पोखरेलीको धारामा प्रशोधित पानी

समाधान संवाददाता २०८१ मंसिर १५ गते ५:५१

पोखरा । पोखरेलीलाई प्रशोधित पानी पुर्‍याउने उद्देश्यका साथ २०७४ भदौमा सम्झौता गरिएको ‘पोखरा खानेपानी सुधार आयोजना’को काम सकेर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले नेपाल सरकारलाई हप्तान्तरण गरेको छ । खानेपानी मन्त्री प्रदीप यादवले शुक्रबार उक्त आयोजनाको अन्तर्गत बनिसकेका संरचनाको उद्घाटनसमेत गरेका छन् । योसँग अब पोखरेलीले सीधै धारामा शुद्ध पानी पुग्ने जनाइएको छ ।

Advertisement

२०७६ मा सम्पन्न गर्ने गरी सुरु गरिएको खानेपानी सुधार आयोजना ०८१ भदौ १५ गते सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । हस्तान्तरणसँग शिलान्यास भएपछि पोखराका साढे ३ लाख जनसंख्या लाभान्वित हुने जनाइएको छ । जापान सरकारले यो आयोजना बनाउन ४ अर्ब ८१ करोड ३० लाख रुपैयाँमा लगानी गरेको छ ।

अब दैनिक ४ लाख १० हजार लिटर पानीलाई शुद्धीकरण गरेर घर घरमा पठाउने पोखरा खानेपानी संस्थान पोखराका प्रमुख आशीष कार्कीले जानकारी दिए । यद्यपि पोखरामा करिब ८ करोड लिटर पानीको माग छ । आवश्यक थप पानी विभिन्न ठाउँमा बोरिङ र आसपासका खोलाबाट ल्याएर खानेपानी परिपूर्ति गर्ने योजना संस्थानको छ ।

मर्दी खोलाको पानीलाई शुद्ध गर्न मर्दीको मुहाननजिकै ४ करोड २० लाख लिटर क्षमताका ४ वटा बालुवा हटाउने ट्यांकी बनाइएको छ । ४ वटा पानी थिग्र्याउने ट्यांकी पनि निर्माण भएका छन् । अलि तल पोखरा १९ पुरुन्चौरमा दैनिक ४ करोड १० लाख लिटर क्षमताका ६ वटा पानी छान्ने फिल्टर बनाइएको छ ।

जाइकाले खानेपानी सुधार आयोजना सकेर हस्तान्तरण गरेपछि शुक्रबार पोखरा १९ पुरुन्चौरमा प्रशोधनसहितको खानेपानी वितरण सुरुआत

Advertisement

९ सय ३० घन मिटरका २ सफा पानी संकलन ट्यांकीसमेत त्यहाँ छन् । र, पुरुन्चौरमा निर्माण गरिएको ट्रिटमेन्ट प्लान्टमा शुद्धीकरण गरिन्छ । उक्त ट्रिटमेन्ट प्लान्टबाट प्रशोधित पानी २० इन्चको पाइपबाट पोखरा २ विन्ध्यवासिनी र १६ इन्चको पाइपबाट पोखरा १६ लामाचौरको अमलाविसौनीमा रहेको संस्थानको पुरानै ट्यांकीमा पठाइन्छ ।

पोखराको पस्र्याङ, फूलबारी र कोलपाटनमा २०÷२० लाख क्षमताका ओभरहेड पानी ट्यांकी बनेका छन् । त्यहाँ पनि २० इन्चको पाइपबाट पुर्‍्याउने संस्थाले जनाएको छ । यस्तै, २० इन्चकै पाइपबाट पोखरा १५ कोलपाटनमा रहेको कोलपाटनको ट्यांकी पनि पुर्‍याउने योजना जाइकाको हो । तर, यहाँ निमाणाधीन ट्याङ्की अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा समस्या हुने भएपछि रोकिएको छ ।

ट्याङ्की निर्माण विवादीत भएपछि अब यो ट्याङ्की निर्माण नेपाल सरकारले नै गर्ने सहमति भएको छ । बाँकी काम नेपाल सरकारले गर्ने भएपछि जाइकाले आयोजना निर्माण गरेर हस्तान्तरण गरेको हो । आयोजनाका संचरना उद्घाटन गर्न पोखरा आइपुगेका मन्त्री प्रदीप यादबले पोखरेलीको अब धारामै शुद्ध पिउने पानी पुग्ने दाबी गरे ।


‘यो मेलम्चीपछिको सबैभन्दा ठूलो आयोजना हो । अब पोखरेलीले फोहोर मिसिएको खानेपानी खानुपर्दैन । धारामै थापेर पानी पाउनेछन्,’ मन्त्री यादवले भने ।

उनले आयोजनाले गर्न बाँकी रहेका काम पनि छिट्टै गर्ने प्रतिवद्धता जनाए । ‘उहाँहरुले आफूले गर्ने काम सबै गर्नुभयो । अब हामी इमान्दार भएर हाम्रोतर्फबाट गर्ने काम गर्छौं । थप्नुपर्ने कर्मचारी पनि राख्छौं । अझ पोखरालाई शुद्ध पिउने पानी खुवाउन बाँकी कहाँ कहाँबाट ल्याउनुपर्छ, सरकारले काम गर्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया