गण्डक सहकारीको सेयर पुँजी साढे ३ करोड
पोखरा ।
गण्डक बचत तथा ऋण सहकारी सस्था लिमिटेड पोखरा १७ बिरौटाको आर्थिक वर्ष २०८०/०८१ सम्मको सेयर पुँजी ३ करोड ४९ लाख ९२ हजार कायम भएको छ । सहकारीको आर्थिक वर्ष २०७९/०८० सम्मको सेयर पुँजी ३ करोड ८२ लाख ७६ हजार थियो ।
सहकारीको पाँचौं वार्षिक साधारण सभामा अध्यक्ष दीपेन्द्रराज ढकालले सहकारीको चालु आर्थिक वर्षको कुल निक्षेप २ करोड ३८ लाख ५१ हजार ४ सय १० पुगेको बताए । सहकारीको गत आर्थिक वर्षको २ करोड २९ लाख ९१ हजार २ सय ६८ थियो । सहकारीले आर्थिक वर्ष २०८०÷०८१मा ४ करोड २६ लाख ४४ हजार ८ सय २५ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
आर्थिक वर्ष २०७९/०८० मा सहकारीले ५ करोड ७४ लाख, ८४ हजार ३ सय ६१ कर्जा प्रवाह गरेको अध्यक्ष ढकालले जनाए । गण्डकी प्रदेश सभा सार्वजनिक लेखा समितिका सभापति सुधीरकुमार पौडेलले साधारण सभाको उद्घाटन गर्दै सहकारी प्रतिको गलत धारणालाई सकारात्मक बनाउन पर्ने बताए । ‘केही सहकारीकर्मीको गलत काम क्रियाकलापले सहकारहरु बदनाम भएका छन्,’ उनले भने, ‘जसको कारणले सहकारीकर्मीहरु हौं भनेर ढुक्क हुने वातावरण बनेको छैन ।’
उनले अर्थतन्त्रका तीन खम्बामध्ये सहकारी एक भएको उल्लेख गरे । उनले सिद्धान्त अनुसार चले सहकारी आन्दोलन बलियो हुने तर्क गरे । सभामा अध्यक्ष ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष पुरुषोत्तम पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा सुपरिपेक्षण समितिका सदस्य शिवप्रसाद पौडेलले पेश गरेको लेखा समितिको प्रतिवेदन सभाले सुधारसहित पारित गरेको छ ।
कार्यक्रममा जिल्ला सहकारी संघ कास्की सञ्चालक मेनका पौडेल, सहकारीका उपाध्यक्ष दीपेन्द्र शर्मा, सचिव डिल्लीराम पनेरु, शिक्षा समितिका संयोजक प्रकाश अधिकारी, नेपाल माइक्रो इन्स्युरेन्सका प्रतिनिधि श्रीकृष्ण पौडेल, सेयर सदस्य कृष्णप्रसाद पनेरु लगायतले सहकारीका बारेमा बोलेका थिए ।
कार्यक्रममा नियमित बचतकर्तातर्फसन्दीप भट्टराई र कारोबारतर्फ विक्रमबहादुर थापा, ज्येष्ठ सेयर सदस्य धनमाया पौडेल र पुण्यप्रसाद पौडेल सहकारीका प्रबन्धक विकास सुवेदी, कर्मचारी सीता बराललाई सम्मान गरिएको छ । समारोहमा शोभाकान्त शर्माको परिवारलाई दुर्घटना बिमाबापत १ लाख प्रदान गरिएको छ ।
तपाईको प्रतिक्रिया