जग्गा प्राप्ति नहुँदा रोकियो लेखनाथमा यातायात कार्यालय खोल्ने काम

सञ्जय रानाभाट २०८१ मंसिर २३ गते ५:५३

पोखरा । यातायात व्यवस्था कार्यालय पोखरामा भीडभाडमात्र होइन, सवारी जामले थामिसक्नु छैन । पृथ्वीचोकबाट सय मिटर पूर्व लाइन्सेन्स र सवारीका दुवै थरी यातायात कार्यालय ५० मिटरको दूरीमा छन् ।

Advertisement

साँघुरो बाटो, पार्किङ समस्या र यात्रुको चापले यी दुवै कार्यालयको चाप बढ्न थालेपछि गण्डकी प्रदेश सरकारको वैशाख २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लेखनाथमा अर्को यातायात व्यवस्था कार्यालय खोल्ने निर्णय गर्‍यो ।

अघिल्लो आर्थिक वर्षमै यातायात व्यवस्था कार्यालयले खोल्न मन्त्रिपरिषद्ले निर्णय गरे पनि अझै लेखनाथमा यातायात व्यवस्था कार्यालय खुल्न सकेको छैन । मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते नै यातायात व्यवस्था कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृतसमेत गरेको थियो ।

त्यसमा कति कर्मचारी रहने, कस्तो मोडालिटीमा सञ्चालन गर्ने लगायत विषय त्यो सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले दरबन्दी स्वीकृत भएपछि काम तुरुन्त सुरु गर्न सकिने भनेको थियो । तर, चालु आर्थिक वर्षको समय आधा बित्दा पनि लेखनाथमा कार्यालय खुल्न सकेको छैन । यातायात व्यवस्था कार्यालयका कर्मचारी पनि कार्यालय खुल्नेबारे आफूहरुलाई थाहा नभएको सुनाए ।

लेखनाथमा यातायात व्यवस्था कार्यालय खोल्न साढे १ करोड रुपैयाँ विनियोजित छ

Advertisement

प्रदेश सरकारले लेखनाथमा यातायात व्यवस्था कार्यालय खोल्न चालु आर्थिक वर्षमा साढे १ करोड बजेट विनियोजनसमेत गरेको छ । सरकारले विनियोजन गरेको बजेटले सुरुआती वर्ष कर्मचारीलाई तलबभत्ता खाजा खर्च भनेर प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।

प्रतिवेदनले कर्मचारी दरबन्दी भएपछि लेखनाथ यातायात व्यवस्था कार्यालयमा तुरुन्त काम सुरु गर्न सकिने राय पेस गरेको थियो । त्यसका लागि सर्वेक्षण टोलीले सुरुआती चरणमा कर्मचारीको दरबन्दीसमेत तोकेको छ ।

‘जग्गा प्राप्ति नहुँदा रोकियो’
प्रदेश सरकारले पृथ्वीराजमार्गको नाममा रहेको पोखरा महानगरपालिका वडा नम्बर ३२ स्थित लेखनाथ ट्राफिक कार्यालय नजिकैको जग्गामा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

राजमार्गको ४० रोपनी जग्गामध्ये प्रदेश सरकारले ३० रोपनी जग्गा प्राप्तिका लागि संघीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयमा फाइल पुर्‍याएको छ । प्रदेश सरकारले त्यहाँ रहेको सरकारी विद्यालय र आमा समूहको भवन खाली गराएर तत्काल यातायात कार्यालय स्थापना गर्ने प्रदेश सरकार निर्णय नै गरेको छ । आवश्यक कर्मचारीसमेत प्रदेश सरकारले स्वीकृत गरेको छ ।

प्रदेश सरकारले साउनमै १३ जना आंशिक कर्मचारी स्वीकृत गरिसकेको भौतिक पूर्वाधार मन्त्रालयका शाखा अधिकृत अनील सुवेदीले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले यस वर्ष नै यहाँ कार्यालयबाट सेवा प्रवाह गर्ने गरी कर्मचारीको दरबन्दी स्वीकृत गरेको जानकारी दिए । ‘संघीय सरकारको भौतिक पूर्वाधार कार्यालयमा फाइल पुगेको छ । यहाँबाट पास हुने वित्तिकै यहाँ कार्यालय स्थापना गर्न समस्या छैन । प्रदेश सरकारको नाममा जग्गा आएपछि काम सुरु हुन्छ,’ उनले भने ।

यातायात व्यवस्था कार्यालय स्थापना गर्न यहाँ रहेको विद्यालय र आमा समूहलाई सार्ने निर्णय समेत भएको छ । ‘आमा समूह पनि सहमत भइसक्यो । वडाले सिफारिस नै गरिसक्यो । त्यहाँ रहेको सरकारी स्कुललाई पनि अन्त कतै मर्ज गरेर त्यहाँ कार्यालय स्थापना गर्ने भन्ने छ,’ सुवेदीले भने ।

लेखनाथमा यातायात कार्यालय लाइसेन्स र यातायात कार्यालय सवारी दुवै कार्यालय रहनेछन् । अर्को वर्ष भौतिक पूर्वाधारलाई व्यवस्थित गर्नेगरी बजेट विनियोजन गर्ने गण्डकी प्रदेश सरकारको तयारी छ । ‘लेखनाथमा यातायात व्यवस्था कार्यालय हुँदा यहाँको जनसंख्यालाई त्यहाँ नै रोक्न सकियो । तनहुँ लमजुङ र समग्र लेखनाथवासीलाई पनि पोखरा आइरहनुपर्दैन,’ यातायात व्यवस्था कार्यालयका कर्मचारीले भने, ‘पोखराको पृथ्वीचोकमा अहिले जुन भिड भएको छ । त्यो पनि घट्छ । समग्रमा कार्यालय स्थापना अत्यावश्यक छ ।’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया