दूषित खाद्य पदार्थ बिक्री गरे ३ लाख जरिवाना
पोखरा ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा कास्कीले स्थानीय तहको समन्वयमा स्ट्रिटफुड खाद्य स्वच्छता, रंगको प्रयोग, खाद्य पदार्थको सिधा सम्पर्कमा आउने कागजको प्रयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ९ को वडा कार्यालय, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको समन्वयमा भएको कार्यक्रममा कार्यालयका प्रमुख वरिष्ठ खाद्य अधिकृत नवराज दाहाल, खाद्य अधिकृत मुना कटुवालले खाद्य पदार्थको खाद्य स्वच्छता, स्थानीय तहको भूमिका विषयमा सहजीकरण गरेका थिए ।
‘खाद्य स्वच्छतामा लगानी बढाऔं, अप्रत्यासित अवस्थाको पूर्ण तयारी गरौ’ भन्ने नाराका साथ भएको कार्यक्रममा पोखरा ९ का खाद्य पदार्थको बिक्री गर्ने व्यवसायीको सहभागिता थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख दाहालले खाद्य व्यवसायीले सडे गलेको, फोहोर मैला मिसिएको विषाक्त खाद्य पदार्थ बिक्री गर्न नहुने बताए । उनले खाद्य पदार्थको प्रकृति अनुसार आद्रता र तापक्रमको व्यवस्था मिलाउन पर्ने जानकारी दिए । उनले सरसफाई र गुणस्तरमा ध्यान दिन सुझाव दिए ।
‘खाद्य स्वच्छता तथा गुणस्तर ऐनले दूषित खाद्य पदार्थको बिक्री गर्नेलाई ३ लाख जरिवाना र ६ महिना जेल सजाय हुने व्यवस्था गरेको छ,’ उनले भने, ‘खाद्य व्यवसायीले ६० प्रतिशत मिति बाँकी भएको सामान किन्न पर्छ । सामान किन्दा लेबल नलगाएको वा लेबल मापडण्ड पूरा नगरेको ख्याल गर्नु पर्छ ।’
उनले सडक पेटीको खाद्य पदार्थको बिक्री स्थानीय तहको सरोकारको विषय भएको जानकारी दिए । स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय बजारको अनुगमन र उपभोक्ता सचेतना कार्यक्रम पालिकाले गर्न सक्ने उल्लेख गर्दै उनले पालिकाले नगर प्रहरी जस्तै खाद्य निरीक्षक राख्न सक्ने बताए । उनले वडा समितिले समेत नियमन गर्ने र पालिकाको मुख्य कार्यक्षेत्र सचेतना, नियमन र अनुगमन भएको उल्लेख गरे ।
पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले खाद्य व्यवसायीलाई कानुनमा भएको व्यवस्था सिकाएर सचेत बनाएर मात्र बजार अनुगमन गर्ने जानकारी दिए । एक्लै दुक्लै गएर क्यामरा तेर्साएर उद्योगी व्यवसायीलाई तर्साउने अधिकार कसैलाई नभएको दाबी गर्दै उनले जनप्रतिनिधिको रोहबरमा मात्र अनुगमन गर्ने कानुनी अधिकार भएको बताए । उनले सबै क्षेत्रमा सहजीकरण गरी व्यावसायिक वातावरण बनाउन पर्ने उल्लेख गरे ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएको कार्यक्रममा पोखरा ९ का वडा सदस्यहरु नन्दराम गिरी, लक्ष्मी पहारी, गिता चर्मकार, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका सचिव उत्तम जोशी, खाद्य अधिकृत प्रदीप काफ्लेले घरको भान्सामा जस्तो सर सफाई अपनाउन खाद्य व्यवसायीलाई आग्रह गरे ।
तपाईको प्रतिक्रिया