घार्मीमा बालाचतुर्दशी मनाइयो

समाधान संवाददाता २०८१ मंसिर १५ गते १८:१५

पोखरा । पोखराको धार्मिक पर्यटकीय स्थल घार्मीमा बाला चतुर्दशी पर्व धूमधामका साथ मनाइएको छ । पोखरा१९ घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सयौं भक्तजनको सहभागितामा सत्बीज छरेर बालाचतुर्दशी पर्व मनाईएको हो ।

Advertisement

मन्दिर व्यवस्थापन समिति अध्यक्ष ढुण्डिराज पौडेलले ध्वजा पताका र तोरणले सजिएको मन्दिरमा सद्बिज छर्न र दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको बताए । रूद्री पूजा गरिसकेपछि मात्रै सद्बीज छर्ने धार्मिक परम्परा भए पनि बिहानै भक्तजनको भीड लागेको थियो ।

स्थानीय विष्णुप्रसाद पौडेलको घरबाट विधिपूर्वक पूजाआजा गरी निकालिएको फूलको डोली बाजागाजा र भजनकीर्तनसहित विभिन्न भाग परिक्रमा गरी मन्दिर परिसरमा पु¥याइएको थियो । त्यस क्षेत्रमा सतबीज छर्न लामाचौर, बाटुलेचौर, हेमजा, अर्मला, कुरेचौर, हरिपाउँ, पुरुन्चौर लगायतका क्षेत्रबाट भक्तजन आउने गरेका छन् ।

सो अवसरमा विश्व हिन्दू महासंघ पोखरा १९, भुमे मैदान भजन समूह र स्थानीय युवाले दिनभर भजनकीर्तन गरी भक्तजनलाई मनोरञ्जन दिलाएका थिए । पछिल्लो समय विभिन्न व्यक्ति, संघ, संस्थाको सहयोगमा मन्दिरलाई व्यवस्थित र नियमित रूपमा पूजाआजा गरिएको समितिका कोषाध्यक्ष तेजेन्द्र पौडेल बताउँछन् । पुजारी रामचन्द्र पौडेलले यसको वृहत्तर विकासका लागि क्षेत्र विकास समितिमार्फत सबैलाई समेट्न सुझाव दिए ।

मन्दिर परिसरमा नै रहेको घार्मी भ्यु टावरले यहाँ आकर्षण थपेको छ । पोखराको दृश्यसहित मनोरम अन्नपूर्ण हिमशृङ्खला र माछापुच्छ्रे नजिकैबाट देख्न सकिने उक्त क्षेत्रमा दिनहुँ जसो सयौं पर्यटक पुग्ने गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया