
जोमसोम । मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिकामा हिमाली कालो भालुको आतंकले स्थानीय किसानलाई सास्ती पुर्याएको छ । थासाङमा पछिल्लो समय वन्यजन्तु हिमाली कालो भालु र मानवबिचको द्वन्द्व बढ्दै जान थालेको हो ।
इलाका संरक्षण कार्यालय जोमसोमको कार्यक्षेत्र रहेको मुस्ताङको थासाङ गाउँपालिकाका स्थानीय ३ वटा भालुको आतंकले प्रभावित भएका छन् । उक्त क्षेत्रमा संरक्षित वन्यजन्तु चितुवाले समेत स्थानीय किसानको पशुधनमा क्षति पुर्याएको छ ।
थासाङको वडा १ ,२ र ३ मा बर्सेनि भालुको आतंकले त्यस क्षेत्रको बालीनालीमा क्षति पु¥याएको थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनले जानकारी दिए । उपाध्यक्ष हिराचनका अनुसार हिमाली कालो भालुले पाक्दै गरेको बालीनाली रातको समयमा सखाप पारिदिने गरेको दुखेसो सुनाए । ‘थासाङको सबै भन्दाबढी भालु प्रभावित क्षेत्र कुञ्जो र ताक्लुङ हो, जति गरेपनि भालुको आतंक रोक्न सकिएन,’ उपाध्यक्ष हिराचनले भने, ‘मकै पाक्ने बेला र फापर पाक्ने बेलामा भालुले बढी मात्रामा दुख दिन्छ, भालु आतंकले हाम्रो क्षेत्रमा हैरानै पारिसक्यो ।’
उपाध्यक्ष हिराचनले मध्यरातमा खेतबारीमा पसेर हिमाली कालो भालुले बालीनाली सखाप पारिदिने गरेको उल्लेख गरे । उनले भदौ र असोजमा जंगलमा खानेकुरा नपाउँदा भालुले कृषकको बालीनाली खाइदिने गरेको बताए । ‘भालुले मकै, फापर लगायत बाली खाइदिने र मडारिदिने गर्छ, हामी भालुको आतंकबाट निकै आजित भइसक्यौं,’ उपाध्यक्ष हिराचनले भने ।
मुस्ताङको थासाङस्थित कुञ्जो, ताक्लुङ, टिटी, झिप्रा देउराली, धम्पु, नाउरिकोट, सिर्कुङ र सौरुलगायत गाउँमा भालुको आतंकले बालीनालीमा क्षति पु¥याउने गरेको छ । थासाङमा भालुको आतंक रोक्न केही वर्षअघि ओम विकास तथा देउकुमारी फाउन्डेसनको पहलमा महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रबाट भालु धपाउने यन्त्र व्यवस्थापन गरिएको थियो । उक्त उपरकण पछिल्लो समय प्रभावकारी बन्न नसकेको उपाध्यक्ष सोमल हिराचनले सुनाए । ‘भालुको आतंक कम गर्न यन्त्र उपकरणको व्यवस्थापन गरिएको थियो, उपाध्यक्ष हिराचनले भने, ‘सुरुमा केही दिन त काम गरेको जस्तो देखिएको थियो तर, भालुले वास्तविकता थाहा पाएर होला उपकरण चलाउँदा समेत दुख दिन भने छाडेन ।’
राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना, इलाका सरक्षण कार्यालय जोमसोमले थासाङका भालु पीडित किसान घरधुरीलाई क्षति राहत वितरण गरेको छ । कार्यालयले चालु वर्षको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गतको बजेटमा थासाङका भालु पीडित किसान घरधुरीलाई क्षति राहत वितरण गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए । उनका अनुसार थासाङका १,२ र ३ नम्बर वडाका ७१ कृषक घरधुरीलाई वन्यजन्तु क्षति राहत वितरण गरिएको हो ।
यसअघि भालु आतंकले पीडित बनेका किसानले क्षति राहतका लागि एक्याप कार्यालयमा निवेदन बुझाएका थिए । सोही निवेदनका आधारमा क्षति मूल्यांकन गरी पीडित कृषक घरधुरीलाई क्षति राहत वितरण गरिएको कार्यालय प्रमुख रेग्मीको भनाई छ । उनले भालुले क्षति पुर्याउने गरेको कतिपय स्थानमा एक्यापको सहयोगमा विद्युतीय तारबार लगाउन सहयोग पुर्याएको बताए ।
एक्यापले दिएको जानकारी अनुसार छयोमा १६, झिप्रा देउरालीमा २२, कुञ्जोमा १०, ताक्लुङमा ४ र टिटीमा ८ घरधुरी गरी ६० घरधुरीलाई १ लाख ४३ हजार रुपैयाँ क्षति राहत वितरण गरेको हो । एक्यापले क्षति बनाएको मकैको खोया मुल्यांकन गरी क्षति राहत उपलब्ध गराएको कार्यालय प्रमुख रेग्मीले प्रष्ट्याए ।
एक्यापले मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गर्न र सहअस्तित्व जर्गेनामा यसप्रकारको क्षति राहत वितरण कार्यक्रमले निकै ठुलो टेवा पुर्याउने अपेक्षा गरेको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया