स्वास्थ्य मन्त्रीका १०० दिन : क्याबिनेटमा ७ प्रस्ताव पठाउँदा ३ वटा अड्किए
पोखरा । गण्डकी प्रदेश सरकार गत भदौ १७ गते पुनर्गठन भयो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेका ४ जनालाई मन्त्री परिषदमा सामेल गराए । मर्यादाक्रममा तलमाथि भएको र प्रभावहीन मन्त्रालय दिएको भन्दै राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिए ।
सरकार टिकाउनकै भौतिक मन्त्री बनाइएका मनाङेलाई वन मन्त्रालय दिएपछि त्यसैदिन जिम्मेवारीबाट बाहिरिए । अहिले भने उनी फौजदारी मुद्दाका कारण नीलम्बनमा छन् ।
एमालेका चारै मन्त्रीको सय दिन कटेपछि धमाधम उपलब्धि सार्वजनिक गरिरहेका छन् । उनीहरु सबैले पहिलोटिक मन्त्रीको जिम्मा पाएका हुन् । नागरिकसँग सबैभन्दा बढी जोडिएको र सिधै सेवा प्रवाहसँग सम्बन्धित मन्त्रालय हो, स्वास्थ्य । यो मन्त्रालयको नेतृत्व सम्हालेका कृष्णप्रसाद पाठकले सय दिनको अवधिमा ३ पटक पत्रकार सम्मेलन गरे ।
जबकि यो अवधिमा मन्त्रिपरिषद्को ६ वटा बैठक बस्दासम्म सरकारका प्रवक्ताले निर्णयहरु सार्वजनिक गरेका छन् । वेबसाइटमा समेत निकै ढिलागरी अपलोड भएको छ । कात्तिक १२ गते बसेको मन्त्रिपरिषदको बैठकको निर्णय मंसिर २५ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको बेवसाइटमा राखिएको छ । त्यसो र मुख्यमन्त्री र मन्त्रीहरु उद्घाटन र शिलान्यासको दौडाहामा लाग्दा ३५ दिनसम्म मन्त्रिपरिषदको बैठक नै बस्न सकेन । मन्त्रालयहरुले एजेन्डा नदिने र पठाएका एजेन्डा पनि अर्थ मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै अड्किँदा कात्तिक १२ देखि मंसिर १७ को बिचमा मन्त्रिपरिषदको बैठक बस्न सकेन ।
स्वास्थ्यमन्त्री कृष्ण पाठकले बिहीबार मन्त्रालयमै गरेको पत्रकार भेटघाटमा मन्त्रिपरिषदको बैठक बस्ने नबस्ने विषय सरकार प्रमुखसँग सम्बन्धित भए पनि मन्त्रालयहरुले एजेन्डा पर्याप्त दिन नसकेको स्वीकार गरे । उनले आफ्नो मन्त्रालयले भने हालसम्म ७ वटा प्रस्ताव पठाएकामा ४ वटा पारित भएको बताए । बाँकी ३ वटा अर्थ मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रोकिएको जानकारी गराए । उनले भने, ‘मेरो मन्त्रालयका एजेन्डा रोकिएको विषयमा मैले गएको क्याबिनेटमा कुरा राख्दा, मुख्यमन्त्रीज्यूले निर्देशन दिइसक्नुभएको छ, अब अगाडि बढ्छन् कि ।’ कर्मचारीले यो वा त्यो वाहानामा काम अलमल गर्ने विषय सरकारलाई मान्य नहुने उनको भनाइ थियो ।
उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दैै प्रदेशको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आफू नियुक्त भएको दिनदेखि नै खटेको उनले बताए । बागलुङको बुर्तिबाङ र गोरखाको आँप पीपल अस्पताल प्रदेश सरकारमातहत आइसके पनि संघ सरकारले स्रोत व्यवस्थापन नगरिदिँदा असहज भएको उनको भनाइ थियो । ती अस्पतालमा कर्मचारी व्यवस्थापनका लागि संगठन तथा व्यवस्थापन सर्भे अब छिटै गरिने जानकारी उनले गराए ।
पोखरार गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मुटु, मृगौला, क्यान्सर र बालरोग सेवासहितको विशिष्टिकृत प्रादेशिक अस्पताल आफ्नै पालामा सुरु गर्ने प्रतिबद्धता जनाए । यसका लागि आवस्यक जग्गा व्यवस्थापनको काम भइरहेको उनको भनाइ थियो । यससम्बन्धी प्रस्ताव प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेश गरिसकेको पनि उनले जनाए ।
मन्त्री पाठकले आफू नियुक्त भएको भएको २८ दिनमा १०० बुँदे कार्ययोजना सार्वजनिक गरेका थिए । प्रदेश मातहत रहेका सम्पूर्ण स्वास्थ्य संस्थाकोे अध्ययन, अवलोकन तथा निरीक्षण गरी स्वास्थ्य क्षेत्रमा के कस्ता समस्या, चुनौती र अवसर छन् भनी पहिचान गरेर त्यसैका आधारमा कार्ययोजना सार्वजनिक गरेको उनले बताए । उनले भने ‘विनियोजित बजेटलाई समेत ध्यानमा राखी अल्पकालीन ४०, मध्यकालीन ५० र दिर्घकालीन १० योजना बनाइ सोही अनुरुप कार्यान्वनमा लागेको छु, मन्त्रालयको नीतिगत, कानुनी र संरचनागत सुधारका लागि प्रतिबद्ध छु, उनले भने ।
मन्त्री पाठकले मन्त्रालय र अन्तर्गतका कार्यालयको बेरुजु फर्छाैटमा मसिनोसँग काम गरिरहेको र आफै फिल्डमा गएर बेरुजु घटाउने काममा लाग्ने बताए । ‘बेरुजु फछ्र्योटमा कुनै प्रकारको मोलाहिजा हँुदैन,’ उनले भने, ‘यसमा अप्रेसनै गरेर अघि बढ्ने हो । कसैलाई छाडिदैँन ।’ तर मन्त्रालयको प्रशासनिक नेतृत्वसँग सार्वजनिक लेखा समितिको बैठकमा भएको व्यवहारप्रति उनले असन्तुष्टि पोखे । ‘हाम्रो सचिवज्यूले केही काम नै नगरेको त होइन नि, लेखा समितिको बैठकमा जुन व्यवहार भयो, त्यो त्यति ठीक लागेन,’ उनले भने । प्रदेश सभाको सार्वजनिक लेखा समितिको बैठकमा स्वास्थ्य सचिव विनोदबिन्दु शर्माले दिएको प्रष्टीकरण चित्तबुझ्दो नभएको भन्दै लिखितरुपमै बुझाउन समितिले निर्देशन गरेको थियो ।
स्वास्थ्य मन्त्री पाठकले अब प्रदेश मातहतका सबै अस्पतालमा अस्पतालले फार्मेसी सञ्चालन गर्ने निर्णयको कडाइका साथ कार्यान्वयन गर्ने अठोट गरे । उनका अनुसार यसका लागि जनशक्ति व्यवस्थापन पनि भइसकेको छ । उनले अघि भने, ‘मैले मन्त्रालय मातहतका प्रादेशिक निकाय एवं जिल्लास्थित अस्पताल, स्वास्थ्य कार्यालय, आयुर्वेद स्वास्थ्य केन्द्रका साथै स्थानीय तह मातहत सञ्चालित स्वास्थ्य संस्थाहरुको स्थलगत अवलोकन भ्रमण गरी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिने र समस्याहरुको पहिचान गरी समाधानको लागि सहजीकरण गर्ने कार्य निरन्तर गरिरहेको छु ।
मन्त्री पाठकले सय दिनमा गरेका ६४ वटा उपलब्धि बुँदागत रुपमा सुनाए । उक्त अवसरमा सचिव विनोदबिन्दु शर्मा दातृ निकायहरुको सहयोग लिएर प्रावधिक जनशक्ति राखेर सेवा प्रवाहलाई चुस्त बनाउने काम भइरहेको बताए । स्वास्थ्य निर्देशनालयका महानिर्देशक डा. खिमबहादुर खड्का, मन्त्रालयको जनस्वास्वथ्य महाशाखा प्रमुख डा. रमेश केसीले प्रदेश मातहतका अस्पतालमा जनशक्ति व्यवस्थापन र सेवा प्रवाहमा पहिलाको तुलनामा निकै सुधार आएको बताए ।
तपाईको प्रतिक्रिया