पर्वतीय संग्रहालयमा महोत्सव सुरु
पोखरा । पोखरामा नवौँ संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु भएको छ । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा आयोजित महोत्सव आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुरुआत गरे ।
उनले पर्वतीय संग्रहालय पर्वतीय क्षेत्रबारे जानकारी लिन चाहने सबैका लागि पाठशाला भएको बताए । संग्रहालयले गण्डकी प्रदेशसहित नेपालको पहिचान झल्काउने भन्दै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपाललाई परिचित गराउने काम गरेको जनाए ।
जलवायु परिवर्तनका कारण पर्वतीय पर्यटनका असर परिरहेको मुख्यमन्त्री पाण्डेको भनाइ छ । गण्डकी प्रदेशभित्र रहेका पर्वतीय पर्यटन क्षेत्रको प्रवर्द्धन र पर्यटकको लागि आकर्षण थप्न गण्डकी प्रदेश सरकारले काम गरिरहेको उनको दाबी छ । नगरेको गल्तिको सजाय भोग्नु परेको भन्दै उनले हिमालमा हिउँ नदेखिनु चिन्ताको विषय भएको सुनाए ।
मंसिर २७ गतेसम्म चल्ने महोत्सव अवलोकन निःशुल्क रुपमा गर्न पाइने अन्तर्राष्ट्रिय पर्वतीय संहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपाने बताउँछिन् । महोत्सवमा नेपालका हिमाली क्षेत्रका परेका परिवर्तनका असरलाई महत्वका साथ उठान गरिनेछ । हिमाली क्षेत्रमा जनजीवन असहज भइरहेकाले त्यसलाई कसरी सहज बनाउदै जलवायु परिवर्तन हुने खालका गतिविधिलाई नियन्त्रण गर्दै जनजीवनलाई सहजीकरण गर्ने भन्ने विषयमा बौद्धिक खालको अन्तरक्रिया हुने उनले सुनाइन् ।
नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा महोत्सवको आयोजना गरेका हुन् । पहिलो दिन पर्वतीय जीवन, अनुकूलन र भविष्यबारे अन्तरक्रिया कार्यक्रम र स्थानान्तरण भइरहने चराहरू सम्बन्धी जनचेतनामूलक नाटक प्रदर्शनसमेत भएको थियो ।
नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका संग्रहालय संयोजक ठाकुरराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद सरस्वती गुरुङ, गण्डकीका प्रमुख सचिव रघुराम विष्ट, संघका प्रमुख सल्लाहकार आङछिरिङ शेर्पा, कृषि मन्त्रालयका सचिव डा टंकप्रसाद प्रसाई, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, सुलभ इन्टरनेसनलका, एफएओकी जलवायु परिवर्तन विज्ञ डा सालु अधिकारी, डब्लुडब्लुएफ नेपालका प्रतिनिधि राजेन्द्र सुवाल, सुलभ इन्टरनेसनलका डा सुतीर्थ सहरियाच लगायतले बोलेका थिए ।
दोस्रो दिन पर्वतीय पर्यटनका सम्भावना र अवसरबारे विज्ञहरूले आफ्नो अभिमत राख्नेछन् । तेस्रो दिन डिसेम्बर ११ मा पहाडी क्षेत्रमा शौचालयको महत्वबारे सरोकारवालाको सहभागितामा अन्तरक्रिया हुनेछ । महोत्सवको चौथो दिन अनुभवी पर्वतारोहीसँग पर्वतारोहणका रोमाञ्चक क्षण, तयारी, दुःख र भावी सम्भावनाबारे छलफल हुनेछ । अन्तिम दिन अन्नपूर्ण क्षेत्रमा जलवायु परिवर्तनका असरबारे विमर्श गरिनेछ । यसका अलावा संग्रहालय परिसरमा आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङ पनि महोत्सवका आकर्षण हुन् ।
तपाईको प्रतिक्रिया