गण्डकी प्रदेश सभा सदस्य सुनीता थापाको शपथ आज
पोखरा । गण्डकी प्रदेश सभामा समानुपातिक तर्फबाट सदस्यमा मनोनीत स्याङ्जाकी सुनीता थापाको शपथ आज शुक्रबार हुने भएको छ । प्रदेश सभा सदस्य विमला गौचनको निधन भएपछि खाली भएको पदमा बन्दसूचीमा रहेका नामबाट क्रम अनुसार नेपाली काग्रेसले सिफारिस गरेपछि निर्वाचन आयोगले उनी निर्वाचित भएको पत्र दिइसकेको छ ।
नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा आदिवासी/ जनजाति महिलामा म्याग्दीकी विमला गौचनको नाम १ नम्बरमा थियो । त्यसपछि क्रमश पर्वतकी रेखा गुरुङ, कास्कीकी सरस्वती गुरुङ र लमजुङकी पार्वती तामाङको नाम थियो । ४ नम्बरसम्मका उम्मेदवार प्रदेश सभामा निर्वाचित हुँदा पाँचौं नम्बरमा रहेकी सुनीता भने छुटेकी थिइन् ।
आज शुक्रबार दिउँसो साढे १ बजे प्रदेश सभा सचिवालायमा सभामुख कृष्णप्रसाद धितालले उनलाई शपथ गराउने भएका छन् । श्रवणशक्ति गुमेका कारण अरुले बोलेको सुनीताले सुन्न सक्दिनन् । गण्डकी प्रदेश सभामा अपांगता भएकाहरुका व्यक्तिहरुबाट अब सुनीताले नै प्रतिनिधित्व गर्ने भएकी छन् ।
योसँगै उनी प्रदेश सभाको सबैभन्दा कान्छी सदस्य समेत हुने भएकी छन् । स्याङ्जाको चापाकोटकी उनी २०४९ सालमा जन्मेकी हुन् । नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील उनी अपांगता भएकाहरुको अधिकारका लागि निरन्तर क्रियाशील छन् ।
सुनीताले कक्षा ७ मा पढ्ने बेलामा श्रवण शक्ति गुमाएकी हुन् । उनलाई बोल्न भने समस्या छैन । अरुले बोलेको कुरा नसुन्ने भएकाले दोभासे चाहिन्छ । अब प्रदेश सभामा सांकेतिक दोभाषे राख्नुपर्ने भएको छ । यसका लागि सदनमा धेरै आवाज उठे पनि अब आएर बल्ल कार्यान्वयन हुने भएको हो । टाइफाइडले बिरामी भएपछि उनले श्रवणशक्ति गुमाएकी हुन् । उनी शिक्षा शास्त्रमा स्नातक गरेकी छन् ।
तपाईको प्रतिक्रिया