सम्पादकीय—पोखरा चीन सिधा उडानको प्रस्ताव

समाधान संवाददाता २०८१ मंसिर २१ गते १२:२२

प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा पोखरा र भैरहवाबाट चीनमा सीधै उडान सुरु गर्ने सहमती भएको छ । दुई देशबीचको सहमतीपछि जारी संयुक्त विज्ञप्तिमा पोखरा र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चिनियाँ सहरहरूसँग जोड्ने विषय समावेश छ । नेपाल–चीन बिजनेस समिटमा समेत पोखरा र भैरहवा विमानस्थल सञ्चालनको मुद्दा उठाइएको छ ।

Advertisement


नेपाल र चीनबीच नागरिक उड्डययन क्षेत्रमा विकास भएको साझेदारीले बजारको माग अनुरूप पोखरा र लुम्बिनीलाई चिनियाँ सहरहरूसँग जोड्ने गरी हवाई मार्ग खोल्ने र उडानहरूलाई नियमिता दिने काम हुन सक्छ । पोखराबाट चिनियाँ सहरहरूलाई जोड्ने गरी नियमित उडान सुरु गर्नका लागि सहजीकरण गरिदिन नेपालले चिनियाँ पक्षलाई बारम्बार आग्रह गरिरहेका छन् । चिनियाँ ऋण सहयोगमा निर्माण भएको पोखरा विमानस्थलबाट नियमित उडानका लागि बेइजिङका अधिकारी सकारात्मक छन् । तथापी ठोस रुपमा प्रगति हुन सकेको छैन ।


नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य हो । दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडानले चिनियाँ पर्यटकलाई पनि सुविधा पुग्ने छ । १५ भदौ २०८०मा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको क्रममा नेपाल– चीनले जारी गरेको १३ बुँदे संयुक्त वक्तव्यको ७ नम्बर बुँदामा दुबैपक्षबाट पोखरा एयरपोर्टसहितबाट उडान र थप हवाइ रुट बिस्तार गर्ने सहमति भएको थियो ।

दुबै देशले आफ्ना एयरलाइन्स कम्पनीलाई उडान सुरु र थप उडानका लागि सहयोगसँगै सहजीकरण गर्ने सहमतिलाई सकारात्मक रुपमा लिन सकिन्छ । हालैका पछिल्ला वर्षमा चीनले नेपालसँग उड्डयन क्षेत्रमा सहकार्य बढाउने नीति लिएको देखिन्छ । यस्तो परिस्थितिमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा भएको समझदारीलाई कार्यान्वयन गर्न नेपाल अग्रसर हुनु पर्ने देखिन्छ ।


चीनको एक्जिम बैंकको २२ अर्ब ऋणमा बनेर १ जनवरी २०२३ बाट सञ्चालनमा आएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान तालिका बन्न सकेको छैन । विमानस्थलबाट अहिलेसम्म १० वटा अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन् । सरकारले दुवै विमानस्थललाई नियमित रूपमा चलाउन सहुलियत दिँदा भैरहवाबाट अहिले केही वायुसेवा कम्पनीहरूले नियमित उडान गरिरहेका छन् । पोखराबाट भने अन्तर्राष्ट्रिय उडान भएको छैन ।

Advertisement


नेपाल वायुसेवा निगम र हिमालय एअरलाइन्सलाई पोखराबाट चीन तथा अन्य गन्तव्यमा उडान गर्ने गृहकार्य गरिरहेका छन् । सम्भवतः हिमालयले आगामी जनवरीदेखि पोखराबाट तिब्बतमा उडान गर्ने सम्भावना छ । दुई देशको हवाईसेवा सम्झौतामा भएको प्रावधान बमोजिम पोखरा विमानस्थललाई पनि सूचीकृत गर्नुपर्ने र अनुमति लिनुपर्ने हुन्छ ।

त्यसका लागि प्रक्रिया अगाडि बढेको छ । सरकारले राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि बनाएको कार्ययोजनालाई कार्यान्वयन गर्नु पर्छ । भारत चीन सहितका अन्य देशसँग समन्वय गरेर अन्तर्राष्ट्रिय उडान थाल्न सरकारले कूटनीतिक पहल थाल्न ढिलाई गर्नु हुन्न ।

तपाईको प्रतिक्रिया