जैमिनीमा सहकारीबारे अभिमुखीकरण

पोखरा । सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीको आयोजनामा बागलुङको जैमिनी नगरपालिकाको कुश्मीसेरामा सहकारिता, सहकारी ऐन, नियम तथा समसामयिक विषयकमा आइतबार अभिमुखीकरण कार्यक्रम भएको छ । जिल्ला सहकारी संघ, बागलुङ र जैमिनी नगरपालिकाको समन्वयमा कार्यक्रम भएको हो ।
कार्यक्रममा सहकारी कानुन तथा सहकारी संस्थाले गर्नुपर्ने कानुनी परिपालना, सम्पत्ति शुद्धिकरण निवारण, गण्डकी प्रदेशमा सहकारीको तथ्यांकीय अवस्था र कोपोमिस प्रणाली तथा बागलुङ जिल्लामा सहकारीको स्थिति, सहकारीका समस्या, समाधानका उपायहरू विषयक कार्यपत्र प्रस्तुत गरिए । कार्यक्रममा नगर उपप्रमुख हरिहर शर्माले मान्छेको जीवन बदल्न सक्ने सामर्थ सहकारीसँग रहेको जनाए ।
उनले अन्तरक्रियाबाट सिकाइ आदानप्रदान भएको र जैमिनी नगरपालिका नियमन क्षेत्राधिकार भित्रका सहकारी सुदृढीकरण एवं कर्मचारीको क्षमता अभिवृद्धिका लागि लागिपर्ने प्रतिबद्धता जनाए । कार्यपत्र प्रस्तोताहरूले सहकारी संस्था, सञ्चालक र सेयर सदस्यका काम, कर्तव्य र दायित्वबारे प्रकाश पारे । सदस्य हित, सदस्य सहभागिता, वित्तीय सुशासन एवं संस्थागत अनुशासनमा जोड दिई वर्तमान परिवेशमा सहकारी शुद्धीकरणमा लाग्नुपर्नेमा उनीहरुको जोड छ ।
सहकारी रजिस्ट्रार भेषराज रिजालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका सचिव तेजराज शर्मा, सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकीका शाखा अधिकृत ईश्वरी ढकाल, जैमिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज आचार्य, जिल्ला सहकारी संघ, बागलुङ अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु), जिल्ला सहकारी संघ बागलुङका सचिव तेजराज शर्मा र व्यवस्थापक सिर्जना शर्मा लगायतले बोलेका थिए । कार्यक्रममा बागलुङका बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका विभिन्न सहकारीका सञ्चालक, लेखा सुपरीवेक्षण समिति सदस्य र व्यवस्थापक गरी ६५ जना सहभागी थिए ।
तपाईको प्रतिक्रिया