जर्सीमा देखिएको हिउँको माया
खेलमार्फत जलवायु परिवर्तनको चेतना जगाउँदै पोखरा एभेन्जर्स


पोखरा । पोखरा र वरपरबाट देखिने आकास हुस्सु र कुहिरोले डम्म छ । हिमाल हेर्ने दाउ मिलाएर पोखरा आएका पर्यटक धित मरुञ्जेल रमाउन पाएका छैनन् । हिमाल हेर्नकै लागि डाँडा र थुम्का उक्लनेहरु पनि मन कुँड्याउदै फर्किन बाध्य छन् । मौसम खुलेर देखिएको हिमाल हिउँविहीन भएको स्थानीय र पर्यटक बताउँछन् । पोखराका स्थानीय खिम लामिछानेले केही दिनअघि माछापुच्छ्रे हिमालको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै लेख्छन्, ‘माछापुच्छ्रे हिमालमा हिउँ छैन, ग्लोबल वार्मिङले होला ।’
लामिछाने जस्तै अरुले पनि जलवायु परिवर्तनले जाडोमा हुस्सु र कुहिरो अनि गार्मीमा तुवाँलोले आकास डम्म हुँदा हिमाल देख्न गाह्रो भएको बताउँदै आएका छन् । सँगै आकलझुकल हिउँ बिनाको हिमाल देखिने तर्क सबैको हुन्छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरूको सम्मेलन (कोप)मा पनि यो विषय उठान हुँदै आएको छ ।
विश्वले नै उठान गरिरहेको विषयमा नेपाली पनि सजग छन् । नेपालमा विद्युतीय सामाग्रीसँगै सवारीको प्रयोगदर बढिरहको छ । जलवायु परिवर्तनको असरबाट बच्नका लागि नेपालीहरुले आ–आफ्नो स्थानबाट योगदान पुर्याइरहेका छन् । यसैमा थपिएको छ, पोखरा एभेन्जर्सको टिम ।
एभेन्जर्स मंसिर १५ देखि नेपालमा सुरु भएको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा सहभागी टिम हो । मंगलबार उसले आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग हार बेहो¥यो । बिहीबार जनकपुरको खेलमा पनि हार्यो । शुक्रबार लुम्बिनीसँग जित्यो । केही क्रिकेट समर्थकले पोखराको हार र जितभन्दा पनि जर्सीतर्फ नजर डुलाए । उनीहरुको जर्सीमा लेखिएको छ, ‘ग्लासियर्स म्याटर’ ।
पोखराले लगाएको आफ्नो जर्सीमा कुनै पनि प्रायोजकको लोगो वा स्पोनसरको नाम थिएन । अरु टिमको जर्सीमा स्पोन्सरहरुको लोगो हुने तर पोखरामा केही नभएकोमा धेरैको प्रश्न थियो । यस बारेमा पोखरा एभेन्जर्स टिमले बुधबार विज्ञप्ती जारी गर्दै स्पष्ट पारेको छ ।
जलवायु परिवर्तनको चेतनालाई मुख्य प्राथमिकतामा राख्दै स्पोन्सरको लोगो नराखेको र ग्लासियर्स म्याटर लेखेको पोखरा एभेन्जर्सले जनाएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘जर्सीमा आफ्नो लोगो राख्न दर्जनौं स्पोन्सरहरु सम्पर्कमा आइरहँदा पनि हामीले जलवायु परिवर्तनको चेतनालाई नै प्राथमिकतामा राख्यौं । त्यसैले जर्सीको अगाडि अरुको विज्ञापन राखेनौं, बरु लेख्यौँ, ‘ग्लासियर्स म्याटर’ अर्थात् हिमनदीहरु महत्वपूर्ण छन् ।’
खेलमार्फत जलवायु परिवर्तनको चेतना जगाउनुलाई महत्वपूर्ण ठान्दै ग्लोबल वार्मिङको विषयलाई प्राथमिकतामा राखेका पोखरा एभेन्जर्सका प्रबन्ध निर्देशक मनोबल श्रेष्ठले बताए । ‘हामीले क्लाइमेट चेन्जको मुद्दालाई उठाइरहेका छौं । यो विषयलाई विश्वव्यापी रुपमै उठाउनुपर्छ पर्छ भन्ने हो,’ उनले भने, ‘त्यसैले हाम्रो जर्सीमा कुनै पनि स्पोन्सरहरु नराखी ग्लासियर्स म्याटरलाई नै प्राथमिकतामा राखिएको हो ।’
‘जर्मनवाच’ नामक अन्तर्राष्ट्रिय संस्थाले सन् २०११ मा गरेको दीर्घकालीन जलवायु जोखिम सूचकांक (२०००–२०१९) को अध्ययनअनुसार नेपाल जलवायु परिवर्तनका दृष्टिकोणबाट उच्च जोखिम भएका मुलुकमध्ये १०औँ स्थानमा परेका छ । यसकारण पनि पनि आफूहरुले यसमा योगदान दिन लागेको एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले बताए ।
सुरुआतदेखि नै पोखरा एभेन्जर्सले खेलमार्फत जलवायु परिवर्तनको चेतना जगाउनुलाई महत्वपूर्ण ठानेको विज्ञप्तिमार्फत अध्यक्ष त्रिपाठीले भनेका छन्, ‘यही कारण ग्लोबल वार्मिङको विषयलाई लिएर हामीले आफ्नो जर्सी समुद्र सतहभन्दा झन्डै ४ हजार उचाइमा रहेको लोमान्थाङमा पुगेर अनावरण ग¥यौं । विभिन्न हिमालहरुमा पुगेर झन्डा फहरायौं । गण्डकी र पोखराको मेरुदण्ड पर्यटन भएको र हामी गण्डकीलाई प्रतिनिधित्व गर्ने टिम भएको कारण त्यहाँको अर्थतन्त्रमा टेवा पु¥याउन पर्यटन प्रवद्धन गर्ने हेतुले पोखरालाई ‘पियोर एस प्याराडाइज’ अर्थात् स्वर्गजस्तै पवित्र भनेर ट्यागलाइन नै दिएका छौं ।’
लोमान्थाङमा जर्सी अनावरणका क्रममा पोखराका ब्राण्ड एम्बेस्डर सन्दीप क्षेत्रीले पर्यटनका लागि यो कार्यक्रमले सकारात्मक असर पार्ने बताएका थिए । उनले भनेका थिए, ‘लोमान्थाङमा जर्सी अनावरण गर्नु पर्यटनका लागि निकै राम्रो हो । जलवायु परिवर्तन र दिगो विकासलाई एकसाथ जोडिनु मेरो लागि गर्वको विषय हो ।’
सोही कार्यक्रममा १४ वटा हिमाल आरोहण गरेका निमा तेन्जिङ शेर्पाले पर्यटन र क्रिकेट एकअर्काको परिपूरक भएको उल्लेख गर्दै जलवायु परिवर्तनलाई ध्यानमा राख्दै सहयोग गर्न सबैलाई आह्वान गरेका थिए ।

धनबहादुर गुरुङ
डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया