स्थानीय तहमा ३ सय ७ श्रमिक सूचीकृत

समाधान संवाददाता २०८१ मंसिर १९ गते १७:०९

पोखरा । नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपाल कास्कीको ११ औं जिल्ला अधिवेशन भएको छ । अधिवेशनले अध्यक्ष तीर्थराज मगरको नेतृत्वमा १३ सदस्यीय कमिटी सर्वसम्मत रुपमा चयन भएको छ ।

Advertisement

आगामी ३ वर्षे कार्यकालको लागि कमिटीका उपाध्यक्ष जीवन लामा, सचिव विशाल चौधरी, सहसचिव चन्द्र तामाङ, कोषाध्यक्ष राजकुमार तिमिल्सिना छन् । कार्यसमितिको सदस्यमा शमसेर शाही, राममाया नेपाली, सञ्जीव मगर, जीवन बसेल, पुनम गुरुङ, गौरीमाया नेपाली, मनु राई सुरेश घर्तीमगर रहेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए । प्रतिनिधि परिषद् प्रमुख कमल मगर र उपप्रमुखमा भोला दाहाल छन् ।

क्युपेक नेपालका अध्यक्ष शान्ता बस्नेतले अधिवेशनको उद्घाटन गर्दै अबको १० वर्षमा सबै निर्माण श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेट्ने गरी काम गर्ने बताइन् । जिफन्टले २०लाख श्रमिकलाई योजनामा समेट्ने गरी अभियान अगाडि बढाएको उल्लेख गर्दै उनले निर्माण क्षेत्रका श्रमिकलाई योजनामा जोडेर जिफन्टको अभियानमा साथ दिने जानकारी दिइन् ।

Advertisement

उनले श्रमिकको पञ्जीकरणको लागि श्रम डेस्क स्थापना गर्न सबै स्थानीय तहसँग धेरै पटक माग गरेको उल्लेख गरिन् । ‘हरेक स्थानीय तहले श्रमसँग सम्बन्धि योजना तथा कार्यक्रम ल्याउन सहजताको लागि श्रम डेस्कमार्फत सूचिकरण व्यवस्था गर्न पर्छ,’उनले भनिन, ‘त्यस्तो नगरे श्रमिकको सूचिकरण र पहिचानको लागि परिचयपत्रको लागि सबै स्थानीय तहलाई घेर्ने योजना छ ।’ उनले राज्यका निकायले श्रमिकलाई शिक्षा, स्वास्थ्य र सुरक्षामा ध्यान दिएर उचित सम्मान दिन माग गरिन् ।

जिफन्ट गण्डकी प्रदेशका अध्यक्ष खत्रीले नेपाल सरकारले २०७५ सालमा ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना निर्माण लगायतका अनौपचारिक क्षेत्रमा पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको जानकारी दिए । उनले स्याङजाको फेदिखोला, मकवानपुरको भीमफेदी, मोरङको बेलबारी लगायतका ५ पालिकामा अनौपचारिक क्षेत्रका ३सय ७ श्रमिक सूचिकृत भएको बताए । क्युपेक नेपालका केन्द्रीय सचिव बलादेवी राईले महिला पुरुषबीचको समान कामको समान ज्याला नारामा मात्र सिमित भएको दाबी गरिन् ।

Advertisement

क्युपेक नेपालका केन्द्रीय सचिव हरिभक्त कंडेलले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकले तोकेको मितिमा कास्कीका अधिवेशन भएको जानकारी दिए । अधिवेशनको उद्घाटन समारोहमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीका अध्यक्ष विष्णुबहादुर खत्री, जिफन्ट कास्कीका अध्यक्ष जनकराज सिग्देल, क्युपेक नेपाल कास्कीका उपाध्यक्ष सूर्यप्रसाद उपाध्यय, नेपाल निर्माण सम्बद्ध श्रमिक संघ कास्कीका अध्यक्ष राजेश बुढा लगायतले श्रम बजारका समस्या र टे«ड युनियनका चुनौतीका बारेका बोलेका थिए ।

कार्यक्रममा क्युपेक नेपाल कास्कीका संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङ, युनियनको सदस्यता बृद्धिका उल्लेखनीय योगदान गरेका कार्यसमितिका सदस्य शम्सेर शाही लगायतलाई सम्मान गरिएको छ । क्युपेक नेपाल कास्की जिल्ला कमिटीको ११ औं अधिवेशनको सन्दर्भमा । अधिवेशनको उद्घाटन समारोह हुनु भन्दा अगाडि पृथ्वीचोकदेखि सभागृहचोक, सिर्जनाचोकहुँदै जिरोकिमीसम्म ¥याली निकालिएको छ । समारोहमा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको छ । ‘क्युपेक नेपालको सरोकार सामाजिक सुरक्षा र मर्यादित रोजगार’ भन्ने नाराका साथ अधिवेशन गरिएको हो ।

तपाईको प्रतिक्रिया