य समयमा चिन र भारतका पर्यटकको बसाई लम्ब्याउन एक्सपोले सघाउने पाटाका कार्यकारी निर्देशक सुरेशसिंह बुडालले बताए ।

Advertisement

२०१९ को तथ्यांक अनुसार कोरोनापछि लगभग १५ करोड ५० लाख चिनियाँ पर्यटकले विदेश यात्रा गरे, जसमध्ये ० दशमलव १ प्रतिशतले मात्र नेपाल भ्रमण गरेको उनले जानकारी दिए । सोही वर्ष २ करोड ७० लाख विदेश यात्रा गर्ने भारतीय पर्यटकमध्ये ० दशमलव ९४ प्रतिशतले मात्र नेपाल भ्रमण गरेको देखिएको उनले सुनाए ।

दुई छिमेकी मुलुकको पर्यटक आगमन हेर्दा नेपालले प्रमुख स्रोतबजारबाट सम्भावना अनुरुप अपेक्षित लाभ लिन नसकेको प्रष्ट देखिएकाले एक्सपोले भारत र चीनबाट यात्रा र पर्यटनको माग बढाउन सघाउने उनले बताए ।

एक्स्पोमा १ सयभन्दा बढी क्रेता, ८० भन्दा बढी बिक्रेता, चीन र भारतका २५ भन्दा बढी सञ्चारकर्मी र विज्ञ वक्ताहलगायत पर्यटनसँग सम्बद्ध स्थानीय संघ। संस्था, सरकारी निकाय तथा सरोकारवाला गरी १ हजारभन्दा बढी सहभागी विदेशबाट आउने आयोजकले अपेक्षा गरेको छ । कार्यक्रमको सफल आयोजनका लागि नेपाल, भारत तथा चीन तिनवटै मुलुकका पर्यटन सम्बद्ध व्यवसायी तथा सरोकारवालासँग आवश्यक सहकार्य, समन्वय र सहयोग गर्दै जाने निर्देशक बुडालले बताए ।

तपाईको प्रतिक्रिया