आइटिएफ जे ३० वल्र्ड टेनिस टुर पोखरा सर्किट २ : आश्रव्य र मार्टा टेनिस च्याम्पियन

समाधान संवाददाता २०८१ पुष २ गते ४:५७

पोखरा । आइटिएफ जे ३० वल्र्ड टेनिस टुर पोखरा सर्किट २ अन्तर्गत शनिबार भएको फाइनल सिंगल्समा भारतका आश्रव्य मेहरा र मंगोलियाकी मार्टा चोग्सोमजाभ च्याम्पियन बनेका छन् ।

Advertisement


कास्की जिल्ला टेनिस संघको आयोजनामा भएको सिंगल्स फाइनलमा दुबै विजेताले नेपाली खेलाडीद्वय आरब सम्राट हाडा र शिवाली गुरूङलाई पराजित गरेका हुन् । पोखरा रंगशालास्थित टेनिस सेन्टरमा आयोजित ब्वाइज र गल्र्सतर्फ फाइनल खेल निकै रोमाञ्चपूर्ण रहे ।

पोखरामा आयोजना भएको छैटौं संस्करणको आइटिएफ जे ३० मा नेपाली खेलाडीले उत्साहपूर्ण रुपमा खेल प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरे पनि उपविजेतामा सीमित बने । नेपाली टेनिसमा उर्वर खेलाडीको रुपमा रहेका आरब भारतीय खेलाडी आश्रव्य मेहरासँग ६–३, ६–४ को सोझो सेटमा पराजित हुँदै उपविजेतामा चित्त बुझाए ।

आरब साताअघि सम्पन्न सर्किट १ मा भारतकै खेलाडीसँग फाइनलमा पराजित भएका थिए । उनले दुबै खेलमा उपविजेता बन्दै व्यक्तिगत ३६ अंक बटुलेका थिए । गल्र्सतर्फको फाइनलमा भर्खर १४ वर्षको उमेरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पाइला टेक्दै गरी शिवाली गुरुङले अनुभवी १७ वर्षीया मंगोलियाकी मार्टा चोग्सोमजाभ विरुद्ध फाइनलमा चुनौती बनेर उभिइन् ।


उनको दृढताले भरिएका आकर्षक सटहरुले दर्शकहरुलाई समेत अचम्मित बनायो । शिवाली ६–३, ६–२ को सोझो सेटमा मार्टासँग पराजित भइन् । आइटिएफ जे ३० वल्र्ड टेनिस टुर पोखरा सर्किट २ का विजेता तथा उपविजेतालाई नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, कास्की टेनिसका अध्यक्ष राजकुमार गुरूङ, उपाध्यक्ष नवीन चालिसे, कोषाध्यक्ष विष्णुबहादुर थापा, सल्लाहकार गोपीबहादुर भट्टराई, सदस्य प्रिती बराल, टुर्नामेन्ट डाइरेक्टर अजय विष्ट, आइटिएफ सुपरभाइजर प्रविन नायकल गायतले मेडल वितरण गरेका थिए ।

Advertisement

पोखरामा सर्किट १ र सर्किट २ गरी करिब २ साता सञ्चालन भएको प्रतियोगितामा नेपालसहित जापान, भारत, चीन, अमेरिका, न्युजिल्यान्ड, ताइवान, मंगोलिया, बंगलादेश र कोरियाका गरी १० देशका १ सय ५ भन्दा बढी खेलाडी सहभागी थिए ।

तपाईको प्रतिक्रिया