लेकसाइडमा खुल्यो माक्कुसे
पोखरा ।
नेपाली स्थानीय मिठाइ र परिकारलाई प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा लेकसाइडमा बिहीबारदेखि माक्कुसे सञ्चालनमा आएको छ । ८० लाख लगानीमा आयुष्मा श्रेष्ठले माक्कुसे स्टोर सञ्चालन गरेकी हुन् ।
गण्डकी प्रदेशका सामाजिक तथा विकास मन्त्री विन्दुकुमार थापाले गुँदपाक, पुष्टकारीको महत्वलाई जोड दिँदै यसलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
मिठाईको गुणस्तरलाई विशेष प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । उच्च गुणस्तरीय सामग्रीको प्रयोगले मात्रै मिठाईको स्वाद र लोकप्रियता बढाउन सक्षम साथै गुणस्तर कायम राख्नाले उपभोक्ताहरूको विश्वास जित्न र स्थानीय मिठाईलाई दीर्घकालसम्म टिकाउन मद्दत पुग्ने उनको धारणा छ ।
‘नेपाली परिकारले परम्परा, स्वाद र पहिचानमात्रै जोगाइराख्ने होइन, नेपाली संस्कृति र सम्पदाको प्रतिनिधित्व गर्दै विश्व बजारमा पहिचान बनाउने ठूलो सम्भावना बोकेका छन् ।’ थापाले भने ।
माक्कुसे नेवारी शब्द हो जसको अर्थ मन भरिने स्वाद भनेर बुझिने माक्कुसे काठमाडौंकी सञ्चालक पूर्व मिस नेपाल अनुष्का श्रेष्ठले बताइन् । उनका अनुसार माक्कुसेले नेपाली मिठाईको परम्परागत स्वादलाई जोगाउन तथा आधुनिक पुस्तामा लोकप्रिय बनाउन काम गरिरहेको छ । माक्कुसेका उत्पादनहरू स्वस्थकर र पौष्टिक रहेको उनले जानकारी दिइन् ।
श्रेष्ठले भनिन्, ‘माक्कुसे हाम्रो परम्परा, संस्कार र स्वादको कथा हो । नेपाली स्वादलाई विश्वव्यापी बनाउन चाहन्छौं । नेपाली परिकार र स्थानीय संस्कृति संरक्षणको अभियानमा नयाँ आशा थप्ने प्रयास हो ।’
माक्कुसेकी सञ्चालक आयुष्माले नेवारी संस्कार र स्थानीय खानाका परिकारलाई जोगाउने प्रयास रहेको उल्लेख गरिन् । स्थानीय नेवारी मिठाईको महत्व र यसको सांस्कृतिक पहिचानलाई जोगाइराख्नेउनको उद्देश्य छ ।
स्वदेशी उत्पादन प्रवद्र्धन गर्ने प्रयास, मेहनत र नयाँ सोचले स्थानीय मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पहिचान बन्नेमा उनी विश्वस्त छिन् । देशमै केही गरेर संस्कृति, परम्परा, र पहिचानलाई प्रवद्र्धन गर्ने अठोट छ उनमा ।
‘केही नयाँ गर्ने सोच थियो यहि विश्वासले यो मार्गमा अघि बढ्न हौसला दिएको छ । उत्पादनमा वृद्धि गर्ने र गुणस्तरमा अझ बढि ध्यान दिएर विदेश निर्यात गर्ने योजना छ ।’ उनले भनिन् ।
माक्कुसेका उत्पादनहरू अनलाइन प्लेटफर्ममार्फत पनि किन्न सकिन्छ । यसले विदेशमा रहेका नेपालीहरूलाई पनि स्थानीय स्वादको अनुभव दिलाउने मौका दिएको छ । ब्रान्डले परम्परागत नेपाली स्वादलाई आधुनिक प्याकेजिङ र प्रिजेन्टेशनले स्थानीय र अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रभाव पारेको छ । आयुष्माको प्रयासले नेपाली संस्कृति र स्थानीय उत्पादनलाई विश्वव्यापी बनाउने लक्ष्य राखेको छ ।
तपाईको प्रतिक्रिया