असहाय बाल उपकार संघको सामाजिक परीक्षण
पोखरा । असहाय बाल उपकार संघले सामाजिक परिक्षण कार्यक्रम गरेको छ ।
२०५८ सालमा काठमाडौंमा स्थापना भएको यस संस्थाले पोखरा २५ हेमजा, खोरियातरामा बालगृह सञ्चालन गरेको छ । शनिबार पोखरा २५ हेमजामा भएको कार्यक्रममा सामाजिक लेखापरीक्षक तथा कार्यक्रमका सहजकर्ता निकिता कोइरालाले बालगृहको आर्थिक, भौतिक, शैक्षिक तथा समग्र व्यवस्थापकीय क्रियाकलापको जानकारी गराईन् ।
उनले गत आर्थिक वर्षमा संस्थाले ७ लाख २२ हजार ४ सय २६ रुपैयाँ बचत गरेको उल्लेख गरिन् । बालगृहले आश्रित बालबालिकालाई शिक्षा, स्वास्थ्य, अतिरिक्त क्रियाकलाप साथै बालबालिकालाई व्यवहारिक ज्ञान दिएको उनको भनाई छ । सफा र शान्त वातावरणमा संस्थाको आफ्नै भौतिक संरचना रहेको, भान्साकोठामा खानाको दैनिक तालिका टाँसिएको,कर्मचारी, पदाधिकारी र बालबालिकाले पालना गर्नुपर्ने आचारसंहिता टाँसिएको, बालबालिकालाई नियमित तेक्वान्दो प्रशिक्षण, बालबालिकामा मेलमिलापको भावना रहेको तथा समूदायसँग सकरात्मक सम्वन्ध रहेको जस्ता सवल पक्षहरु अनुगमनका क्रममा भेटिएको उनको भनाई छ ।
यसका अतिरिक्त आश्रित बालबालिकाले बालगृहमा पारिवारिक वातावरणमा पोषणयुक्त खाना, सुरक्षित आवास, शिक्षा, स्वास्थ्य, अतिरिक्त क्रियाकलाप, भ्रमण लगायतका सम्पूर्ण पक्षहरुमा आफूहरु सन्तुष्ट रहेको बताउनुले पनि संस्थाका काम कारबाही र सम्पूर्ण गतिविधिहरू सवल र पारदर्शी रहेको सामाजिक लेखापरिक्षक निकिताले उल्लेख गरिन् ।
संस्थाका धेरै राम्रा पक्षहरु हुँदाहुँदै पनि समयमै नवीकरण गर्न नसक्नु कमजोरी रहेको उनको भनाई छ । उनले संस्थाको नवीकरण गरी संस्थाको दिगोपनाका लागि रणनीतिक योजना बनाई कार्ययोजना निर्माण तथा कार्यान्वयन गर्न सुझाव दिईन् । यसका साथै पुनस्थापना कार्ययोजनालाई व्यवस्थित तरिकाले निर्माण तथा कार्यान्वयन गर्ने, संस्थाका डकुमेण्टेशन थप चुस्त र दुरुस्त राख्ने, वैकल्पिक हेरचाहको आवश्यकता भएका बालबालिकालाई मात्र संस्थामा भर्ना गर्ने साथै सरोकारवाला निकायबाट आएका सुझावहरुलाई कार्यान्वयन गर्नुपर्ने उनको सुझाव छ । बालगृहमा हाल ४ जना कर्मचारीहरु पूर्णकालिन रुपमा कार्यरत छन् तर आश्रित बालबालिकाअनुसार कर्मचारी संख्या कम भएको उनको भनाई छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले असहाय बालबालिकाको अधिकारको संरक्षण र संवद्र्धन लागि संस्थाले अनवरत रुपमा गरेको अनुकरणीय कार्यको प्रशंसा गरे । उनले बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थासँग वडा सधैं सहकार्य गर्न तयार रहेको बताए । पोखरा २५ का वडाध्यक्ष समेत रहेका तिम्सिनाले बालगृहमा आश्रित बालबालिकालाई शैक्षिक गतिविधिको साथसाथै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रमका अन्य वक्ताहरुले असहाय बालबालिका छनौट गर्दा मापदण्डभित्र पर्ने बालबालिकालाई आश्रय दिनुपर्ने तर व्यस्त आमाबुवाका बच्चाहरुलाई आश्रय दिन नहुने, संस्थालाई लिगल पाटोबाट सञ्चालन गनुपर्ने, संस्थाको सुरक्षण कोषमा ५ प्रतिशत राख्नुपर्ने, बालगृह सञ्चालन मापदण्ड निर्देशिका अनुसार बालगृह सञ्चालन गर्नुपर्ने लगायतका सुझाव दिए ।
कार्यक्रममा कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक महाशाखाका निर्देशक निर्मला शर्मा, राष्ट्रिय बाल अधिकार परिषद्, गण्डकी प्रदेश समन्वय अधिकृत बद्री प्रसाद वाग्ले पोखरा महानगरका बालकल्याण अधिकारी बेलकुमारी गुरुङ्ग, नमो बुद्ध दुधेखर्क टोल विकास समितिका अध्यक्ष लक्ष्मण विक, ग्रीन डेभलपमेन्ट बैंक केन्द्रीय कार्यालय न्युरोडका रिकभरी तथा मार्केटिङ हेड संयुक्त धाख्वा लगायतले बोलेका थिए ।
कार्यक्रमका सभाध्यक्ष तथा असहाय बाल उपकार संघकी कार्यसमिति सचिव रेजिना श्रेष्ठ जोशी र असहाय बाल उपकार संघ, बालगृह शाखा कार्यालय पोखरा २५ हेमजाका प्रमुख कार्यकारी अधिकृत कृष्णमान श्रेष्ठले संस्थाको गतिविधिको पारदर्शीताका लागि सामाजिक परीक्षण गर्नु अपरिहार्य रहेको बताउँदै कार्यक्रमबाट प्राप्त सुझावहरुलाई आत्मसात गर्दै आगामी दिनहरुमा कमीकमजोरीहरु सुधार गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाए ।
बालगृहमा आश्रित १५ जना (बालक ७ जना र बालिका ८ जना) बालबालिकामध्ये कक्षा ११ मा अध्ययनरत प्रिया सुनारलाई संस्थाले शनिबार बिदाइ गरेको छ । अवदेखि गृहमा १४ जना बालबालिकाहरु आश्रित हुनेछन् । यस बालगृहबाट हालसम्म १२७ जनाले आश्रय लिएर पुनस्र्थापना भइसकेका छन्
तपाईको प्रतिक्रिया