सम्पादकीय—एनपिएलको योगदान

समाधान संवाददाता २०८१ मंसिर २६ गते १०:४७

नेपालमा अहिले नेपाल प्रिमियर लिग क्रिकेट चलिरहेको छ । थुप्रै नेपालीको ध्यान अहिले यही खेलमा छ । प्राय राजनीतिक गतिविधिले छोप्ने बजारलाई खेलकुदले उछिनेको छ । यसै पनि खेल मनोरञ्जनमात्रै होइन समुदायलाई जोड्ने कडी हो । नेपाली राष्ट्रियता बलियो बनाउने मामलामा पनि खेलकुदले ठूलो योगदान गरेको छ । त्यसमाथि अहिलेसम्मकै सबैभन्दा ठूलो क्रिकेट कुम्भ हुनुले धेरै नेपालीलाई सकारात्मक आशातिर डोर्‍याएको भान हुन्छ र यस्तो बेला यो आशाउन्मुख आभास आएको छ, जति बेला नेपालभरि एककिसिमको निराशा र आक्रोश छ । नेपालीलाई खुसी हुने कुनै बहाना नभेटिएको बेला मंसिर १७ देखि पुससम्मको यो प्रतियोगिताले एउटा खुसी पक्कै दिएको छ । देशमा व्याप्त निराशा बिर्सने मौका जो मिलेको छ ।

Advertisement


एनपिएलमा देशका ८ वटा फ्रेन्चाइज क्लबमा नेपालमा राष्ट्रिय रुममा उम्दा खेलाडी त छँदै छन्, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त क्रिकेटरहरुको पनि आगमन छ । तिनहरु पनि आएर नेपालको क्रिकेट पिचमा खेल्नु राष्ट्रकै लागि पनि ठूलो उपलब्धि हो । क्रिकेटका लागि पनि अहिलेसम्मको उल्लेखनीय कर्म गर्न नेपाल क्रिकेट संघ सफल भएको मान्नुपर्छ । अन्तर्राष्ट्रिय खेलाडीहरुसँग नेपाली खेलाडीले पिच साझा गर्न पाएका छन् । त्यसबाट उनीहरुको खेल कौशल थप निखारिने छ ।


अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागितामूलक खेल अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलबाट प्रसारित भएको छ । त्यसले नेपाललाई अन्तर्राष्ट्रिय क्षतिजमा पुर्‍याएको छ । नेपाल र यहाँको क्रिकेटमात्रै होइन पर्यटन पनि प्रचारित भएको छ । ठूलो धनराशि खर्चिएर भएको प्रतियोगिताले अर्थतन्त्रलाई पनि केही न केही चलायमान बनाउन आफ्नो ठाउँबाट योगदान गरेकै छ, पर्यटन प्रवद्र्धनमा पनि भूमिका निर्वाह गरेर गुन लगाएको छ । तसर्थ एनपिएलको योगदान क्रिकेट अर्थात खेल क्षेत्रमा मात्रै नभई पर्यटन लगायतमा पनि छ । देशमा एउटा खुसी छाउने प्रतियोगिता आयोजना भएर यसले राष्ट्रिय राजनीतिमा पनि योगदान पुर्‍याएको छ ।

Advertisement

दलीय राजनीतिबाट नजर हटाएर नेपालीले खेलकुदमा नेपाल देख्न पाएका छन् । आशाका तरंग महसुस गर्न पाएका छन् । यो सन्दर्भमा सरकारले खेलकुद जगतलाई हेर्ने नजरिया फेर्नुपर्छ र क्रिकेट लगायत खेलकुद क्षेत्रमा थप पूर्वाधार विकास गर्नुपर्छ । त्यसो त त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको क्रिकेट मैदानलाई थोरै भए पनि स्तरोन्नति गरिएको छ । तर वर्तमान सरकारले नेतृत्वले भने अनुसारको प्रतिवद्धता बमोजिम यो मैदानको थप सुदृढीकरण जरुरी छ । देशका अरु भागमा पनि यस्ता पूर्वाधार तयार गर्नुपर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया