सम्पादकीय—सामाजिक सञ्जालमा हेक्का राख्नुपर्ने कुरा
आजकल सामाजिक सञ्जाल मानिसहरूको जीवनको अभिन्न हिस्सा बनिसकेको छ । फेसबुक, इन्स्टाग्राम, ट्विटर, टिकटकजस्ता प्लेटफर्महरुले हाम्रा विचार, भावना र व्यक्तिगत अनुभव साझा गर्ने प्रमुख साधनको रुपमा छ । मानिसहरूले अहिले राम्रा पक्षभन्दा पनि आफ्नो निजी जीवनका पाटाहरु सार्वजनिक गर्ने प्रवृत्ति बढेको छ । जसका कारण सामाजिक र मानसिक समस्याहरु निम्तिएका छन् । विशेषगरी व्यक्तिगत आरोपप्रत्यारोप सार्वजनिक गर्दा आउने समस्याहरु अहिलेको समयमा गम्भीर चिन्ताको विषय हो ।
व्यक्तिगत जानकारी सामाजिक सञ्जालमा सार्वजनिक गर्दा हामीले आफ्नै जासुसी आफैले गरेर अरुका सामु पस्किरहेका हुन्छौं भन्ने हेक्का कमैले राखेका हुन्छन् । को कहाँ गएको र के गरिरहेको छ भन्ने थाहा पाउन खोज्ने र त्यसको फाइदा उठाउन खोज्नेहरु हुन्छन् भनेर सतर्क रहनुपर्छ । परिवारै बाहिर छौं भनेर जानकारी सार्वजनिक गर्दा कतिपयको घरमा कोही रहेनछन् भनेर चोरीका घटना पनि भएका छन् । सामाजिक सञ्जालमा व्यक्तिगत र निजी सम्बन्धका उतारचढाव वा अरु व्यक्तिगत मामला सार्वजनिक गर्दा आलोचना र टिप्पणीको सामना गर्नुपर्छ । यस्ता कार्यबाट विशेष गरी बच्चा बढी प्रभावित भएका छन् । जसले भविष्यमा उनीहरुको मानसिक स्वास्थ्यलाई नकरात्मक असर पुर्याउन सक्छ ।
सामाजिक सञ्जालमा आफ्ना सूचना सार्वजनिक गर्दा अर्काे पक्षले फाइदा लिन सक्छन् । बाहिरी मानिसले भित्री कुरा नबुझी वा परिस्थितिको सत्यता नबुझी अनावश्यक विवाद उत्पन्न गराउन सक्छन् । बाहिरी मान्छेलाई पनि अरुकै चासो हुन्छ । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका निजी मामलाले दीर्घकालीन असर पुर्याउन सक्छ । सामाजिक सञ्जाल प्रयोग गर्दा गोपनीयता र सबैको इज्जतको ख्याल राख्नुपर्छ । व्यक्तिगत र पारिवारिक मामिलाहरुलाई छताछुल्ल पोख्नु आफैमा पनि राम्रो होइन भने सामाजिक सञ्जालमा सार्वजनिक गर्नु कुनै पनि हिसाबले ठिक होइन ।
सँगसँगै सामाजिक सञ्जालमा आउने नकारात्मक सूचना र झुठा समाचार पनि पत्याइहाल्नु हुँदैन । सामाजिक सञ्जालमा आउने सबै जानकारी समाचार हुँदैनन् भन्ने बुझ्नुपर्छ । आधिकारिक मिडियामा आएका समाचारलाई मात्रै पत्याउनुपर्छ । र, जथाभावी कुनै पनि सामग्री सेयर गर्नु हुँदैन । सामाजिक सञ्जाल चलाउँदा होस् पुर्याइएन भने साइबर अपराध सम्बन्धी मुद्दा पनि लाग्न सक्छ । तसर्थ सामाजिक सञ्जाललाई मित्रता बढाउने, ज्ञान बढाउने र बाँड्ने मञ्चका रुपमा प्रयोग गर्नुपर्छ ।
तपाईको प्रतिक्रिया