प्रमुख जिल्ला अधिकारी भुसालको सक्रियतापछि पुनर्गठन भयो मुक्तिनाथ विकास समिति

जोमसोम ।
मुक्तिनाथ विकास समिति १७ वर्षपछि पुनर्गठन भएको छ । जिल्ला समन्वय समिति मुस्ताङको सभाहलमा आइतबार आयोजित साधारण सभाले सर्वसम्मत नयाँ कार्यसमिति पुनर्गठन गरेको हो ।
लामो समय मुक्तिनाथ विकास समितिको कार्यसम्पादन निस्क्रिय रहँदा त्यसले समग्र मुक्तिनाथ क्षेत्रको बृहत्तर विकासमा बाधा अवरोध पुगेको उल्लेख गर्दै समिति पुनर्गठनको पहल भएको थियो । मुक्तिनाथ विकास समितिलाई नयाँ सिराबाट अगाडि बढाएर मुक्तिनाथमा चढाइएको भेटी भक्तजनकै हितका लागि व्यवस्थापन गर्ने उद्देश्यले लामो समयदेखि निस्क्रिय समितिलाई जिवित तुल्याएको छ ।
मुक्तिनाथ विकास समितिको साधारण सभाले (पहिलो विधान सशोधन) २०८१ को दफा १३ बमोजिम समिति पुनर्गठन गरेको हो । पुनर्गठित समितिको कार्यसमिति ३१ सदस्ययीय हुने गरी निर्माण गरिएको छ ।
समितिको सशोधित विधान बमोजिम मुस्ताङका प्रमुख जिल्ला अधिकारीले साविककै अनुसार अध्यक्ष हुने व्यवस्था मिलाइएको छ । समितिको पदाधिकारी सदस्यहरुमा उपाध्यक्ष वा।रागुङ मुक्तिक्षेत्रका अध्यक्ष, मालपोत कार्यालयका प्रमुख सदस्य सचिव, सम्वन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव र सम्वन्धित वडाका वडाध्यक्ष कोषाध्यक्षमा रहने संशोधित विधानमा उल्लेख छ ।
यसैगरी समितिको सदस्यहरुमा सम्वन्धित पालिकाबाहेक मुस्ताङका अन्य ४ पालिकाका अध्यक्ष, जिल्ला सरकारी वकिलको कार्यालय, जिल्ला समन्वय समिति, नेपाली सेना, सशस्त्र प्रहरी,नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुख, कोष तथा लेखा नियन्त्रक प्रमुख, मुक्तिनाथका प्रमुख पुजारी, प्रमुख लामा, झुमा प्रमुख, कागबेनी, झोङ र सुर्खाङ गाउँ रहेका वडाध्यक्ष, मुक्तिनाथ क्षेत्रको विकासमा विशेष योगदान पु¥याउने जिल्लाका समाजसेवी मध्येबाट ५० प्रतिशत महिला सहभागिता रहने गरी मुक्तिनाथ क्षेत्रबाट ५ जना सहित ८ जना र प्रदेश सरकारका जिल्ला स्थित कार्यालयमध्येबाट अध्यक्षले तोकेको कार्यालयको प्रमुख सदस्य हुने प्रावधान सशोधित विधानमा समेटिएको छ ।
यसगरी मुक्तिनाथ विकास समितिको साधारण सभाले सल्लाहाकार समिति र विशेष समितिको पद समेत सृृजना गरेको छ । मुक्तिनाथ विकास समितिको बृहत्तर विकासमा उचित परामर्श दिने र समितिको कार्यसम्पादनलाई मार्गदर्शन दिशातर्फ अग्रसर गराउने उद्देश्यले सल्लाहाकार समिति र विशेष समितिको परिकल्पना गरिएको हो । समितिको सल्लाहाकारमा प्रतिनिधि सभा,राष्ट्रिय सभा र प्रदेश सभाका सदस्यहरु सल्लाहाकार समितिमा हुनेछन् । संविधान सभा सदस्यहरु, प्रतिनिधि, राष्ट्रिय र प्रदेश सभाका निवर्तमान सदस्यहरु र जिसस प्रमुख सल्लाहाकार समितिमा रहने छन् ।
मुस्ताङ जिल्लामा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रमुख, मुक्तिनाथ क्षेत्रको विकासमा विशिष्ट योगदान पु¥याउने संस्थापक सदस्यहरु, हिन्दु तथा बौद्ध धर्मका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त धार्मिक, आध्यात्मिक व्यक्तित्वहरु र नागरिक समाजका प्रतिनिधिलाई सल्लाहाकार समितिको बैठकमा आमन्त्रित गर्न सकिने छ ।
मुक्तिनाथको विशेष समितिमा कार्यसमितिका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष, ५ वटै पालिका प्रमुख, संघीय तथा प्रदेश सांसदहरु, संविधान सभा सदस्यहरु र जिसस प्रमुख रहने विधानमा समावेश छ ।
यसअघि मुक्तिनाथ विकास समितिका अध्यक्ष समेत रहेका प्रजिअ विष्णुप्रसाद भुसालले समितिको विधान सशोधनको प्रस्ताव तथा विधान बमोजिम पुर्नगठिन समितिको खाकासहितको प्रतिवेदन साधारण सभामा पेश गरेका थिए । यसैगरी समितिका सदस्य सचिव सूर्यप्रसाद अर्यालले समितिको आर्थिक प्रतिवेदन पेश गरेका थिए । समितिको साधारण सभाले मुक्तिनाथ विकास समितिको २०६४ सालको विधानलाई सशोधनसहित सर्वसम्वत पारित गरेको छ ।
समितिको विधान संशोधनपछि पुनः अध्यक्ष हुन पाउने प्रावधान अनुसार समितिका अध्यक्ष एवं प्रजिअ विष्णुप्रसाद भुसाललाई जिल्ला न्यायाधीश ओमबहादुर सोडारीले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । समितिका अध्यक्ष एवं प्रजिअ भुसालले मुक्तिनाथ विकास समितिमा रहेका सदस्यहरुलाई मुक्तिनाथ मन्दिरमा लगेर सपथ खुवाउने छन् ।
साधारण सभामा पूर्व वाणिज्य मन्त्री रोमी गौचन थकाली, सविधान सभा सदस्यहरु चन्द्रबहादुर गुरुङ, श्रीमाया थकाली, निवर्तमान प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचन, निवर्तमान प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकाली, जिल्ला समन्वय प्रमुख÷उपप्रमुख, ५ वटै स्थानीयतहका अध्यक्षहरु, मुक्तिनाथ विकास समितिका निवर्तमान सदस्यहरु, पत्रकार, कर्मचारी र मुक्तिनाथका पुजारी, आनीझुमा, स्थानीय नागरिकहरु लगायतको उपस्थिति थियो ।
समिति पुर्नगठनपछि समितिका अध्यक्ष विष्णुप्रसाद भुसालले मुक्तिनाथको समग्र विकासका लागि नया समितिले जोश जागर र उत्साहका साथ काम गर्ने प्रतिवद्धता जनाए । प्रजिअ भुसालले मुक्तिनाथ विकास समितिलाई चलाउँदा सरुवा होइन्छ भन्ने भाष्यलाई बेवास्ता गर्दै मुक्तिनाथलाई नया जीवन दिएर अगाडि बढाउन चाहेको बताए । मुक्तिनाथमा भक्तजनका लागि बग्रेल्ती समस्याहरु विद्यमान रहेकाले ती समस्याको निकास खोज्न समिति पूर्नगठन गर्नु परेको बताए ।
मुक्तिनाथ मन्दिर व्यवस्थापनको लागि तत्कालीन समय २०२८ सालमा प्रजिअको अध्यक्षतामा तदर्थ समिति गठन भएको थियो । तर, समिति संस्थागत रुपमा दर्ता भएको थिएन । समिति गठन भएको ३४ वर्षपछि मुक्तिनाथ विकास समिति २०६४ सालमा जिल्ला प्रशासन कार्यालय मुस्ताङमा संस्थागत रुपमा दर्ता भएको थियो । तर, संस्था दर्ता भएको १७ वर्ष पुग्दा समेत एउटा पनि साधारण सभा बस्न सकेको थिएन । समितिको साधारण सभा नहुँदा र समिति गतिशील हुन नसक्दा मुक्तिनाथको विकासमा बजेट भएर पनि काम गर्न सक्ने अवस्था रहेको थिएन । मुस्ताङका प्रजिअ भुसालले सबैको सामुहिक प्रयासले मुक्तिना विकास समितिलाई नया सिराबाट अगाडि बढाउने ढोका मार्गप्रसस्त भएको बताए ।
मुक्तिनाथ विकास समितिको ५ वटा बैंक खातामा ९ करोड ११ लाख मौज्दात छ । २०६४ सालमा दर्ता भएको संस्थाले हालसम्म कर्मचारीलाई तलब भत्ता खुवाउने र रसिद छपाइका काम बाहेक कुनै कार्य गर्न सकिरहेको थिएन ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया