करोलिन ट्रम्पकी प्रेस संयोजक नियुक्त
फ्लोरिडा, १५ मंसिर (एपी)
अमेरिकामा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले करोलिन लेभिटलाई ह्वाइट हाउस प्रेस सचिव (प्रेस संयोजक) नियुक्त गरेका छन् । २७ वर्षीया लेभिट ट्रम्पको संक्रमणकालीन टोलीकी प्रवक्ता हुन् । उनी ह्वाइट हाउसको इतिहासमा सबैभन्दा कान्छी प्रेस सचिव बन्नेछिन् । यसअघि यो उपाधि १९६९ मा रिचर्ड निक्सनको प्रशासनका बेला २९ वर्षका रोनाल्ड जिग्लरलाई थियो ।
‘करोलिन लेभिटले मेरो ऐतिहासिक अभियानको राष्ट्रिय प्रेस सचिवको रूपमा अद्भूत काम गरिन्, र म उनलाई ह्वाइट हाउस प्रेस सचिवको रूपमा घोषणा गर्न पाउँदा खुसी छु,’ ट्रम्पले एक विज्ञप्तिमा भने, ‘करोलिन चतुर, कठोर, र अत्यन्त प्रभावकारी सञ्चारकर्मी सावित भएकी छन् । मलाई विश्वास छ कि उनले उत्कृष्ट प्रदर्शन गर्नेछिन् र अमेरिकी जनतासँग हाम्रो सन्देश पु¥याउन मद्दत गर्नेछिन् । यसका लागि हामी हाम्रो देशलाई फेरि महान बनाउनेछौं ।’
लेविटले एक्स (पहिलेको ट्विटर) मा पोस्ट गर्दै जवाफ दिएकी थिइन्ः ‘ममाथि विश्वास गरेकोमा धन्यवाद, राष्ट्रपति ट्रम्प । म नम्र र सम्मानित छु । आउनुहोस्, हामी फेरि अमेरिकालाई महान् बनाऊँ ।’ ह्वाइट हाउस प्रेस सचिव प्रायः प्रशासनको सार्वजनिक अनुहारका रूपमा काम गर्छन् र ऐतिहासिक रूपमा प्रेससँग दैनिक ब्रिफिङ गर्ने परम्परा छ ।
तर ट्रम्पले आफ्नो पहिलो कार्यकालमा यी परम्पराहरूलाई परिवर्तन गरेका थिए । २०१७ देखि २०२१ सम्म राष्ट्रपति हुँदा ट्रम्पसँग ४ प्रेस सचिव थिए, तर उनी प्रायः ¥याली, सामाजिक सञ्जाल पोस्टहरू र आफ्नै ब्रिफिङमार्फत जनतासँग प्रत्यक्ष संवाद गर्न रुचाउँथे । गत अगस्टको एक पत्रकार सम्मेलनमा, ट्रम्पसँग नयाँ प्रशासनमा नियमित प्रेस ब्रिफिङ हुनेबारे सोधिएको थियो । उनले पत्रकारहरूलाई भनेका थिए, ‘म तपाईंहरूलाई पूर्ण पहुँच दिनेछु, र तपाईंहरू धेरै ब्रिफिङ पाउनुहुनेछ । त्यो, मबाट नै ।’
न्यू ह्याम्पशायर निवासी लेभिट ट्रम्पका लागि दृढ र क्यामेरामा प्रस्तुत हुन सक्ने समर्थक मानिन्छिन् । उनी टेलिभिजन अन्तर्वार्तामा शीघ्र उत्तर दिन र आक्रामक बचाव गर्न खप्पिस छिन् । लेभिटले ट्रम्पलाई समर्थन गर्ने सुपर पीएसी मागा इन्कमा प्रवक्ताको रूपमा काम गरेकी थिइन् । त्यसपछि उनले उनको २०२४ को अभियानमा काम गर्न सुरु गरिन् । २०२२ मा उनले न्यू ह्याम्पशायरमा कांग्रेसका लागि चुनाव लडेकी थिइन् । १० उम्मेदवार भएको रिपब्लिकन प्राथमिक निर्वाचन जितेकी थिइन् तर डेमोक्रेटिक सांसद क्रिस पाप्पाससँग पराजित भएकी थिइन् ।
तपाईको प्रतिक्रिया