वीरगञ्जमा बयान सकेर रविलाई पोखरा ल्याइयो, बिहीबार अदालत पेस गरिँदै

समाधान संवाददाता २०८१ मंसिर २६ गते २०:३४
फाइल तस्बिर

पोखरा । पर्साको वीरगन्जस्थित सानो पाइला सहकारी ठगी प्रकरणमा बयान सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा ल्याइएको छ । पर्सा जिल्ला प्रहरीको हिरासतमा रहेका लामिछानेलाई काठमाडौँ हुँदै विमानमा पोखरा ल्याइएको कास्की प्रहरीका प्रवक्ता डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए । लामिछानेलाई बाराको सिमराबाट काठमाडौँ हुँदै पोखरा ल्याइएको हो ।
पर्सा प्रहरीले मंगलबार जिल्ला सरकारी वकिल कार्यालय लामिछानेसँग बयान लिएको थियो । वीरगन्जको सानो पाइला सहकारी ठगी अनुसन्धानका लागि रविलाई सोमबार पोखराबाट विमानमा काठमाडौँ हुँदै वीरगन्ज लगिएको थियो ।

Advertisement

लामिछानेविरुद्ध ५ वटा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान चलिरहेको छ । उनलाई प्रहरीले हिरासतमा राख्ने म्याद थपका लागि बिहीबार अदालत पेस गर्दै छ । कास्की प्रहरीका डिएसपी शर्माले बिहीबार लामिछानेलाई म्याद थपका लागि अदालत पेस गरिने जानकारी दिए । लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख दीपक थापाका अनुसार, सबैतिर बयान सकिएसँगै प्रहरीले लामिछाने जोडिएको संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको अनुसन्धान लगभग अन्तिम चरणतिर पु¥याएको छ ।

पूर्वडिआइजीसमेत रहेका छविलाल बन्जाडे जोशीलाई मंगलबार नै पोखरा फर्काइएको छ । उनको बयान सोमबार लिइएको थियो । रविका व्यावसायिक साझेदारसमेत रहेका बन्जाडेलाई आइतबार बेलुका पोखराबाट स्थलमार्ग हुँदै वीरगन्ज लगिएको थियो । जिल्ला अदालते यसअघि ४ दिन म्याद थप गरेको थियो । लामिछाने कात्तिक २ गते रास्वपाको केन्द्रीय कार्यालय, काठमाडौँबाट पक्राउ परेका हुन् । उनलाई सोही राति पोखरा ल्याइएको थियो । यसबीचमा उनलाई बुटवल, काठमाडौँ र चितवनका सरकारी वकिलसमक्ष उपस्थित गराएर पनि प्रहरीले बयान लिइसकेको छ ।

पोखरामा रास्वपाको प्रदर्शन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार पनि कास्कीको पोखरामा प्रदर्शन गरेको छ । पोखराको पृथ्वीचोकबाट महेन्द्रपुलसम्म कार्यकर्ताले प्रर्दशन गरेको थिए । वीरगन्जको साना पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाबारे बयान सकाएर प्रहरीले पोखरा ल्याउनेक्रममा कार्यकर्ता पोखरामा नाराजुलुस गरेका थिए । ‘मानव अधिकार कायम गर, मानव अधिकार उल्लंघन गर्न पाइँदैन, आइजिपीलाई अनुसन्धान गर, भ्रष्ट सरकार मुर्दावाद, सहकारी पीडितलाई न्याय दे’ लगायत नाराहरू लगाइरहेका छन् । लामिछानेमाथि सुरुमा ६ दिन, त्यसपछि ७ दिन, १० दिन र १३, १५ दिन र ४ दिन म्याद थप गरी अनुसन्धान गरिएको हो ।

Advertisement

लामिछाने, जोशी र जिबी राईले ५ वटा सहकारीको रकम अवैधानिक रुपमा गोरखा मिडियामा लगेर अपचलन गरेको आरोप छ । सूर्यदर्शनमा १ अर्ब ३५ करोड हिनामिना भएको छ । सहकारीसम्बन्धी संसदीय छानबिन समितिले देशैभर सहकारी खोली गीतेन्द्रबाबु (जिबी) राईको समूहले योजनाबद्ध ठगी गरेको औंल्याएको छ । जिबी अध्यक्ष, लामिछाने प्रबन्ध निर्देशक र जोशी उपाध्यक्ष रहेको गोरखा मिडिया प्रालिबाट रविले २ वर्षमै २ वर्षमा १ करोड ४ लाख पारिश्रमिक लिएको प्रतिवेदनमा उल्लेख छ । प्रहरीले पटकपटक गरी सूर्यदर्शन सहकारी प्रकरणमा ४४ जनालाई पक्राउ पुर्जी जारी भएकोमा ३ जना पुर्पक्षका लागि थुनामा छन् ।

तपाईको प्रतिक्रिया