पौवा, फिस्टेल र सराङकोट खाद्य स्वच्छता मूल्यांकनमा उत्कृष्ट

पोखरा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पोखराको होटल तथा रेस्टुरेन्टको स्वच्छता मूल्यांकन गरी स्तरीकरण गरेको छ । जसमा ५ होटल संलग्न छन् । तीमध्ये ३ होटल तथा रेस्टुरेन्ट अति उत्तमको हरियो स्टिकर पाए भने २ होटल तथा रेस्टुरेन्टले उत्तम स्टिकर हात पारे ।
होटल पौवा प्रालि, फिस्टेल लज र सराङकोट माउन्टेन एन्ड स्पाले ‘थ्री स्टार’ को लागो प्राप्त गरेका हुन् भने, होटल बाराही र होटल आवास प्रालिले ‘टु स्टार’ को लोगो पाए । मंगलबार एक समारोहका बिच होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख नवराज दाहाल लगायतले लोगो, प्रमाण पत्रसँगै प्रतिवद्धता पत्र वितरण गरे ।
कार्यक्रममा होटल संघ पोखराका अध्यक्ष सुवेदीले पर्यटनको राजधानीमा होटल तथा रेष्टुरेन्ट वर्गीकरण अत्वश्यक रहेको बताए । ‘पर्यटनको राजधानीमा खाद्य शुद्धता राम्रो छ भन्ने देखाउनका लागि पनि यो निकै आवश्यक छ,’ उनले भने, ‘यो कार्यक्रमले पर्यटक विश्वस्त हुन्छ भन्ने मैले विश्वास लिएको छु ।’ पोखरामा रहेका होटल तथा रेस्टुरेन्टहरुले खाद्य शुद्धतामा ध्यान दिनुपर्ने भएकाले आगामी वर्ष अरु होटललाई पनि मूल्यांकनमा सहभागी बनाउन सहजीकरण गर्ने उनले सुनाए ।
कार्यक्रममा पोखरा ६ का वडा सदस्य वासुदेव बराल, होटल संघ पोखराका उपाध्यक्ष गणेशराज पहारी, राष्ट्रिय उपभोक्ता मञ्च कास्की सचिव कमल पौडेल लगायतले अहिले पाएको खाद्य सुरक्षाको मापनलाई पछिसम्म पनि निरन्तरता दिनुपर्नेमा जोड दिए । होटल पौवा प्रालिका प्रतिनिधि केशव भण्डारीले होटलमा अति उत्तममा वर्गीकरण भएकाले यसलाई पछिसम्म पनि कायम राख्ने प्रतिवद्धता जनाए । पाहुनाको रोजाईसँगै सरसफाइमा सधैं प्रतिवद्ध रहने उनको भनाइ छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले खाद्य शुद्धता मापनका लागि कम मात्रामा निवेदन परेको सुनाए । मापनका लागि बाध्यकारी नियम नभएकाले खाद्य शुद्धता मापन गर्नका लागि निवेदन परेपछि प्रक्रियाअघि बढाइने उनले बताए । गत असोजमा पोखराका ६५ हाराहारीमा होटल तथा रेष्टुरेन्टलाई यसबारे अभिमुखीकरण तालिम दिए पनि ५ वटाले मात्र निवेदन दिएपछि मंगलबार लोगो वितरण गरिएको उनले जानकारी दिए ।
वर्गीकरणका लागि ५० प्रश्न सोधिन्छ । प्रश्नोत्तर आधारमा अति उत्तम, उत्तम, सन्तोषजनक र सामान्य वर्गीकरण गरिने कार्यालयका खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरले जानकारी दिए । अति उत्तमको वर्गीकरणमा पर्न तोकिएको मापदण्ड बमोजिम ९० भन्दा बढी अंक प्राप्त गर्नुपर्छ । प्रश्नका साथमा खानाको गुणस्तर, खाना बनाउन प्रयोग गरिने तेल लगायत सामग्री के कस्तो प्रयोग छ भन्ने जाँच गरेर मूल्यांकन गरिएको कुँवरले बताए । कामदारको व्यक्तिगत सरसफाइ, भान्छा, रेस्टुरेन्टमा बसेर खाने ठाउँ, भण्डारणसम्मको सरसफाइ हेरेर मूल्यांकन गरिने उनले जानकारी दिए ।
तपाईको प्रतिक्रिया