बेनी—जोमसोम सडकको काभ्रेभीरमा चट्टान खोपेर सडक चौडा पारिँदै

सुन्दरकुमार थकाली २०८१ मंसिर १५ गते ४:५६

जोमसोम । राष्ट्रिय गौरवको (बेनी—जोमसोम) ७४ किमी सडक अन्तर्गत पर्ने जोखिमयुक्त सडक काभ्रेभीरमा चट्टान खोपेर सडक चौडा गर्न थालिएको छ । बेनी—जोमसोम—दोस्रो खण्डको जिम्मा पाएको शर्मा गजुरमुखी जेभीले मुस्ताङ प्रवेशद्वार काभ्रेभीर सडकमा चट्टान खापेर सडक चौडा गर्न थालेको हो ।

Advertisement

भौगालिक रुपले निकै नै कठिन मुस्ताङ प्रवेशद्वार काभे्रभीरमा सडक माथिको चट्टान काटेर सडक चौडा गर्न सम्भव नभएका कारण सडक तल चट्टान खोपेर त्यहाँबाट एङ्करिङ ब्लक निर्माण गरी सडक फराकिलो बनाउन थालिएको शर्मा गजुरमुखी जेभीको प्रोजेक्ट मेनेजर नरेन्द्र न्यौपानेले जानकारी दिए ।

काभेभीर सडकमा ११ मिटरको सडक विस्तार गर्ने कुनै ठाउँ नभएको र सडकको डाइभर्सनसमेत नभएकाले वैकल्पिक प्रविधिको प्रयोग गर्नुपर्ने बाध्यता रहेको प्रोजेक्ट म्यानेजर न्यौपानेको भनाइ छ ।

Advertisement

म्याग्दीबाट मुस्ताङ प्रवेश गर्ने काभे्रभीर प्रवेश गर्न पहिलो प्वाइन्टमा सडक फराकिलो बनाउन एङ्करिङ ब्लकको सहयतबाट सडकको सतहसम्म आरसिसी पर्खाल उठाएर फिलिङ गरी करिब ८० मिटर सडक चौडा गरिने प्रोजेक्ट म्यानेजर न्यौपानेको भनाइ छ । यो प्रविधि अपनाउँदै काभ्रेभीरको ८० मिटर सडकको तल ३० मिटर र कालिगण्डकी नदीको सतहदेखि १५० मिटर माथि चट्टान खोपेर एङकरिङ ब्लक निर्माण गरी सडकको बेस तयारी गरिन लागिएको हो ।

कम्प्रेसरबाट ड्रिल मेसिनको सहायताले निकै जोखिम मोलेर त्यहाँ एङ्करिङ ब्लकका लागि चट्टान खोपेर दर्जनौं प्वालहरु पारिएका छन् । सडक फराकिलो पार्न अर्काे विकल्प नहुँदा सडक तलको चट्टानमा २५ दखि ३० एमएमको प्वाल पारेर २५ मिटर रकको प्वालमा २५ एम एमको रड फिटिङ गरी आरसीसी सडक बेस निर्माण गरिने प्रोजेक्ट मेनेजर न्यौपानेले बताए ।
म्याग्दीको दोस्रो खण्डमा शर्मा गजुरमुखि जेभीले यो प्रविधि अपनाएर ५ स्थानको सडकमा काम गरिसकेको उनले जनाए । म्याग्दी खण्डको बैसरीमा पनि शर्मा युनाइटेड जेभीले एङ्करेज ब्लकको प्रविधि अपनाएर सडक माथिको पहिरो रोकथामको उपाय अपनाएको हो ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया