असहाय बाल उपकार संघको सामाजिक परीक्षण

समाधान संवाददाता २०८१ मंसिर १७ गते ११:२७

पोखरा ।
असहाय बाल उपकार संघले सामाजिक परीक्षण कार्यक्रम गरेको छ । २०५८ सालमा काठमाण्डौंमा स्थापना भएको यस संस्थाले पोखरा २५ हेमजा, खोरियातरामा बालगृह सञ्चालन गरेको छ ।

Advertisement


शनिवार भएको कार्यक्रममा सामाजिक लेखापरीक्षक तथा कार्यक्रमका सहजकर्ता निकिता कोइरालाले बालगृहको आर्थिक, भौतिक, शैक्षिक तथा समग्र व्यवस्थापकीय क्रियाकलापको जानकारी गराइन् । उनले गत आर्थिक वर्षमा संस्थाले ७ लाख २२ हजार ४ सय २६ रुपैयाँ बचत गरेको उल्लेख गरिन् ।


बालगृहले आश्रित बालबालिकालाई शिक्षा, स्वास्थ्य, अतिरिक्त क्रियाकलाप साथै बालबालिकालाई व्यवहारिक ज्ञान दिएको उनको भनाइ छ । सफा र शान्त वातावरणमा संस्थाको आफ्नै भौतिक संरचना रहेको, भान्साकोठामा खानाको दैनिक तालिका टाँसिएको, कर्मचारी, पदाधिकारी र बालबालिकाले पालना गर्नुपर्ने आचारसंहिता टाँसिएको, बालबालिकालाई नियमित तेक्वान्दो प्रशिक्षण, बालबालिकामा मेलमिलापको भावना रहेको तथा समुदायसँग सकरात्मक सम्वन्ध रहेको जस्ता सवल पक्ष अनुगमनका क्रममा भेटिएको उनको भनाइ छ ।

Advertisement


यसका अतिरिक्त आश्रित बालबालिकाले बालगृहमा पारिवारिक वातावरणमा पोषणयुक्त खाना, सुरक्षित आवास, शिक्षा, स्वास्थ्य, अतिरिक्त क्रियाकलाप, भ्रमण लगायतका सम्पूर्ण पक्षहरुमा आफूहरु सन्तुष्ट रहेको उनको भनाइ छ ।संस्थाका काम कारबाही र सम्पूर्ण गतिविधि सबल र पारदर्शी रहेको उनले जनाइन् ।


संस्थाका धेरै राम्रा पक्ष हुँदाहँुदै पनि समयमै नवीकरण गर्न नसक्नु कमजोरी रहेको उनको भनाइ छ । निकिताले संस्थाको नवीकरण गरी संस्थाको दिगोपनाका लागि रणनीतिक योजना बनाई कार्ययोजना निर्माण तथा कार्यान्वयन गर्न सुझाव दिईन् ।

Advertisement

यसका साथै पुनस्र्थापना कार्ययोजनालाई व्यवस्थित तरिकाले निर्माण तथा कार्यान्वयन गर्ने, संस्थाका डकुमेन्टेसन थप चुस्त र दुरुस्त राख्ने, वैकल्पिक हेरचाहको आवश्यकता भएका बालबालिकालाई मात्र संस्थामा भर्ना गर्ने साथै सरोकारवाला निकायबाट आएका सुझावलाई कार्यान्वयन गर्नुपर्ने उनको सुझाव छ ।


बालगृहमा हाल ४ कर्मचारी पूर्णकालीन रुपमा कार्यरत छन् तर आश्रित बालबालिका अनुसार कर्मचारी संख्या कम भएको उनको भनाइ छ । पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले असहाय बालबालिकाको अधिकारको संरक्षण र संवद्र्धन लागि संस्थाले अनवरत रुपमा गरेको काम उल्लेखनीय भएको बताए ।


उनले बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थासँग वडा सधैं सहकार्य गर्न तयार रहेको उल्लेख गरे । पोखरा २५ का वडाध्यक्षसमेत रहेका तिम्सिनाले बालगृहमा आश्रित बालबालिकालाई शैक्षिक गतिविधिको साथसाथै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।


कार्यक्रममा कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक महाशाखाका निर्देशक निर्मला शर्मा, राष्ट्रिय बाल अधिकार परिषद्, गण्डकी प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद वाग्ले पोखरा महानगरका बालकल्याण अधिकारी बेलकुमारी गुरुङ नमो बुद्ध दुधेखर्क टोल विकास समितिका अध्यक्ष लक्ष्मण विक, ग्रीन डेभलपमेन्ट बैंक केन्द्रीय कार्यालय न्युरोडका रिकभरी तथा मार्केटिङ हेड सन्युत्ता धाख्वा लगायतले बोलेका थिए ।


कार्यक्रमका सभाध्यक्ष तथा असहाय बाल उपकार संघकी कार्यसमिति सचिव रेजिना श्रेष्ठ जोशी र असहाय बाल उपकार संघ, बालगृह शाखा कार्यालय पोखरा २५ हेमजाका प्रमुख कार्यकारी अधिकृत कृष्णमान श्रेष्ठले संस्थाको गतिविधिको पारदर्शीताका लागि सामाजिक परीक्षण गर्नु अपरिहार्य रहेको बताउँदै कार्यक्रमबाट प्राप्त सुझावलाई आत्मसात गर्दै आगामी दिनमा कमी, कमजोरी सुधार गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाए ।


बालगृहमा आश्रित १५ जना (बालक ७ जना र बालिका ८ जना) बालबालिकामध्ये कक्षा ११ मा अध्ययनरत प्रिया सुनारलाई संस्थाले शनिबार बिदाइ गरेको छ । बालगृहमा अब १४ बालबालिकाहरु आश्रित छन् । यस बालगृहबाट हालसम्म १ सय २७ जनाले आश्रय लिएर पुर्नस्थापित भइसकेका छन् ।

तपाईको प्रतिक्रिया