मुस्ताङमा ‘साना होटल तथा लज व्यवस्थापन’ सम्बन्धी तालिम

जोमसोम ।
अन्नपूर्ण चक्रीय पदमार्गमा सञ्चालित साना होटल तथा लज व्यवसायीहरुलाई होटल तथा लज व्यवस्थापन सम्बन्धी तालिम दिइएको छ । चक्रीय पदमार्गमा यात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि व्यवस्थित, भरपर्दो र विश्वसनीय सेवा प्रवाह गराउने उद्देश्यसहित होटल तथा लज व्यवस्थापन सम्बन्धी १० दिने तालिम सञ्चालन गरिएको हो ।
युएसएआइडीको आर्थिक सहयोग, राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको समन्वय, सहजीकरण र व्यवस्थापनमा नेपाल पर्यटक तथा होटल व्यवस्थापन प्रतिष्ठान (न्याथम) ले साना होटल तथा लज व्यवस्थापन तालिम दिएको हो ।
तालिममा अन्नपूर्ण चक्रीय पदमार्गमा सञ्चालित ३९ वटा साना होटल तथा लज चलाएर बसेका होटल सञ्चालकहरुलाई होटल तथा लज व्यवस्थापन सम्वन्धि क्षमता विकास तालिम दिइएको छ । मुस्ताङको थासाङ गाउँपालिका—३ लेते स्थित धौलागिरी प्राविधिक शिक्षालयमा सम्पन्न तालिममा न्याथमका ४ जना प्रशिक्षकहरुले साना होटल तथा लज व्यवस्थापनका विषयमा प्रशिक्षण दिएका थिए ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा सञ्चालित साना तथा लज सञ्चालकहरुलाई न्याथमका प्रशिक्षकहरु उमेश सुवेदी, सत्यनारायण शाह, अशोक उपाध्याय र श्रीराम तिमिल्सिना लगायतले होटल तथा लज व्यवस्थापन तालिम दिएको एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए ।
धौलागिरी प्राविधिक शिक्षालय लेतेमा बुधबार सम्पन्न साना होटल तथा लज व्यवस्थापन सम्बन्धी १० दिने क्षमता अभिवृद्धि तालिममा फ्रन्ट अफिस, हाउस किपिङ, फस्ट एड मेनेजमेन्ट, फोहोर मैला व्यवस्थापन, फुड एन्ड बिभे्रजेन र फुड प्रोडक्सन लगायत विविध विषय समेटिएको तालिम प्रदान गरिएको एक्याप जोमसोमका कार्यालय प्रमुख रेग्मीले बताए । तालिममा फुड प्रोडक्सनतर्फ ८५ प्रकारका खाना परिकार बनाउने विधिको सिकाइका साथै अभ्यास तालिम दिएको उनले बताए ।
मुस्ताङका साना होटल तथा लज चलाएर बसेका पर्यटन व्यवसायीहरुले व्यवसाय स्तरोन्नति तथा उनीहरुको क्षमता अभिवृद्धि तालिमको समापनमा न्याथमकी कार्यकारी निर्देशक संगिता ओझा र विभागीय प्रमुख अजयकुमार ढकाल उपस्थित थिए । १० दिने साना तथा लज व्यवस्थापन तालिमका प्रशिक्षार्थीहरुलाई पूर्व वाणिज्य मन्त्री रोमी गौचन थकालीले प्रमाणपत्र वितरण गरेका थिए ।
पूर्ववाणिज्य मन्त्री रोमी गौचन थकाली मुस्ताङमा सडक यातायात सहज भइरहेकाले यहाँको पर्यटन व्यवसाय चलायमान भएको बताए । मुस्ताङका ५ स्थानीय तहमा ३२५ वटा होटल तथा लज सञ्चालनमा छन् । मुस्ताङको थासाङमा ४९, घरपझोङमा १६३, वारागुङ मुक्तिक्षेत्रमा ६३, लोघेकर दामोदरकुण्डमा ३० र लोमान्थाङ गाउँपालिकामा २० वटा होटल तथा लज सञ्चालनमा रहेको मुस्ताङ प्रहरीको तथ्यांकमा उल्लेख छ । मुस्ताङमा बर्सेनि १ लाख बढी विदेशी पर्यटक र ५ लाख बढी आन्तरिक पर्यटकले भ्रमण गर्ने गरेको पाइएको छ ।
तपाईको प्रतिक्रिया