सम्पादकीय—फेरि चितुवाको त्रास

समाधान संवाददाता २०८१ पुष १ गते १०:४१

तनहुँको आँबुखैरेनी गाउँपालिकाको चोकचिसापानीमा शुक्रबार दुईवटा चितुवा देखिएका थिए । त्यसबाट स्थानीय त्रसित भए । त्रसित यसर्थ कि यसअघि चितुवाले तनहुँमा धेरैजनाको ज्यान लिइसकेको छ । तनहुँमा चितुवाको आक्रमण परेर बितेका ७ वर्षमा वर्षमा १५ जना बालबालिकाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । आँबुखैरेनीसहित भानु नगरपालिका, बन्दीपुर गाउँपालिका र व्यास नगर क्षेत्रमा चितुवाको आतंक छ ।

Advertisement

चितुवाको आक्रामणमा परी ज्यान गुमाएका अधिकांश बालबालिका छन् । शुक्रबार चितुवा देखिएपछि पासो थापेर नियन्त्रणमा लिने प्रयास गरिएको छ । पासो थापेर चितुवालाई नियन्त्रणमा लिने र अर्को ठाउँमा लगेर छाडिदिने उपाय अल्पकालीनरुपमा ठिकै हो । तर चितुवा गाउँबस्ती पस्ने र मान्छे मार्ने प्रवृत्तिको दीर्घकालीन उपाय होइन ।


नरभक्षी चितुवालाई नियन्त्रणमा लिएर मानिसहरुको ज्यान जोगाउन भने तुरुन्तै लाग्नुपर्छ । त्यसपछि सँगसँगै दीर्घकालीन उपाय अपनाउनुपर्छ । अहिलेलाई चाहिँ वृद्ध, बालबालिका जसमाथि चितुवाको आक्रमण धेरै भइरहेको छ, तिनलाई साँझपख र एक्लाएक्लै घरबाहिर निस्कन नदिने लगायत उपाय गर्नुपर्छ । चितुवा लगायत वन्यजन्तुसँग बेलाबेला हुने द्वन्द्वको कारणको खोजी अनुसन्धानकै विषय हो । वन र वातावरणसँगै वन्यजन्तु पनि जोगाउनुपर्छ । ती मानव अस्तित्वसँग पनि जोडिएका छन् । तर मान्छे नै असुरक्षित हुने वातावरण त पटक्कै हुनुहुँदैन ।


चितुवाको बासस्थान वन हो । उसलाई त्यहीं रमाउने र गाउँवस्ती नछिर्ने काइदा पत्ता लगाउनुपर्छ । यसमा वन कार्यालय र स्थानीयले योगदान गर्नुपर्छ । गाउँघर आसपासमा बाक्लो वनजंगल फैलिन नदिने गर्नु एउटा उपाय हो । कुन र कस्ता जंगलमा कति वन्यजन्तु रमाउँछन् र बस्ती पस्दैनन् भन्ने पत्ता लगाउनु सबैभन्दा श्रेयस्कर हुन्छ । जंगलमा चितुवाको आहार कसरी पु¥याउन सकिन्छ, त्यसतर्फ सोच्नुपर्छ ।

मांसहारी जीव चितुवाको आहार अर्थात खाद्यचक्रमा आएको परिवर्तन र उसलाई भइरहेको आहारा अभावकै कारण बस्तीमा आतंक मच्चाउन आइपुगेको हो । बाँदर आतंक होस् या चितुवा दुवै आहारको आभवमा भएको बुझ्न त्यति कठिन छैन । अर्काेतर्फ गाउँबस्तीमा वनजंगल बाक्लिएको छ र घरहरु पातलो भएका छन् । रित्तिन थालेका छन् । यसतर्फ ख्याल गर्नुपर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया