बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा बाग्लुङकी सिलसिला

राम थापा २०८१ मंसिर १९ गते १८:२९

गण्डकी । पर्यावरण अभियन्ता सिलसिला आचार्यका लागि त्यो खबर अप्रत्याशित थियो, जतिबेला उहाँले सन् २०२४ का लागि आफू बिबिसीको एक सय प्रेरक र प्रभावशाली महिलाको सूचीमा पर्न लागेको जानकारी पाइन् ।

Advertisement

बिबिसीले उक्त सूची मंगलबार सार्वजनिक गरे पनि सोबारे एक महिनाअघि नै आचार्यलाई सूचित गरेको थियो ।
नोबेल पुरस्कार विजेतासहित विश्वभरका एक सय प्रभावकारी महिलाको सूचीमा परेपछि आचार्यलाई यतिबेला बधाई थाप्न भ्याइनभ्याइ छ । रासससँग कुराकानी गर्दै उनले भनिन्, ‘मेलै प्रकृति र वातावरणको मुद्दामा निरन्तर गरिरहेको कामलाई समाजले ‘रिकोग्नाइज’ गर्दा यस क्षेत्रमा अझै दृढ भएर लाग्न हौसला मिलेको छ ।’
बागलुङकी आचार्यलाई नेपालमा प्लास्टिकको पुनः प्रयोगसम्बन्धी ‘अभनी भेन्चर्स’ नामको संस्था चलाएर सीमान्त समुदायका व्यक्तिलाई रोजगारीमा प्राथमिकता दिएको बिबिसीले उल्लेख गरेको छ । बिबिसीले विश्वभरबाट विभिन्न क्षेत्रमा उल्लेखनीय काम गरिरहेका एक सय प्रेरक र प्रभावशाली महिलाको सूची मंगलबार सार्वजनिक गरेको थियो ।

‘यसबाट नेपालले झेलिरहेको वातावरणीय समस्याको पहिचान र उजागर गर्न थप मद्दत पुग्नेछ, उनले भनिन्, ‘मानिसको कम प्राथमिकतामा परिरहेको वातावरणको मुद्दामा संवेदनशील हुन सम्बद्ध सबै पक्षलाई प्रेरित गरेको छ ।’ कठिन परिस्थितिमा पनि विचलित नभई पर्यावरणको क्षेत्रमा आफूले गरेको कामको सम्मान भएकामा उनले खुसी व्यक्त गरिन् ।

Advertisement

चिकित्सा विषय अध्ययनका लागि छात्रवृत्तिमा नाम निक्ले पनि आचार्यले पछि वातावरण विज्ञान रोजेकी थिइन्

‘यो उपलब्धि नेपालकै लागि गौरवको विषय हो, नेपालको पर्यावरणीय मुद्दालाई विश्वमञ्चमा स्थापित गर्न यसले सघाउ पु¥याउनेछ,’ आचार्यले भनिन् । ‘वातावरण संरक्षणका क्षेत्रमा नीतिगत सुधार गर्न सरकारलाई पनि सकारात्मक दबाब पुगेको छ ।’

Advertisement

चिकित्सा विषय अध्ययनका लागि छात्रवृत्तिमा नाम निक्ले पनि आचार्यले पछि वातावरण विज्ञान रोजेकी थिइन् । काठमाडौँ विश्वविद्यालयमा वातावरण विज्ञानमा स्नातकसम्म पढेकी आचार्यले नर्वेबाट ‘बायो–डाइभर्सिटी इन्भाइरोमेन्ट साइन्स’मा स्नातकोत्तर गरेकी थिइन् । स्नातकोत्तर अध्ययनका लागि उनले नेपाल र नर्वेजियन सरकारबाट छात्रवृत्ति पाइकी थिइन् । स्नातकोत्तर सकेर नेपाल फर्केपछि उहाँले फोहरमैला व्यवस्थापनमा काम सुरु गरेकी थिइन् । प्लास्टिक झोलाको प्रयोगलाई निरुत्साहित गर्न आचार्यले सन् २०१४ मा ‘धन्यवाद् ! म आफै झोला बोक्छु’ अभियानको नेतृत्व गरेकी थिइन् । पर्यावरण अभियन्ताका रूपमा उनले नेपालका धेरै ठाउँमा काम गरिसकेकी छन् ।

आचार्यले केही वर्षअघि स्थापना गरेको ‘अभनी भेन्चर्स’ले महिला र सिमान्तकृत समुदायका व्यक्तिलाई रोजगारी दिँदै आएको छ । फोहरको पुनःप्रयोगमार्फत उद्यमशीलता र दिगो विकासमा काम गर्दै आएकी आचार्यले जलवायु परिवर्तनको असर न्यूनीकरणमा नीतिगत तहमै रहेर काम गर्ने लक्ष्य रहेको सुनाइन् । ‘फोहरमैला व्यवस्थापनमा स्थानीय तहहरूसँग मिलेर नमूनायोग्न काम गर्ने योजना छ,’ उनले भनिन्, ‘पर्यावरण उद्यममार्फत् महिला र सिमान्तकृत समुदायलाई आयआर्जनसँग जोड्ने अभियान पनि निरन्तर चलिरहन्छ ।’

उनले फोहरमुक्त समाज र देश निर्माणको अभियानमा जोडिन सबैलाई आग्रह गरिन् । हरेक घरबाटै फोहर व्यवस्थापनको काम सुरु गर्नुपर्ने भन्दै पर्यावरण जोगाउन सबैले हातेमालो गर्नुपर्ने आचार्यको भनाइ छ । उनी ‘अभ्नी भेन्जर्स’को सह–संस्थापक र निर्देशक छन् । पर्यावरण उद्यमी आचार्य हिमालहरूलाई प्रदूषणमुक्त बनाउने अभियानमा समेत सक्रिय रहँदै आएकी छन् ।

आगाामी दिनमा हिमाल र पानीका स्रोत संरक्षणको मुद्दामा केन्द्रित भएर काम गर्ने सोच बनाएको उनको भनाइ छ । आचार्यले आरोहीहरूले हिमालमा छाडेको फोहर सङ्कलन गरी त्यसको प्रशोधनमार्फत विभिन्न सामग्रीहरू उत्पादन गरी आदिवासी महिलालाई उद्यमशीलतासँग जोडेकी थिइन् । सरकारले देशभर रहेको प्लास्टिकको मात्रा र व्यवस्थापनबारे गरिरहेको अध्ययनमा समेत आचार्य नेतृत्वदायी भूमिकामा छन् ।

आचार्यले प्लास्टिकमुक्त अभियानलाई निरन्तरता दिने जनाइन् । आचार्य नेपाल खबरले गत वर्ष सार्वजनिक गरेको नेपालका ५० प्रभावशाली महिलाको सूचीमा समेत परेकी थिइन् । हिमाल सफाइ अभियानमा पु¥याएको योगदानबापत नेपाली सेनाबाट पनि उनी सम्मानित भइसकेकी छन् । रासस

तपाईको प्रतिक्रिया