आदर्श कप फुटबल प्रतियोगिता २०८१ को उपाधि एन्फा कास्कीलाई

समाधान संवाददाता २०८१ मंसिर २९ गते २०:३७

लेखनाथ । कास्कीको लेखनाथमा जारी आदर्श कप फुटबल प्रतियोगिता २०८१ को उपाधि एन्फा कास्कीले हात पारेको छ । लेखनाथ रंगशालामा शनिबार भएको खेलमा सशस्त्र प्रहरीलाई २–१ ले पराजित गर्दै कास्कीले इतिहास रचेको हो ।
कास्कीको तर्फबाट खेलको ८१ औं मिनेटमा युनिस भण्डारी र ८७ औं मिनेटमा संगम ठकुरीले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । पहिलो हाफमा कास्कीको तर्फबाट दबाब सृजना गरे पनि गोल गर्नबाट चुक्यो । सशस्त्र प्रहरी बल गण्डकी प्रदेशको तर्फबाट खेलको ४६ आंै मिनेटमा प्रविन साङताङले पहिलो गोल गरे पनि त्यसपछि सशस्त्रको तर्फबाट कुनै गोल हुन सकेन ।

Advertisement

गण्डकी प्रदेशबाट ८ समूहको सहभागिता रहेको प्रतियोगिताका विजेता एन्फा कास्कीले ४ लाख २५ हजार ५ सय २५ र उपविजेता सशस्त्र प्रहरी बल गण्डकी प्रदेशले २ लाख २५ हजार ५ सय २५ रुपैयाँका साथमा सिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको हो । खेलमा उत्कृष्ट मिडफल्डरमा कास्की ११ का अंकित गुरुङ, सर्वाधिक गोलकर्तामा सशस्त्रका प्रविन साङताङ, उत्कृष्ट डिफेन्डरमा सशस्त्रकै सन्तोष श्रेष्ठ, उत्कृष्ट गोलरक्षकमा कास्की ११ का आयुस गुरुङ, उत्कृष्ट कोचमा कास्कीका योगेन्द्र थकाली र उत्कृष्ट खेलाडीमा कास्कीकै अनिस तामाङ पुरस्कृत बने ।

विजयी खेलाडीलाई संघीय सासंद मनबहादुर गुरुङले पुरस्कार प्रदान गरे । उनले खेललाई व्यावसायिक र प्रस्तावित लेखनाथ रंगशालालाई पोखराको वैकल्पिक रंगशालाका रुपमा विकास विकास गर्ने लाग्ने जनाए । आयोजक आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सन्तोष गुरुङ र संस्थापक अध्यक्ष चेतबहादुर गुरुङले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया