गण्डकीमा ३६ सय एचआइभी संक्रमित

समाधान संवाददाता २०८१ मंसिर १७ गते १०:५१

पोखरा ।
गण्डकी प्रदेशमा एचआइभी संक्रमितको अनुमानित संख्या ३ हजार ६ सय ९५ रहेको छ । २०८१ सालको असारसम्मको तथ्यांक अनुसार गण्डकीमा २ हजार ९ सय ६८ संक्रमितले एन्टि रेट्रो भाइरल (एआरटी) उपचार लिइरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक खिमबहादुर खड्काले जानकारी दिए ।

Advertisement


३७ औं विश्व एड्स दिवसको सन्दर्भमा प्रदेशको आयोजना, स्वास्थ्य कार्यालय कास्की, पोखरा महानगरपालिका लगायत गण्डकी प्रदेशमा एचआइभी एड्स तथा यौन रोग नियन्त्रणका क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी संघसंस्थाको समन्यवमा आइतबार भएको कार्यक्रममा निर्देशक खड्काले आर्थिक वर्ष २०८०/०८१मा गण्डकी प्रदेशमा एचआइभीको सम्भावित जोखिममा रहेका ३७ हजार ६ सय ८को परीक्षण गर्दा २ सय १० संक्रमित पुष्टि भएको सबै उपचारमा रहेको बताए ।


उनका अनुसार गण्डकीमा ५२ हजार ४ सय ३३ जना गर्भवती महिलाको परीक्षण गर्दा ५ जनामा एचआइभी पुष्टि भएको छ । क्षयरोगी मध्ये २ हजार ७ सय ६५को एचआइभी जाँच गर्दा ३५जना संक्रमित पुष्टि भएको उनले उल्लेख गरे । क्षयरोगी संक्रमित मध्ये ३३ जनाको एआरटी उपचार लिइरहेका छन् । ‘गण्डकीमा एचआइभी संक्रमितलाई लक्षित गरी ९ जिल्लामा घर तथा समुदाय आधारित हेरचाह तथा सहयोग कार्यक्रम सञ्चालित छ ।

Advertisement

समुदायमा आधारित हेरचाह केन्द्र चलाइएका छन्,’उनले भने, ‘गैर सरकारी संस्था, नागरिक समाजले एचआइभीको जोखिममा रहेका समुदायमा प्रभावकारी काम गरेकोले संक्रमण दर घटेको छ ।’ निर्देशक खड्काले संक्रमितको राम्रो हेरचाह तथा स्याहारको कारण भाइरल लोड नगन्य हुनेको संख्या बढेको र मृत्यु हुनेको संख्या पनि कम भएको दाबी गरे ।


उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको एआरटी सेन्टर मार्फत २०८१को असार मसान्तसम्म १ हजार ५ सय १७ जनाले सेवा लिएका छन् । ती मध्ये ८ सय ९८ जना कास्कीका छन् । निर्देशक खड्काले प्रदेशका सबै जिल्लामा १८ वर्ष मुनीका एचआइभी संक्रमति बाल बालिकालाई लक्षित गरी सामाजिक संरक्षण अनुदान कार्यक्रम सञ्चालन गरेको बताए ।

Advertisement

सो कार्यक्रम अन्तर्गत सेभ द चिल्ड्रेन, ग्लोबल फण्डको श्रोत र साझेदार संस्थामार्फत २०८१ असार मसान्तसम्ममा १ सय २७ बाल बालिकालाई १ हजारको दरले मासिक भत्ता प्रदान गरेको उनले उल्लेख गरे ।


एचआइभी÷एड्स रोकथाम तथा नियन्त्रणमा ठूलो फड्को मारेको दाबी गर्दै उनले विद्यालय स्तरमा सचेतनामुलक कार्यक्रम गरे समुदाय स्तरमा सकारात्मक प्रभाव पर्ने बताए । उनले साझेदार सहयोगी संस्था मार्फत एचआइभी संक्रमित जोखिममा रहेको समुदाय, लैंगिक तथा यौनिक अल्पसंख्यक, सुईबाट लागु औषधका प्रयोगकर्ता, आप्रवासी, कैदी बन्दीलाई लक्षित गरी जाँच तथा रोकथाम सेवा सञ्चालन गरेको जानकारी दिए ।


एचआइभीको अन्त्य र निर्मूलीकरण गर्न सम्भव हुन सक्छ भन्ने आशाका साथ एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ विश्व एड्स दिवस मनाइएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी लगायतका सरोकारवाला निकायको समन्वमा औपचारिक समारोह गरिएको छ ।

एड्स हेल्थ्य केयर फाउण्डेसन (एएचएफ) नेपालले शारीरिक तन्दुरुस्ताको लागि जुम्बा नाँच कार्यक्रम गरेको छ । अर्गानिक जुम्बा नाँचका प्रशिक्षक मञ्जु भट्टराईको नेतृत्वमा कार्यक्रम भएको एएचएफ नेपालको प्रतिनिधि विद्या कोइरालाले जानकारी दिइन् ।


विश्व एड्स दिवसको सन्दर्भमा नौलो घुम्ती नेपालले पोखरा महानगरपालिकाका जनप्रतिनिधिसँग एचआइभी लाञ्छाना र भेदभावबारे अभिमुखीकरण गरेको छ । नौलो बिहानी पोखराले पोखराको हल्लनचोकदेखि बाराहीघाटसम्म सचेतनामुलक ¥याली र मैनबैत्ती प्रज्ज्वलन कार्यक्रम राखेको छ ।

एचआइभी संक्रमित महिलाहरुको महासंघ र महिला मञ्च कास्कीले संक्रमित २० बाल बालिकालाई स्टेसनरी र पौष्टिक आहार प्रदान गरेको छ । सेभ द चिल्ड्रेनले ७ जना बाल बालिकालाई न्यानो कपडा वितरण गरेको कम्युनिटी सपोर्ट ग्रुपका कार्यकारी निर्देशक दिलीप गुरुङले जानकारी दिए ।


औपचारिक कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका वरिष्ठ प्रशासक रामबहादुर नेपाली, नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देल, राष्ट्रिय एचआइभी एड्स महासंघ नेपालका सचिव मनोज गुरुङ लगायतले एचआइभी रोकथाम तथा नियन्त्रणका बारेका बोलेका थिए ।

तपाईको प्रतिक्रिया