प्रधानसम्पादक ज्ञवाली पत्रकार महासंघको केन्द्रीय कोषाध्यक्षका उम्मेदवार

पोखरा ।
समाधान दैनिकका प्रधानसम्पादक रामकृष्ण ज्ञवालीले नेपाल पत्रकार महासंघको कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् । प्रेस चौतारी र प्रेस युनियनको साझा गठबन्धनबाट ज्ञवालीले कोषाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
ज्ञवाली प्रेस चौतारीका केन्द्रीय नेता हुन् । उनले यसअघि २०७७ सालमा भएको नेपाल पत्रकार महासंघको निर्वाचनमा सचिवमा उम्मेदवारी दिएका थिए । त्यसअघि उनी पत्रकार महासंघको केन्द्रीय सदस्य थिए ।
ज्ञवाली २०७० सालमा नेपाल पत्रकार महासंघको निर्वाचनमा कास्की अध्यक्षमा निर्वाचित भएका थिए । ज्ञवाली ०५५ सालदेखि पत्रकारितामा आवद्ध छन् । समाधान दैनिक, एभिन्युज टेलिभिजन लगायत मिडियामा काम गरेको अनुभव ज्ञवालीसँग छ ।
पत्रकार महासंघको निर्वाचनमा उम्मेदवारी दर्ता
नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्ने आसन्न निर्वाचनमा शुक्रबार उम्मेदवारी दर्ता भएको छ । नेपाल प्रेस युनियन र प्रेस चौतारीले गठबन्धन गरी प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।
प्रेस युनियन नेपाली कांग्रेससँग र प्रेस चौतारी एमालेसँग निकट संस्था हो । प्रेस सेन्टर माओवादीको शुभेच्छुक संस्था हो । प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मञ्च नेपाल संयुक्त प्यानल बनाएर महासंघको महाधिवेशनमा उम्मेदवारी दिएका छन् । सेन्टर माओवादी केन्द्रनिकट पत्रकारहरुको संस्था हो । समाजवादी प्रेस संगठन एकीकृत समाजवादी पार्टीको शुभेच्छुक संस्था हो ।
प्रेस युनियन अध्यक्ष शिव लम्साल र प्रेस चौतारी अध्यक्ष गणेश बस्नेत लगायतबीच भएको छलफलमा गठबन्धन गरी महाधिवेशनमा भाग लिने सहमति शुक्रबार बनेको हो । मंसिर २८ गते निर्वाचन तोकिएको महासंघमा अध्यक्षसहित १३ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ ।
कांग्रेसनिकट प्रेस युनियनले अध्यक्ष एमालेनिकट प्रेस चौतारीलाई छाडेर अधिकांश पदाधिकारीमा उम्मेदवारी दिएको छ । चौतारीले अध्यक्षसहित ५ पदाधिकारी र युनियनले वरिष्ठ उपाध्यक्षसहित ८ पदाधिकारी लिने सहमति बनेको हो । प्रेस चौतारीबाट अध्यक्षमा निर्मला शर्मा, महिला उपाध्यक्षमा नीतु पण्डित, कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली, समावेशी सचिवमा सविन प्रियासनले उम्मेदवारी दिएका छन् ।
युनियनले वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, महासचिवमा रामप्रसाद दाहाल, सचिवमा रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी, वैकुण्ठ पराजुली र अशोक तिवारीलाई उम्मेदवार बनाएको छ । महासंघमा कांग्रेस–एमालेले प्रदेश र जिल्ला पनि भागबन्डा गरेका छन् । कोशी, मधेस, कर्णाली र उपत्यका अध्यक्ष प्रेस चौतारीले लिने र बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसिएट र प्रतिष्ठान अध्यक्ष प्रेस युनियनले लिने सहमति छ । महासंघका ४३ जिल्ला शाखा अध्यक्ष प्रेस युनियनले र ३४ जिल्ला अध्यक्ष प्रेस चौतारीले लिने सहमति ती संगठनहरुले गरेका छन् ।
महासंघ अध्यक्षमा नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालबाट अध्यक्षमा कमल गिरीले उम्मेदवारी दिएका छन् । अहिले पत्रकार महासंघका महासचिव रहेका रोशन पुरीले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । महिला उपाध्यक्षमा गंगा बराल, महासचिवमा लेखनाथ न्यौपाने, कोषाध्यक्षमा रामकृष्ण अधिकारी, सचिवमा उत्तर विष्ट, मधेसी सचिवमा सिर्जना झा, महिला सचिवमा सरिता बराइली, दलित सचिवमा वसन्त विश्वकर्मा, आदिवासी जनजाति सचिवमा भीषण राई, एसोसिएट सचिवमा विकास कार्की र लेखा समिति संयोजक धु्रव रावलको उम्मेदवारी परेको छ । यसमध्ये उत्तर विष्ट र समावेशी उपाध्यक्षमा सुवास साह एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठनका हुन् ।
यसअघि पत्रकार महासंघको वरिष्ठ उपाध्यक्ष रहेका रमेश विष्टले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनी प्रेस युनियनका हुन् । यसअघि पत्रकार महासंघको चुनाव २०७७ चैतमा भएको थियो । त्यसबेला प्रेस चौतारीकी निर्मला शर्मालाई हराउँदै प्रेस युनियनका विपुल पोखरेल अध्यक्ष निर्वाचित भएका थिए । उनले सदस्यता विवाद सुल्झाउन नसकेपछि राजीनामा दिएका थिए । त्यसबेला प्रेस युनियन, प्रेस सेन्टरलगायत पत्रकारका ११ संघसंस्थाले पोखरेल नेतृत्वको प्यानललाई समर्थन गरेका थिए ।







कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
पोखरामा बन्यो भैरव मन्दिर
पारिवारिक कथामा ‘हर्ष’
नेफिनको गोष्ठी
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया