‘सम्बोधिका’ लाई लेखक कृति पुरस्कार, पाखेलाई सम्मान

समाधान संवाददाता २०८१ मंसिर २० गते ५:१५

पोखरा। नेपाली लेखक सङ्घ कास्कीले हरेक वर्ष प्रदान गर्ने गण्डकी प्रदेशस्तरीय ‘लेखक कृति पुरस्कार–२०८०’ साहित्यकार ईश्वरमणि अधिकारीद्वारा लिखित मुक्तकसङ्ग्रह ‘सम्बोधिका’ कृतिलाई प्रदान गरिने भएको छ ।

Advertisement

साहित्यकार दीपक समीपको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले जन्मले वा कर्मले गण्डकी प्रदेशमा रहेका लेखकहरूमध्येबाट वि.सं. २०८० मा प्रकाशित कृतिहरूमध्येबाट उक्त कृतिलाई पुरस्कारका निम्ति छनोट गरेको हो । पुरस्कारको नगद राशी २५ हजार रुपैयाँ र सम्मान पत्र छ । नेपाली लेखक सङ्घ कास्कीको हालै बसेको कार्यसमिति बैठकले पुरस्कार छनोट समितिद्वारा सर्वसम्मत रूपमा गरिएको निर्णयलाई अनुमोदन गर्दै उक्त कृतिलाई पुरस्कृत गर्ने निर्णय गरेको संस्थाका सचिव प्राञ्जलले जानकारी दिए । अबको केही समयपछि नै एक समारोहका बिच पुरस्कार अर्पण गरिने छ । सोही अवसर पारी नेपाली, भाषा, साहित्य, अभिव्यक्त स्वतन्त्रताका लागि विगत लामो समयदेखि योगदान दिँदै आएका व्यक्तित्व तारा पाखेलाई सम्मान गरिने भएको हो ।

वि.सं. २०७५ सालमा स्थापित यो पुरस्कारबाट यसअगाडि दिव्याञ्जली (२०७५, सरोज अर्याल), महाभारतमा के छ ? (२०७६, डा. मतिप्रसाद ढकाल), अक्षर अक्षरमा देश (२०७८, दीपक समीप), मफलर (२०७९, प्रदीप रोदन) पुरस्कृत भइसकेका छन् । २०७७ सालको पुरस्कार भने कोभिडका कारण प्रदान गर्न नसकिएको संस्थाका अध्यक्ष रीता अधिकारी ‘ऋतु’ ले जानकारी दिइन् ।

Advertisement


पोखरेली युवा सांस्कृतिक परिवारको प्रकाशनमा प्रकाशित मुक्तकसङ्ग्रह सम्बोधिका को दोस्रो संस्करण माया पब्लिकेसन, काठमाडौँबाट प्रकाशित भइसकेको छ । लमजुङमा जन्मेर कास्की जिल्लामा क्रियाशील साहित्यकार अधिकारी विभिन्न साहित्यिक एवम् सामाजिक संस्थामा नेतृत्वमा रही कुशल नेतृत्व पस्किसकेका अधिकारीको यो तेस्रो कृति हो ।

यसअगाडि अधिकारीले समता काव्य सम्मान, गजल प्रतिभा सम्मान, पत्थर गजल प्रतिभा पुरस्कार, शिवपुरी साहित्य पुरस्कार, समता काव्य सन्ध्या रजत वर्ष सम्मान, झलक–पुष्पा साहित्य पुरस्कार, अनलाइन अभिलेख सम्मान, नेपाल विद्याभूषण ‘क’ लगायतका दर्जनौँ पुरस्कार तथा सम्मानबाट विभूषित भइसकेका छन् । विभिन्न साहित्यिक एवम् अन्य संस्थासँग संलग्न रहेका अधिकारी हाल त्रिभुवन विश्वविद्यालय गणित विषयका सह–प्राध्यापकका रूपमा पृथ्वीनारायण क्याम्पस पोखरामा गणित विभागको अध्यक्षका रूपमा कार्यरत छन् ।

Advertisement

काव्यका विभिन्न भेदहरूमा कलम चलाएका अधिकारी गीत, गजल, फुटकर कविता, कथा, निबन्ध एवम् थुप्रै अनुसन्धानात्मक लेखहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् ।

त्यसैगरी वार्षिक रूपमा गरिने स्रष्टा सम्मान नेपाली प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान दिएका साहित्यकार एवम् समाजसेवी तारा पाखेलाई सम्मान गर्ने निर्णय गरिएको छ । पाँच दशकदेखि अनवरत भाषा, साहित्य, राजनीति र समाजसेवामा क्रियाशील पाखे पञ्चायतविरोधी आन्दोलनका एक खम्बाका रूपमा रहेका थिए ।

पुरस्कृत एवम् सम्मानित व्यक्तित्वलाई केही दिनपछाडि पोखरामा आयोजना हुने विशेष कार्यक्रममा सम्मान गरिने संस्थाका सचिव प्राञ्जलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया