मिस तामाङका प्रतिस्पर्धीलाई तालिम

समाधान संवाददाता २०८१ पुष १ गते ९:३९

पोखरा ।
पोखरामा नवौं संस्करणको मिस तामाङ पोखरा प्रतियोगिता हुने भएको छ । सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ समाज पोखराले हरेक वर्ष आयोजना गर्दै आएको प्रतियोगिता यसपालि माघ १२ गते पोखरा सभागृहमा हुने भएको हो ।

Advertisement


मिस तामाङ पोखराका लागि १३ तामाङ युवतीले सहभागिता जनाउने कार्यक्रम संयोजक रोश्मा ब्लोन तामाङले बताइन् । प्रतियोगीलाई बिभिन्न बिषयमा दिइने तालिम सुरुवात भएको छ ।


पहिलो दिनको ओरेन्टेसन पोखरेली युवा साँस्कृतिक परिवारका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेलले गरेका छन् । यसअघि भाषा आयोजका पूर्व सदस्य अमृत योञ्जनले तालिमको औपचारिक सुरुवात गरेका थिए । भाषाविद योञ्जनले हरेक भाषा चेपुवामा पर्दै गएको सन्दर्भमा युवा पुस्तालाई आफ्नो संस्कार, भाषा र भेषभूषाप्रति रुचि जगाउने यस्ता कार्यक्रमले संरक्षणमा महत्वपूर्ण भुमिका खेल्ने बताए ।


तालिमका सहजकर्ता पौडेलले भाषा, संस्कार र संस्कृति नासिए कुनै पनि समुदायको अस्तित्व विलुप्त हुन सक्ने औंल्याए । कार्यक्रमका मिडिया संयोजक सञ्जय मल्ल, नेपाल तामाङ घेदुङ गण्डकी उपाध्यक्ष शिबु ब्लोन तामाङ, नेपाल तामाङ घेदुङ समन्वय समिति कास्की सचिव मीनमाया तामाङ, मिस तामाङ पोखरा २०२४ रोशिला ब्लोन तामाङ, नेपाल तामाङ घेदुङ संघीय सदस्य सुजन ब्लोन तामाङ, बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङ, राम लामा लगायतले बोलेका थिए ।


सहभागीलाई हरेक दिन तालिम प्रदान गरिने कार्यक्रम सहसंयोजक रोशिला ब्लोन तामाङले जानकारी दिइन् । प्रतियोगितामा लावनी तामाङ, सुप्रिया गोले तामाङ, सोनिका तामाङ, पूर्णिमा तामाङ, सुमिना तामाङ, प्रिन्सेस घिसिङ तामाङ, सिसा लामा, मञ्जिता पाख्रिन, जमुना लामा, सुनिता तामाङ, पवित्रा तामाङ, पूर्णिमा लामा र आकृति तामाङ सहभागी छन् ।

Advertisement


बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस तामाङ पोखरासँगै ल्होसार म्युजिकल फेस्टिभल आयोजना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया