गाउँको झझल्को मेटाउन ल्वाङ

सञ्जय रानाभाट २०८१ मंसिर १६ गते १२:१९

पोखरा ।

Advertisement

माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ मा पर्ने मर्दीखोला शिरको ल्वाङ गाउँमा यति बेला पर्यटकको घुँइचो छ । करिब ५ सय पाहुना राख्न सक्ने ल्वाङमा कात्तिकको अन्तिम हप्ताको शुक्रबार एकै दिन ८ सय जना होमस्टे पुगे । त्यस दिन कतिपय मिलेर होमस्टेमै बसे भने कति त फर्के ।

यो अहिलेसम्मकै धेरै पाहुना पुगेको तथ्यांक भएको सामुदायिक होमस्टे ल्वाङ अध्यक्ष सुमित्रा गुरुङ बताउँछिन् । हिजोआज शुक्रबार बेलुका बास बस्न पुग्नेहरुका बढेका छन् । असार महिनामा २ हजार २ सय जना पाहुना पुगेकोमा कात्तिक महिनामा २ हजार ७ सय जना पाहुना आएको उनले जानकारी दिइन् ।

Advertisement

‘हामीकहाँ २६ वटा घरमा होमस्टे छ । क्षमता करिब ५ सय हो । दिउँसै बुक गरेर आउने सजिलै बस्न पाउनुहुन्छ । यहाँ नै आएर बुक गर्छु भन्दा कहिलेकाहीँ फर्कनुपरेको पनि छ,’ उनले भनिन् । ल्वाङ पुग्ने प्राय स्याङ्जा तनहुँ, बुटवल, पोखराका बासिन्दा छन् ।

अबेरसम्म काम गरेर बेलुका ल्वाङ पुग्नेहरु पनि उत्तिकै छ । ‘२÷३ सय पाहुना नभएको त दिनै हुँदैन भने पनि हुन्छ । अहिले पाहुना आइनरहनुभएको छ,’ अध्यक्ष गुरुङले भनिन् । ल्वाङका होमस्टेमा बस्ने विदेशी पर्यटक पनि उत्तिकै छन् । गत वर्षमात्र ल्वाङमा ४ सय ६३ विदेशी बसेको तथ्यांक अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका संरक्षण कार्यालय ल्वाङसँग छ ।
एक्याप ल्वाङका कार्यालय प्रमुख लेखनाथ गौतमका अनुसार गत वर्ष ल्वाङमा २३ हजार ८ सय ८४ आन्तरिक पर्यटक पुगेका थिए । यहाँका करिब डेढ सय घरधुरी छन् । दीपेन्दमान गुरुङ जस्ता यहाँका स्थानीय बजारबाट गाउँ फर्केका छन् । गुरुङ ३ वर्षअघि मात्र गाउँ फर्केका हुन् । पर्यटकको सुरक्षाका लागि अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)ले गत हप्ता मात्र गाउँभित्रका चोक चोकमा २० वटा सिसिक्यामेरा जडान गरेको छ ।

Advertisement

१७ वर्ष वैदेशिक रोजगारीमा बिताएका उनी पछिल्लो समय गाउँमै आफूलाई पुग्ने आयआर्जन भएको सुनाउँछन् । ‘विदेशमा हुँदा घर, परिवार पोखरा झरेको थियो । अहिले म गाउँ फर्केर होमस्टेमा मिसिएको छु । राम्रो आम्दानी भएको छ,’ उनले भने ।
ल्वाङमा अहिले होटल पनि छन् । होटल खोज्दै बास बस्न पुग्ने पर्यटक पनि उत्तिकै छन् । ल्वाङ पुगेका प्रायः सबै एक रात बसाइका लािग गएका हुन्छन् । मर्दी हिमाल पदयात्राबाट फर्केका, पदयात्रामा निस्केका, ल्वाङमा गाउँको न्यास्रो मेटाउन पुगेकाहरुको यहाँ जमघट हुन्छ । बेलुका पुगेकाहरु एक रात रमाइलो गरी बिहान कार्यालय र घरको काम भ्याउने गरी फर्किन्छन् ।

यहाँ आएपछि गाउँको झल्को मेटिन्छ भन्नेहरु छन् । मर्दी हिमाल, खोलको शिर, माछापुच्छ्रे हिमालको मनमोहन दृष्य हेर्दै चियाबारी, बुद्धपार्क र गाउँ अवलोकन पाहुनाको रोजाइमा ल्वाङ हाेमस्टे परेकाे छ। ल्वाङमा २०६७ मा सामुदायिक होमस्टेको सुरूआत भएको थियो । गुरुङ भाषाबाट नामाकरण गरिएको यो ल्वाङ गाउँमा गुरूङ संस्कृति झल्किने लोभलाग्दा घरहरू छन् । ती घरसम्म पुग्ने बाटोका ढुंगे सिँढी छन् । होमस्टेको आतिथ्य संत्कार, सुन्दर दृश्यहरूले जो कोहीको मन सजिलै ल्वाङले तान्छ । गाउँकै चिसो हावापानीमा उत्पादित स्थानीय खाना र ल्वाङको चिया पाहुनालाई खुवाउने मुख्य परिकार हुन् । ल्वाङमा एक जना पाहुनाले एक रातको बास, २ छाक खाना र खाजासहितको प्याकेजका लागि १२ सय रूपैयाँ तिर्नुपर्छ । २०५३ सालमा स्थापित चिया बगान पुग्न होमस्टेबाट आधा घन्टा हाइकिङ गर्नुपर्छ ।

सुरक्षाका लागि सिसिटिभी
पोखराको हरिचोकबाट ल्वाङ जाने बस पाइन्छ । हरिचोकबाट हेमजाको मिलनचोक, मर्दीपुल हुँदै पौने घन्टामा ल्वाङ पुग्न सकिन्छ । पछिल्लो समय जति पाहुना बढे, उत्तिकै चोरी, झैझगडा र सवारी साधन तोड्फोडका घटनामा बढ्दै गएका थिए ।
यही पक्ष मध्यनजर गर्दै एक्यापले गाउँमा २० सिसि क्यामेरा जडान गरेको एक्याप इलाका कार्यालय ल्वाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । ‘एक हप्ता भयो सिसिटिभी जडान गरिएको छ । यसले गाउँमा पुग्ने पाहुनालाई थप सुरक्षित महसुस गराउने अपेक्षा छ । रातिमा पनि यसले प्रष्ट देखाउँछ । अब ल्वाङ होमस्टे सबै कुरालाई सुरक्षित छ भन्ने सन्देश दिएको छ,’ कार्यालय प्रमुख गौतमले भने ।

वडाध्यक्ष राम गुरुङले अहिले ल्वाङ पुग्ने सडक पक्की हुने क्रम जारी रहेको सुनाए । उनले ल्वाङ होमस्टेलाई प्रवद्र्धन गर्न वडाले पर्यटकीय क्षेत्रहरुको विकास गरिरहेको उल्लेख गरे । उनले मौलिक संस्कृति जर्गेना गर्न वडाले बर्सेनि बजेट विनियोजन गरेर काम गरेको सुनाए ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया