औद्योगिक क्षेत्र स्थापनामा अलमल

धनबहादुर गुरुङ २०८१ मंसिर १९ गते ९:३५

पोखरा ।
आयात प्रतिस्थापन गर्न मझौला तथा ठूला उद्योग स्थापनाका लागि निजी क्षेत्रलाई आह्वान गर्ने गरी गण्डकी प्रदेश सरकारले औद्योगिक क्षेत्र बनाउने घोषणा गरेको ६ वर्ष भयो । स्थापनादेखि नै प्रदेश गौरवको आयोजनाका रुपमा कास्कीको पुँडीटार र नवलपुरको लौकाहा खोलामा औद्योगिक क्षेत्र स्थापना गर्ने चर्चा चल्यो । तर, औद्योगिक क्षेत्र अहिलेसम्म बन्न सकेको छैन ।
प्रदेश सरकारको पञ्च वर्षीय योजनामा समेटिएका २ औद्योगिक क्षेत्रको कामले पछिल्लो समय गति लिएको बताइए पनि कहिले स्थापना हुने अझै टुंगो छैन । सरकारी पक्षबाट प्रक्रिया जारी रहेको जानकारी पाए पनि स्थानीय र ती ठाउँका जनप्रतिनिधि सन्तुष्ट छैनन् ।

Advertisement


कास्की र तनहुँको साँध पुँडीटारमा १ सय ४ दशमलव १८ हेक्टर र नवरपुरको लोकाहा खोलामा ९५ दशमलव ७४ हेक्टरमा औद्योगिक क्षेत्र बन्दै छ । त्यसका लागि सरकारले २०७६/०७७ देखि २०८०/०८१ सम्मको पञ्च वर्षीय योजनामा यसलाई राखेको थियो । सरकारले काम प्रक्रिया चालु रहेको दाबी गरे पनि फिल्डमा देखिने गरी काम नहुँदा सरोकारवाला असन्तुष्ट छन् ।


पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष रुद्रलाल श्रेष्ठले प्रदेशले बनाउने भनेको औद्योगिक क्षेत्र छिटो बने पोखरा सहज महसुस गर्ने बताउँछन् । ‘पोखरा औद्योगिक क्षेत्र त पूरै प्याक छ । कुनै ठूलो उद्योग खोल्छु भनेर कोही आयो भने यहाँ ठाउँ छैन्,’ उनी भन्छन्, ‘पुँडीटारमा प्रदेशले बनाउने भनेको औद्योगिक क्षेत्र बन्यो भने सजिलो हुन्छ ।’

Advertisement


पुँडीटारमा बन्ने औद्यागिक क्षेत्र पोखरा ३३ र तनहुँको शुक्लागण्डकी नगरपालिका ९ मा पर्छ । यी दुवै वडाका नागरिक औद्योगिक क्षेत्र बन्ने खबरले खुसी थिए । तर, लामो समयसम्म पनि प्रगति नदेख्दा निरासा छाएको पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले टिप्पणी गरे । ‘हामीले गत साल नै शुक्लागण्डकीको घारीमा प्रदेशका प्रतिनिधि, वडाका प्रतिनिधि र स्थानीय बसेर सार्वजनिक सुनुवाई गरेका थियौं,’ उनले भने, ‘सार्वजनिक सुनुवाई भएपछि त एक चरणको काम अघि बढ्छ भन्न लागेको थियो तर, अहिलेसम्म प्रदेश सरकार कता सुतेको छ भन्ने मैलाई अनुभूति भइरहेको छ ।’


सार्वजनिक सुनुवाईमा सुकुम्बासी समस्या, फोहोरमैला व्यवस्थापन, औद्योगिक क्षेत्रको नाम, प्रभावित क्षेत्रका स्थानीयलाई रोजगारी लगायतका विषय उठान भएका थिए । ती सरोकार सम्बोधनसहित कामअघि बढाउने सहमति भएको वडाध्यक्ष अधिकारी सम्झिन्छन् । रोजगारीका अवसर सिर्जना गर्न, स्थानीय उत्पादनको वृद्धि गर्न, उपभोक्ता र उत्पादकलाई जोड्न औद्योगिक क्षेत्रले योगदान पुग्ने उनको विश्वास छ । पोखरा र शुक्लागण्डकी दुवैको विकासमा यो औद्योगिक क्षेत्रले योगदान पुग्ने उनी बताउँछन् ।

Advertisement

गण्डकी सरकारले ६ वर्षअघि बनाउने घोषणा गरेका २ औद्योगिक क्षेत्रको कामै अझै ‘प्रक्रिया’मै अड्किएको छ


नवलपुरको कावासोती नगरपालिका १ र देवचुली नगरपालिका १० लोकाहा खोलामा औद्योगिक क्षेत्र बन्दै छ । त्यस क्षेत्रका जनप्रतिनिधि पनि प्रदेशको ढिलासुस्तीले हैरान छन् । सरकारले प्रत्येक वर्ष आश दिलाएको तर काम नगरेको कावासोती १ का वडाध्यक्ष तापारक अहमद मियाँले टिप्पणी गरे । ‘अहिलेसम्म काम सुरु जनता निरास नै छन्,’ वडाध्यक्ष मियाँले भने, ‘औद्योगिक क्षेत्रका लागि नेपाल सरकारको नाममा पुर्जा आइसकेको छ । विवाद भन्ने छैन ।’


देवचुली १० का वडाध्यक्ष रेप्तीकुमार घर्ती पनि वन, जग्गा लगायतका विषय छिटो टुंगो लगाएर औद्योगिक क्षेत्रको काम अघि बढाउनुपर्ने बताउँछन् । ‘छिटो भयो भने स्थानीयमा रोजगारी सिर्जना होला अनि हाम्रोमा वन्यजन्तुको समस्या छ,’ उनले भने, ‘औद्योगिक क्षेत्रले वाल लगाइदिए त्यो समस्या पनि हल होला भन्ने छ ।’ औधोगिक क्षेत्र खुले स्थानीयले पनि त्यही उद्योग खोल्ने उल्लेख गरेको उनी सुनाउँछन् ।


‘२÷४ जना उद्योगीहरुले कुरा पनि गरिरहनु भएको छ,’ उनी भन्छन् । आफ्नो वडामा पर्ने महाराजा सामुदायिक वनले गत वर्ष नै साधारण सभा गरी वन हस्तान्तरण गरेकाले कुनै विवाद नरहेको उनले बताए ।


यता, मन्त्रालय भने अझै पनि प्रक्रियामै रहेको बताउँछ । यो योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार तयार भइसकेको उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले जानकारी दिए । मन्त्रालयले जेठ २९ गते आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन तयारीसम्बन्धी सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।


सो सूचना अनुसार पुँडीटारमा फरक फरक क्षेत्रफलका १ सय ४७ औद्योगिक प्लट रहनेछन् । लोकाहा खोलामा फरक फरक क्षेत्रफलका ४९ वटा औद्योगिक प्लट हुने अनुमान छ । यसका साथै दुवै औद्योगिक क्षेत्रमा प्रशासनिक भवन, सामुदायिक हल, क्यान्टिन, शिशु स्याहार केन्द्र र प्रिस्कुल, स्वास्थ्य केन्द्र, शौचालय, स्टाफ क्वार्टर, पार्किङ क्षेत्र, गार्ड हाउस, पानी ट्यांकी, आदि पनि निर्माण गरिनेछ ।


प्रत्येक प्लटमा पुग्न पेटीसहितको पक्की सडक, पानी आपूर्ति, प्रशोधनसहितको ढल निस्कासन, बिजुली आपूर्ति र लोकाहा खोलामा एउटा पक्की पुल बन्नेछ । प्रदेश सरकारले लामो समयदेखि सेतो पुर्जा लिएर बस्दै आएका केही घरपरिवारलाई अन्यत्र बसोबासको व्यवस्था मिलाउने गरी जग्गा नेपाल सरकारको नाममा ल्याइसकिएको छ ।


यी औद्योगिक क्षेत्रका लागि जग्गा व्यवस्थापनमा कास्कीको पोखरा महानगरपालिका, तनहुँको शुक्लागण्डकी नगरपालिका, नवलपुरको कावासोती नगरपालिका र देवचुली नगरपालिकाले सहजीकरण र सहयोग गरेका छन् । गण्डकी प्रदेश सरकारले बनाउन लागेको औद्योगिक क्षेत्रको कामले छिट्टै गति लिने उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल दाबी गर्छन् ।


गण्डकी प्रदेशमा निजी क्षेत्रलाई आकर्षण गर्न, लगानी बढाउन र साना तथा मझौला उद्योग स्थापना गर्न नयाँ बन्ने औद्योगिक क्षेत्रले योगदान पु¥याउने उनको भनाइ छ । पोखराको औद्योगिक क्षेत्र बजारको बीचमा भएको र साँघुरोसमेत भइसकेकाले निजी स्तरबाट पनि नयाँ औद्योगिक क्षेत्रको माग आएको उनले उल्लेख गरे ।


इआइए प्रतिवेदनपछि औद्योगिक क्षेत्र निर्माणको कामले गति लिने मन्त्रालयले जनाएको छ । नेपाल सरकारको नाममा आएको जग्गालाई प्रदेश सरकारले प्राप्तिका लागि संघीय सरकारलाई अनुरोध गरिसकेको छ । संघीय सरकारले पनि उक्त औद्योगिक क्षेत्र निर्माणका लागि प्रदेश सरकारलाई जग्गा प्रदान गर्ने निर्णय गरी वन मन्त्रालयमा फाइल पठाइसकेको छ ।


औद्योगिक क्षेत्र सञ्चालनका लागि आवश्यक नियमावली ड्राफ्ट तयार भइसकेको सचिव गुरुङले जानकारी दिए । पछिल्लो समय जग्गा प्राप्ति, पूर्वाधारको काम, नियमावली, उद्योग बनाउने काम एकसाथ भइरहेको उनले सुनाए ।

तपाईको प्रतिक्रिया