शिक्षक, विद्यार्थीलाई खेल पोसाक
पोखरा । हुमनाथ ढकाल स्मृति प्रतिष्ठान शुक्लागण्डकी १ तनहुँले बुधबार कास्कीको अन्नपूर्ण ९ तीखेढुंगाको भगवती माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई निशुल्क खेल पोसाक वितरण गरेको छ ।
कोरियन नागरिक कु ह्युन किम र उनका साथीहरुको सहयोगमा प्रतिष्ठानले विद्यालयमा अध्ययनरत १ सय १५ विद्यार्थी र १९ शिक्षकलाई खेल पोसाक दिएको हो । हरेक शिक्षक र विद्यार्थीलाई एक सेट ट्रयाक सुट र एउटा टिसर्ट वितरण गरिएको छ ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले कुनै पनि बहानामा शैक्षिक प्रगति रोकिनु नहुनेमा जोड दिए । ‘बिहानको चिसोमा थरथर काम्दै आएका विद्यार्थीले कक्षामा उत्कृष्ट सिकाई नगर्न सक्छ भन्ने कुरा प्रतिष्ठानले महसुस गरी यो न्यानो पोषाक वितरण गरेको छ, जुन प्रसंसायोग्य छ,’ उनले भने ।
प्रतिष्ठानका संरक्षक तीर्थराज ढकालले प्रतिष्ठानले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न हरतरहका कार्य गर्दै आएको र भविष्यमा सहयोग गर्न तयार रहेको बताए । उनले भने, ‘राज्यले एकसेट पुस्तक र दुइ, चार सय छात्रवृत्ति दिँदैमा पूर्ण निशुल्क शिक्षा दिएको भन्न मिल्दैन । हाम्रो समुदायमा अझै पनि झोला र कापी किन्न नसक्ने विद्यार्थीको संख्या उच्च छ ।’
प्रतिष्ठानले एक महिना पहिले पनि कोरियन र अमेरिकन दाताको सहयोगमा सोही विद्यालयका १० जेहन्दार विद्यार्थीलाई एक÷एक बाख्रा वितरण गरेको थियो । प्रतिष्ठानका अध्यक्ष प्रेमनारायण ढकालको अध्यक्षतामा भएको कार्यक्रममा अन्नपूर्ण वडा ९ का अध्यक्ष रमेश गुरुङ, विद्यालयका प्रधानाध्यापक चन्द्रकुमारी गुरुङ, विद्यार्थी अस्मीता विक, शिक्षक कीर्तिराज ढकाल लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया