
जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिकाका ५ वटै वडा जोड्ने घरपझोङ रिङरोड सडकको कालोपत्र एक महिना नपुग्दै उप्किएको छ । रिङरोड सडक अन्तर्गत जोमसोम ठिनी ३ किमीमा कात्तिकमा कालोपत्र भएको थियो ।
गण्डकी प्रदेश सरकार अन्तर्गत मुस्ताङको जोमसोम, ठिनी, ढुम्बाताल, सम्ले छैरो, चिमाङ लगायतका गाउँहरु जोड्ने ‘एक निर्वाचन क्षेत्र, एक सडक’ मा यो योजना बेको हो । २०७६ कात्तिक २१ गते वन्दना भगवती जेभी कन्ट्रक्सनले २१ करोड ४३ लाख १३ हजारमा यसको ठेक्का पाएको थियो । सम्झौता अनुसार सडक २०७७ माघ महिनामा सकिनुपर्ने थियो । तर, निर्माण कम्पनीको चरम बेवास्ताले ५ पटकसम्म म्याद थप हुँदा पनि काम सकिएको छैन ।
गण्डकी सरकारले घरपझोङ गाउँपालिकाका पर्यटकीय गाउँ ठिनी हुँदै ढुम्बाताल, ढुम्बा गाउँ, छैरो र चिमाङ जोड्ने साढे १० किमी सडक बनाउन लागेको हो । वन्दना भगवतीले सडकको जोमसोमदेखि ढुम्बातालसम्म ड्रेनसहित ८ मिटर चौडा सडकमा ५ किमी प्रिमिक्स कालोपत्र र बाँकी ५ दशमलव ५ किमी ग्राभेल गर्ने सम्झौतामा उल्लेख छ ।
जीर्ण आयोजना अन्तर्गत एक वर्ष म्याद थप पाएको रिङरोड सडक अन्तर्गत जोमसोम ठिनी ३ किमी कम्पनीले जसोतसो कालोपत्र गरेको छ । तर, कालोपत्र कमसल खालको हुँदा ठाउँ ठाउँमा उप्किएको छ । स्थानीयले ठेकेदारले कमसल काम गरेको र अनुगमन गर्ने कार्यालयले उपयुक्त ढंगले निगरानी नगरेको गुनासो गरेका छन् ।
पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इन्जिनीयर घनश्याम रोक्कामगरले कालोपत्र सडकमा केही समस्या आएको देखिएमा निर्माण कम्पनीले पुन कालापत्र गर्ने शर्त रहेको जानकारी दिए । ‘ठेकेदारले अनुकूल समयमा काम गरेन, ढिलो काम थाल्यो,’ रोक्कामगरले भने, ‘काम गर्छु भनेपछि नगर भन्न सकिएन, ठिनी गाउँसम्म जसोतसो कालोपत्र गरौ न भनेर गर्न दियौं, चिसोका कारण कालोपत्र बिग्रिएको हुन सक्छ ।’
उनले घरपझोङ रिङरोड सडकको भौतिक प्रगति ७६ प्रतिशत भएको जानकारी दिए । रिङरोड सडकका लागि बजेट कम भएकाले सडक निर्माणको काममा ढिलासुस्ती भएको रोक्कामगरले जनाए ।
पछिल्लो समय सार्वजनिक खरिद नियमावलीको १३ औ संशोधन आएपछि रिङरोड सडकको म्याद १ वर्ष थपिएको छ । मुस्ताङको घरपझोङ रिङरोड सडकमा अझै सडकको स्टक्चर, ड्रेन निर्माण र सडक फिनिसिङका काम बाँकी छन् । रिङरोड बनेपछि घरपझोङका ठिनी, ढुम्बा, सम्ले, छैरो र चिमाङ गाउँका कृषि उपज बजारीकरणमा सहज हुनेछ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया