स्वास्थ्य सचिव—पूर्वमुख्यमन्त्री नोकझोक

स्वास्थ्य मन्त्रालयको खरिद प्रक्रियामा अनियमितता भएको र बेरुजु बढेको भन्दै अनुसन्धान गर्न माग

सञ्जय रानाभाट २०८१ मंसिर १८ गते ११:०३

सञ्जय रानाभाट, पोखरा ।
गण्डकी सरकारको स्वास्थ्य मन्त्रालयले अस्पतालका सामान किन्दा अनियमितता भएको महालेखाको प्रतिवेदनले औंल्याएको छ । सामान खरिद गर्दा सार्वजनिक खरिद ऐन कुल्चिएर पहुँचका आधारमा किनेकाे प्रतिवेदनले देखाएकाे छ ।

Advertisement


‘लमजुङ जिल्ला अस्पतालले ३८ लाख १६ हजारका मेडिकल उपकरण, २६ लाख २२ हजारका फर्निचर, ३४ लाख ४० हजारको औषधी तथा सर्जिकल सामानहरु,’ प्रतिवेदनमा लेखिएको छ, ‘पर्वत अस्पतालले ३४ लाख ४७ हजारको औषधी तथा सर्जिकल सामानहरु सोझै खरिद गरेको छ ।’ प्रतिवेदनले औषधीको माग पहिचान नगरी खरिद तथा आपूर्ति भएको र म्याद समाप्त भएका औषधी खरिद गरी अनियमितता भएको औंल्याउँदै प्रतिवेदनले अशुलउपर गर्न भनेको छ ।


यसरी नियम विपरीत काम भएपछि सोमबार सार्वजनिक लेखा समितिले मन्त्रालयका सचिव विनोद विन्दुशर्मा र मन्त्री कृष्ण पाठकलाई छलफलमा बोलायो । बेरुजु फस्र्यौैंटको अवस्था र मन्त्रालयको प्रगतिबारे समितिका सदस्यहरुले उनीहरुलाई प्रश्न गरे ।

Advertisement


सदस्य जितबहादुर शेरचनले स्वास्थ्यको बेरुजु चुलिँदै गएकाले यसको फाइल मगाएर अनुसन्धान गर्नुपर्ने विचार राखे । प्रदेशका अस्पतालहरुमा ३ प्रतिशतभन्दा बढी बेरुजु देखिएकाले अनुसन्धान गर्न उनले माग राखे ।


‘मेसिन खरिदमा गडबड भएको छ । त्यसले के अथ्याउँछ भने सबै मातहतका कार्यालयहरुको गहिराइमै जानुपर्छ,’ शेरचनले भने । धौलागिरी अस्पतालमा आज लिएको ओपिडीको टिकटमा भोलिमात्र पालो आउने उनले सुनाए । ‘सरकारले बनाएको पोलिसी केही पनि लागू भएको छैन । उदाहरण धौलागिरी अस्पतालको अवस्था हेरे भयो,’ उनले भने ।

Advertisement


अर्का सदस्य कल्पना तिवारीले कर्मचारीकै गल्तीले बेरुजु बढेको आरोप लगाइन् । ‘मन्त्री त आउने जाने भइहाल्छ । सचिवज्यू तपाईं त १० वर्ष भयो । हजुरले पटक पटक ढाट्नुभएको छ, सामग्री कसरी खरिद गरिन्छ थाहा छैन भन्न मिल्छ ? तपाईंको मन्त्रालयमा सार्वजनिक ऐनभन्दा विपरीत सामान गरिद भएको छ,’ सांसद तिवारीले थपिन्, ‘सर्जिकल समान त्यस्तै छ । कर्मचारीले बारम्बार गलत गर्ने, त्यसको गाली हामीले खानुपर्ने ?’


जवाफमा सचिव शर्माले कतिपय काम दबाबमा परेर गर्ने गरेको सुनाए । सांसद कल्पनाले प्रतिप्रश्न गरिन्, ‘त्यसो भए भन्नुपर्‍यो कस्को निर्देशनमा यस्तो हुन्छ ।’ लेखा समिति सभापति सुधीरकुमार पौडेलले अस्पतालमा लेखा अधिकृत नराखेको भनी प्रश्न गरे । तिवारीले थपिन्, ‘६ वटा अस्पतालमा लेखा अधिकृत छैनन्, नियम के हो ?’ सचिव शर्माले कर्मचारी व्यवस्थापनको कुरा सरकारको भएको र भर्खरमात्र अर्थ मन्त्रालयले पास गरी मुख्यमन्त्री कार्यालयमा फाइल पुगेको सुनाए ।


सचिव शर्माले लेखा अधिकृत नभएकाले बेरुजु देखियो भन्नु न्यायोचित नभएको जवाफ दिए । उनले बेरुजुको ग्राफ बढेको भने स्वीकारे । सांसद टीकाकुमारी बस्यालले स्वास्थ्यकर्मीलाई एकीकृत कार्यविधिबिना प्रोत्साहन भत्ताका वितरण भएको बताएकी थिइन् । उनले भनिन्, ‘एकीकृत कार्यविधि नभई कसरी भत्ता खुवाउनुभयो ? अनि, अस्पताल भवन निर्माण सम्पन्न नहुनुमा अनुगमन गर्ने निकाय हुन्छ कि हुँदैन ?’


सांसद पञ्चराम गुरुङले सचिव शर्मालाई कुनै नेताको दबाब छ कि भनेर सोधे । भने, ‘तपाईं कुनै धम्की, लोभमा पर्नुभएको छ ? के हो, स्पष्ट पर्नु पर्‍यो ।’ सांसद सरस्वती गुरुङले गण्डकीमा मातृशिशु मृत्युदर घटाउन बजेट विनियोजन भएको जनाउँदै कार्यान्वयनबारे जिज्ञाशा राखिन् ।


समिति सभापति पौडेलले सचिव शर्मालाई प्रश्नको उत्तर चित्त नबुझेकाले लिखित बुझाउन निर्देशन दिएका छन् । समितिका अन्य सदस्यले पनि संघीयतापछि मन्त्रालयमा १० करोड बेरुजु थपिएको सुनाए । सचिव शर्माले कतिपय मान्छे मरिसकेको र कतिपय सरुवा भएर गइसकेकाले असुलउपर गर्न कठिन भएको प्रष्टिकरण दिए । समितिका सभापति शर्माले मृत्यु भएपनि बेरुजु फस्र्याैंट गर्नुपर्ने सुनाए । शर्माले आफूहरुले काम गरिरहेको जिकिर गरे । मन्त्री पाठकले बैठकमा जायज प्रश्न उठेको जनाए । ‘कसैको नियतबस प्रश्न होइन, सबै जायज छन् । अब हामी फोकस गरेर काम गर्छौं ।’

पूर्वमुख्यमन्त्री–सचिव शर्मा सवालजवाफ
महालेखा प्रतिवेदनले मनाङमा कोभिडका बेला १ करोड ६४ लाखको सामान खरिदमा अनियमितता भएको औंल्याएको छ । यसबारे पूर्वमुख्यमन्त्री खगराज अधिकारी र सचिव शर्मा विनोदविन्दु शर्माबिच नोकझोक भएको छ ।
शर्माः जुन मनाङको बेरुजु भन्ने छ, कोभिडको १ करोड ६४ लाखको बेरुजु छ । उच्चस्तरीय व्यवस्थापन गर्ने जुन समितिले पठाउने भन्यो । मुख्यमन्त्रीज्यूको अध्यक्षतामा भएको हो । (तत्कालीन समयमा मुख्यमन्त्री अधिकारी थिए )
अधिकारीः एक छिन। एक छिन, मनाङमा त्यो सामान लैजानु हुँदैन भन्ने मान्छे मै हो । तपाईंले पठाउनुभयो । सचेत गराएको हो । मनाङमा भेन्टिलेटर चलाउने जनशक्ति नै छैन, पठाउनु हुँदैन भन्ने मान्छे नै म जिउँदै छु ।
शर्माः मनाङ हाम्रो पनि जिल्ला हो भनेर पठाएको ।
अधिकारीः प्राविधिकले सल्लाह दिनुपर्‍यो नि तपाईंले कहाँ के गर्ने भनेर ?

शर्माः त्यो त प्रर्याप्त भएको छ हजुर ।
अधिकारीः कहाँ भएको छ । म यहाँ नै छु….कुरा मिठो गरेरमात्र हुँदैन । काम पनि गर्नुभएको होला । ठीक गर्नुपर्‍यो । जति काम गर्नुभएको छ, त्यो भन्दा बढी व्याख्या गर्नुभयो तपाईंले ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया