पोखरा महानगरको विशेष नगरसभा २३ गते सम्मका लागि स्थगित

समाधान संवाददाता २०८१ मंसिर २० गते १२:३३

पोखरा ।

Advertisement

पोखरा । पोखरा महानगरपालिकाको विशेष नगरसभा मंसिर २३ गते सम्मका लागि स्थगित भएको छ । पोखरा महानगरपालिकामा करार कर्मचारीसम्बन्धी विषयलाई लिएर एमालेबाट निर्वाचित वडाध्यक्षहरुले विशेष नगर सभा मागेपछि बिहीबार सभा सुरु भएको थियो ।

सभा सुरु भएर उपमेयर मञ्जुदेवी गुरुङले स्वागत गरेलगत्तै मेयर धनराज आचार्यले थप छलफल गर्नुपर्ने भन्दै सभा २३ गतेसम्मका लागि स्थगित भएको जानकारी गराएका थिए ।

Advertisement

गत कात्तिक १४ गते बसेको नगर कार्यपालिका बैठकले करारका २८ कर्मचारीसहित केही शिक्षक र सामाजिक परिचालकलाई हटाउने निर्णय गरेपछि एमालेका जनप्रतिनिधि र कर्मचारी आन्दोलित थिए । त्यसै सन्दर्भमा एमालेले ५ बुँदे प्रस्ताव पेश गर्दै विशेष नगर सभा माग गरेको थियो । नगर सभामा बहुमत रहेको एमालेले ३७ औं कार्यपालिकाको निर्णय खारेज गर्ने लगायतका प्रस्ताव मेयर आचार्यसँग गरेको छ ।

महानगरले यसअघि नै गरेको दरबन्दी संरचनालाई स्थानीय सर्वेक्षण समिति गठन गरी पूूर्ण प्रतिवेदन आगामी नगर सभामा पेश गर्ने एमालेको प्रस्ताव छ । प्रतिवेदन बमोजिम स्वीकृत दरबन्दी संरचना अनुसार स्थायी पदपूर्ति नभएसम्म हाल करार र ज्यालादारीमा कार्यरत सम्पूर्ण कर्मचारीको करार सम्झौता नवीकरणबारे विशेष नगर सभामा छलफल गर्ने एमालेको प्रस्ताव छ । साथै, एमालेले कार्यपालिकाको २५ औं बैठकले कर्मचारी व्यवस्थापन सम्बन्धमा भएका निर्णय पूर्ण कार्यान्वयन गर्न प्रस्ताव गरेको थियो ।

Advertisement

महानगरपालिकाको स्वीकृत दरबन्दी संरचनामा नपरेका कर्मचारीलाई उनीहरुको पदाधिकार रहेकै कार्यालयमा काज फिर्ता गर्ने लगायतका माग पनि एमालेले राखेको छ । यसरी अन्य पालिकामा स्थायी नियुक्ति लिई पोखरा महानगरमा कार्यरत अवधिको आधारमा प्राप्त हुने सेवा, सुविधाको दायित्व महानगरले लिनु नहुने एमालेको अडान छ ।

विशेष नगर सभामा पोखरा सभागृह भवन निर्माण, महानगरको प्रशासकीय भवन निर्माण, पोखरा बसपार्क निर्माण, फेवातालको मापदण्ड कार्यान्वयन र फोहोरमैला व्यवस्थापनका लागि अत्याधुनिक प्रशोधन केन्द्र निर्माणबारे छलफल गरिनुपर्ने महानगरमा एमाले दलकी नेता राधिका शाहीले बताइन् ।

विशेष नगरसभाबारे स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले व्यवस्था गरेको छ । सभाको बैठक र कार्यप्रणालीबारे परिच्छेद ४ मा त्यो व्यवस्था छ । ‘सभाका एक तिहाइ सदस्यले सभाको बैठक बोलाउन आवश्यक छ भनी अध्यक्ष वा प्रमुख समक्ष विषय वा कारण खुलाई लिखित अनुरोध गरेमा १५ दिनभित्र अध्यक्ष वा प्रमुखले सभाको विशेष बैठक बोलाउनेछ,’ ऐनमा भनिएको छ ।
विशेष नगरसभाको औचित्य नभएको भन्दै कांग्रेसका वडाध्यक्ष एवं नगर सभा सदस्यहरुले विरोध गर्दै आएका थिए । कतिपय विषय अदालतमा विचाराधीन अवस्थामा रहेकाले अहिले विशेष सभाको औचित्य नभएको उनीहरुको भनाइ थियो । बिहीबार नगर सभा सुरु हुनु अगावै कांग्रेसका जनप्रतिनिधिले सभास्थल पोखरा सभागृहमा विरोध एवं नारावाजी समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया