पोखराकै पहिलो स्कुल खोल्न राजा त्रिभुवनले दिएका थिए १ हजार रुपैयाँ

धनबहादुर गुरुङ २०८१ मंसिर २१ गते ४:२८
पोखराको पहिलो स्कुल राष्ट्रिय मावि । तस्बिर : गीता रानामगर

पोखरा । त्यो बेलासम्म नेपालमा प्रजातन्त्रको बिजारोपण पनि भइसकेको थियो । तर केही पोखरेली भने विद्यालय खोल्ने सपना देख्न थालिसकेका थिए । बडाहाकिम धनशमसेर जबरा, सामाजिक अगुवा ऋषिकेशव पराजुली, प्रेमराज मुल्मी, सुन्दरप्रसाद मर्सानी, दयाशंकर पालिखे र श्यामप्रसाद कर्माचार्य विद्यालय खोल्न कम्मर कसेर एकजुट भएका थिए । नभन्दै उनीहरुले २००६ साल मंसिर २० गते सपना साकार पारे । नारायणथानमा पोखराकै पहिलो विद्यालय पब्लिक मिडिल स्कुल स्थापना भयो ।
विद्यालय हाँक्न बडाहाकिम जबरा सञ्चालक समितिको अध्यक्ष बने । पराजुली सचिव, मुल्मी कोषाध्यक्ष, मर्सानी सहसचिव चुनिए । पालिखे र कर्माचार्य सदस्य भए । यो टिमले स्थानीयको साथ र सल्लाहका साथ स्कुल खोल्ने प्रक्रिया अघि बढायो । एक वर्षपछि विद्यालय चलाउन सरकारबाट स्थायी स्वीकृत पनि पायो ।

Advertisement

विद्यालय चलाउन स्वीकृत पाएसँगै राजा त्रिभुवनले १ हजार रुपैयाँ दिए । त्यो बेलाको एक हजार अहिलेको करोडसँग पनि तुलना गर्न सक्ने अवस्था थिएन । त्यो पैसा लिएर टोली पोखरा फर्कियो अनि विद्यालय भवन बनाउन लाग्यो ।
अहिलेको पोखरा महानगरपालिका वडा नम्बर ३ स्थित नारायणथानमा भवन बनाउन जग खन्दा जमिन भासिएपछि समस्या आइपर्‍यो । अर्काे उपयुक्त जमिनको खोजी भयो । जग्गा खोज्दै जाँदा रत्नाखर पराजुलीका परिवारले टुँडिखेलमा जग्गा दिने भयो ।

पब्लिक मिडिल स्कुलबाट नेसनल मल्टिप्रपोज उच्च विद्यालय हुँदै राष्ट्रिय मावि बनेको विद्यालयले हीरक महोत्सव मनाएको छ

Advertisement

२००७ सालमा केही संरचना निर्माण पश्चात पब्लिक मिडिल स्कुल पुरानो टुँडिखेलस्थित ७२ रोपनीमा विद्यालय सरेको इतिहास प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटा सुनाउँछन् । विद्यालयले २०११ सालमा पहिलोपटक एसएलसीमा सहभागिता जनाएको थियो । त्यो बेला ५ जनाले एसएलसी दिएकोमा ४ जना उत्तीर्ण भएका थिए ।


२०१३ सालमा नयाँ भवन थपिने भयो । तत्कालीन सरकार र अमेरिकी सहायता नियोगबीच भवन निर्माण सम्झौता भयो । राजा महेन्द्रले नयाँ भवन शिलान्यास गरे । केही वर्षपछि विद्यालयको नाम परिवर्तन गरी नेसनल मल्टिप्रपोज उच्च विद्यालयबाट सञ्चालन भएको प्रअ सापकोटा बताउँछन् ।

Advertisement

२०२८ सालको नयाँ शिक्षा प्रणाली लागुपछि राष्ट्रिय माविको नामबाट आफ्नो शैक्षिक क्रियाकलापहरु अघि बढाएको हो । सीमित विद्यालयको समूहमा राष्ट्रिय माविले आफूलाई देशकै नमुना विद्यालयका रुपमा पनि उभ्याएको इतिहास रहेको उनले सुनाए । विद्यालयले २०३१ सालमा एसएलसी बोर्ड प्रथम (दानकुमार प्रधान) र द्वितीय (शंकरराज श्रेष्ठ) दुवै स्थान प्राप्त गरेको विद्यालयको रेकर्डमा छ । त्यसअघि विद्यालय २०१८ र २०२५ सालमा एसएलसी परीक्षाको नतिजामा नेपालकै उत्कृष्ट १० भित्र परेको थियो ।
यसरी पब्लिक मिडिल स्कुलबाट नेसनल मल्टिप्रपोज उच्च विद्यालय हुँदै राष्ट्रिय मावि बनेको विद्यालयले गत वर्षको मंसिर २० देखि सुरु गरेको हीरक महोत्सव बिहीबार समापन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको उपस्थितिमा विद्यालयले हीरक महोत्सव समापन गरेको हो ।

स्थापनादेखि अहिलेसम्म विद्यालयले शैक्षिकसँगै भौतिक पूर्वाधार पनि विकास गर्दै गएको छ । विभिन्न समयमा बिहान प्रार्थना गराउने स्थल, पिउनेपानी र हातधुने पानीका धाराहरु, शौचालय, खेलकुद मैदान, चमेनागृह, पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला निर्माण गरेको प्रअ सापकोटाले सुनाए । अहिले यहाँ विद्यार्थीको बढी भएको उनको भनाइ छ । अहिले कक्षा इसिडीदेखि कक्षा १० सम्म निशुल्क अंग्रेजी माध्यममा अध्यापन गराइरहेको उनले बताए । कक्षा ११ र १२ मा पनि न्यून शुल्कमा विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी संकायमा पढाइ भइरहेको छ । विद्यालयका हाल ४४ जिल्लाका गरी १ हजार ४ सय विद्यार्थी छन् । ५७ जना शिक्षक, कर्मचारीहरु रहेको प्रअ सापकोटाले बताए ।

तपाईको प्रतिक्रिया