गाउँ, सहरबिच मितेरीको महत्व

यामबहादुर थापामगर २०८१ पुष २ गते ९:२५

नेपालका गाउँबिच मितेरीको प्रचलन भन्दा भनि मित लगाउने चलन व्यापक छ । मितबाबा, मितज्यू, मितआमाको बारेमा प्रचलन रही चिनजानका साथीलाई अति नजिकको साथी, आफन्त बनाई सामाजिक परम्परा, आर्थिक परम्परा एकापसमा बुझने र बुझाउने परम्परा हुन्छ । सुख, दुखको परिववेशमा साइनो लगाएका परिवारबिच घरायसी संस्कृति आदानप्रदान गरी अनुभव साटासाट गरेर सामाजिक सम्बन्ध विस्तार र विकास गर्ने गरेको पाइन्छ । नेपालका विभिन्न देश विदेशका गाउँ, सहर विचमा भगिनी सम्बन्ध स्थापना गरेर नजिकको सम्बन्धमा स्थापित गरेको पाउन सकिन्छ ।

Advertisement


विदेशी सहरहरुको भगिनी सम्बन्ध नेपालमा पर्यटकहरु आउने प्रचलनको सुरुवातभन्दा पनि नेपालीहरु विदेश भ्रमणमात्र गर्न जाने माध्यमको रुपमा विकास भएको पाउन सकिन्छ । भगिनी सम्बन्धका माध्यमबाट नेपालका पर्यटकीय स्थलहरु बढी मात्रामा प्रचारप्रसार भई विदेशी डलर भित्रिने खालको बहुसंख्यामा पर्यटक आउन अझै बाँकी रहेको आभास हुन्छ । अर्कोतिर नेपालभित्रकै नगरपालिका, गाउँपालिकाबिच भएको मितेरी सम्बन्धले आन्तरिक पर्यटकको अनुभव लिनमा सहज र क्रियाशील भएको पाउन सकिन्छ ।


नेपालका ऐतिहासिक स्थल, होमस्टे लगायतका स्थल ब्रान्डका रुपमा स्थापित गर्नमा भगिनी सम्बन्धले सघाउँछ । भगिनी सम्बन्धका कार्ययोजना, दस्तावेज, संस्थागत विकास, नीति, कानुन, कार्यविधिलाई जीवन्त बनाई रोजगारको कारखाना खोल्नमा ध्यान दिई आर्थिक विकासमा टेवा दिने पर्यटन विकास गराउनमा कम्मर कस्नका लागि ढिला गर्नु हुँदैन ।


नेपालको पञ्च वर्षीय योजनाका लक्ष्य, उद्देश्य, आवधिक बजेट तथा योजना, मन्त्रालय, प्रदेश स्तरीय पञ्चवर्षीय योजना तथा प्रदेश स्तरका पर्यटन मन्त्रालय, पर्यटन तथा उद्योग कार्यालय, समग्र पालिकाहरुको संरचनाका बारेमा पर्यटनलाई बहुत लोभलाग्दो तरिकाले सम्बोधन गरिए पनि व्यवहारिक रुपमा कार्यान्वयन भई समृद्ध रिजल्ट आउनमा धेरैभन्दा धेरै ढिला भएको अनुभव हामीसँग छ । कतै डुब्लिकेसन भएर बर्बादी त कतै सही स्थानमा सही स्रोत, साधनको अभावमा बर्बादीलाई संरक्षण गर्नमा ध्यान गनुपर्ने देखिन्छ ।


विदेशी सहरसँग नेपालका सहर/गाउँको भगिनी सम्बन्ध
नेपालका विभिन्न गाउँ, सहरको नेपालभित्रकै समस्तरको गाउँपालिकाबिचको समन्वय र विकासका लागि भगिनी सम्बन्ध स्थापित भएको पाइन्छ । नेपालका मुख्य सहरहरु विश्वका विभिन्न सहरसँग भगिनी सम्बन्ध अर्थात मितेरी साइनो स्थापित गरी सांस्कृतिक, सामाजिक, कला, पर्यटन प्रर्वद्धन, ऐतिहासिक महत्वका पुरात्ताविक वस्तुहरु, बुद्ध जन्मेको स्थान लुम्बिनी, पशुपतिनाथ मन्दिर, मुक्तिनाथ मन्दिर तथा हिमालहरुको प्रचारप्रसार गरेमा नेपालमै वैदेशिक मुद्रा आर्जन गर्न सकिन्छ भन्ने विश्लेष्ण गरेको पाइन्छ ।

Advertisement


मुस्ताङको थासाङ गाउँपालिकाको टुकुचे गाऊँको भगिनी सम्बन्ध नेपालमा पहिलो पटक जापानको टोगा गाउँसँग भएको थियो । मुस्ताङकै घरपझोङ गाउँपालिकाको जापानको एक सहरसँग भगिनी सम्बन्ध स्थापित भएको थियो । लोमाङथाङ गाउँपालिकाको अमेरिकाको सहरसँग भगिनी सम्बन्ध कायम भएको छ । पोखरा महानगरपालिकाको चिनको सहरसँग पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदा सम्बन्ध स्थापित भएको थियो । लन्डनको ब्रेकन सिटीको भगिनी सम्बन्ध कास्कीको धम्पुससँग स्थापित भई सहकार्य भएको छ ।


बेलायतको लन्डन बरो अफ बार्नेट र पोखरा सहरमा पनि भगिनी सम्बन्ध भएको पाइन्छ । ताङतिङ गाउँको भगिनी सम्बन्ध बेलायतको सहरसँग भएको पाइन्छ । तनहुँको आदिकवि भानुभक्त क्याम्पसले मितेरी गाउँ खोजी गर्र्दै रिऋिङ गाउँलाई स्थापित र प्रचारप्रसार गर्न खोजेको छ ।


धुर्कोट गाउँपालिका गुल्मी जिल्ला, बन्दीपुर गाँऊपालिका तनहुँ र ताराखोला गाउँपालिका बागलुङबिच त्रिपक्षीय भगिनी सम्बन्ध स्थापना भएको छ । बागलुङको बागलुङ नगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबिच पनि मितेरी सम्बन्ध गाँसिएको छ । बन्दीपुर गाउँपालिका तनहुँ र गोरखाको बारपाक गाउँबिच समेत भगिनी सम्बन्ध स्थापना भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देहीका नगर प्रमुख मनमोहन चौधरीले स्पेनको विश्व सम्पदा सूचीमा सूचीकृत काथेरेस नगरपालिकाबिच भगिनी सम्बन्ध जोडेको देखिन्छ । भक्तपुर नगरपालिकाको २०७३ साउन ३० गते चीनको स्वशासित क्षेत्र तिब्बतको शान्नान सहरसँग सम्बन्ध बनेको थियो ।

नेपालका धेरै सहर र केही गाउँहरुले पनि देश र विदेशका सहरसँग मितेरी सम्बन्ध गाँसेर पर्यटकीय, सांस्कृतिक र अन्य अनुभव साटासाट र आर्थिक लाभ लिन थालेका छन्


नेपालको राजधानी काठमाडौं सहरको भगिनी सम्बन्ध धेरै देशका सहरसँग स्थापित भएको पाउन सकिन्छ । चीनको नान्जी (नान्जिङ ) सहर, थाइल्यान्डको बैंकक, अमेरिकाको बोन्डा र फ्रेडरिक बर्ग, चीनको छेन्दु, दक्षिण कोरियाको सोल, चीनकै ग्वाङझाओ र सेन्जेन, भारतको वाराणसीसँग कायम भइसकेको छ । यसैगरी, तिब्बतको ल्हासा, उत्तर कोरियाको पेङवाङ, बर्माको यंगुन, बेलारुसको मिन्सक, चीनको सियान, जापानको मात्सुमोनो, अमेरिकाको रोचेस्टरर अमेरिकाको युजेव सहरसँग काठमाडौंको मितेरी सम्बन्ध कायम भएको छ ।


बुटवल उपमहानगरपालिकाको सियान सहरसँग भगिनी सम्बन्ध कायम भएको छ । काभ्रेपञ्चालोकको बनेपा नगरपालिकाको सेघाछे सहरसँग सम्बन्ध भएको छ । ललितपुर महानगरपालिकाको चेओखन सहरबिच भगिनी सम्बन्ध स्थापित भएको पाइन्छ । बागेश्वरी नगरपालिकाको जापान देशको ओत्सुकी सहर र ललितपुर महानगरपालिकाको चीनको चिनख्वा सहरबिच भगिनी सम्बन्ध छ । ललितपुरको जुम्लाको चन्दननाथ नगरपालिकाबिच भगिनी सम्बन्ध कायम भएको छ । ललितपुर महानगरपालिकाको भगिनी सम्बन्ध गुल्मी जिल्लाको मालिका गाउँपालिकासँग गाँसिएको पाइन्छ । चीनको स्वाशासित क्षेत्र तिब्बतको भक्तपुर नगरपालिकासँग मितेरी सम्बन्ध छ ।


रुसको डर्बेन्ट सहरको भगिनी सम्बन्ध भक्तपुर सहरसँग छ । भक्तपुर नगरपालिकाको सहकार्य चीनको लसान नगरसँग छ । रुपन्देहीको भैरहवा सहरको मितेरी सम्बन्ध बाओजी सहरसँग जोडिएको अवस्था छ । चीनको सियान सहर र बुटवल सहर पनि मित्रतामा गाँसिएका छन् । मोरङको बिराटनगर सहर र न्युयोर्क सहर अमेरिकाबिच भगिनी सम्बन्ध स्थापित गर्नका लागि प्रस्ताव भएको छ । इलाम नगरपालिका र धरान महानगरपालिकाबिच भगिनी सम्बन्ध भएको जानकारी प्राप्त भएको छ ।

धरान महानगरपालिका र पोखरा महानगरपालिकाबिच समेत भगिनी सम्बन्ध स्थापना भएको छ । चितवनको भरतपुर महानगरपालिका र जापानको योकोसुका सहरबिच मितेरी सम्बन्ध स्थापना भएको छ । माथि उल्लेख गरिएका भगिनी सम्बन्धबाहेक आगामी दिनमा अझै धेरै पालिकाबिचमा गर्न बाँकी छ । एकापसको पारस्परिक सम्बन्धलाई स्थापित गर्दै नवीकरण गर्दै पर्यटनका विषयमा अनुशिक्षण गर्नमा ढिला गर्नु हुँदैन ।


भकुण्डेको होमस्टे बामे सर्दै
भकुण्डे नाम गरेका स्थानहरुका बारेमा सोधखोज गर्दा नेपालका हालसम्म मैले केही जिल्लाका प्रसिद्ध स्थानमध्ये नै पाएको छु । भकुण्डे नामलाई पर्यटनको हिसाबले जन जनको जिब्रोमा बागलुङको भकुण्डेलाई नै परिचित गराउने बाटोमा लाग्नुपर्दछ । हल्लाखल्ला गरेर बागलुङको भकुण्डेमा बाह्रय तथा आन्तरिक पर्यटक आगमनमा वृद्धि गर्नका लागि पर्न जरुरी देखिन्छ ।
गाउँ, बस्तीहरु बसाइसराइका कारणले रित्तिदो क्रममा छन् ।

नयाँ घरहरु नबन्ने अवस्था आइसकेको छ । छोडेर गएका पुराना घरहरु भत्किन थालेका छन् । त्यसैले म्याग्दीको बेनी नगरपालिकामा पर्ने ज्यामुरकोटमा भकुण्डे नाममा स्थान, भूगोल र चिरपरिचित गाउँ रहेको छ । ज्यामरुकोट भकुण्डेका लागि आजभोलिका मानिसले भकुण्डे भनेर म्याग्दीका मानिसहरुले मात्र जान्ने, बुझने गर्दछन् । स्याङ्जाको बालिङ भकुण्डे रहेको छ । बालिङ भकुण्डेका मानिसहरु तुलनात्मक रुपमा शैक्षिक क्षेत्रमा अगाडि भएको पाइन्छ । लमलुङको भकुण्डे गाउँ विकास समिति रहेको हाल संघीयताका कारणले भकुण्डे टोल, गाउँको नाममा परिणत भएको पाइन्छ ।


काभ्रेपाञ्चोक जिल्लामा समेत भकुण्डे छ । अर्को भकुण्डे गाऊँ विकास समिति बागलुङ जिल्लामा छ । जुन भकुण्डे गाउँका बारेमा अहिले पछिल्लो चरणमा होमस्टे सञ्चालन भई पर्यटन प्रवद्र्धनमा सफलता हासिल गर्नमा अगाडि बढिरहेको छ । पर्यटन व्यवसायमा बागलुङ कालिका माई, पञ्चकोट, गोल्डेन ब्रिज कालीगण्डकी, ढोरपाटन, गाजाको दह, साग्दीको मन्दिर, नौडल्ले पहाड, घुम्टेको लेक, टेउवा मूर्ती संग्रहालय, गाईघाट झरना, भैरवस्थान मन्दिर, बलेवा एयरपोर्ट, पैयुथन्थाप माई, हाडीकोट, भकुण्डे भ्युटावरमा आउजाउ गर्ने पर्यटकलाई भकुण्डे गाउँको होमस्टेमा समेत आउजाउ गराउनका लागि पहल गर्नुुपर्ने अवस्था छ ।


पर्यटनलाई डलरको खेती भन्छन् तर भकुण्डेका मानिसको बसाइसराइ तीव्र गतिमा भएको, जनसंख्या तीव्र गतिमा घटेको, उत्पादन हुने जग्गा, जमिन बाँझो हुने क्रम बढेकाले पूर्वाधार विकासका रुपमा रहेको खानेपानी, मोटरबाटो, भवन, कृषि, पशुपालनमा उद्यमशीलतासँग जोडेर नवप्र्रवतनमा लाग्नुपर्ने सोचअघि ग्रासरुट तरिकाले भकुण्डेमा बढाउन जरुरी भएको छ ।
भकुण्डे र सिरुवारीको मितेरीको पटकथा


स्याङ्जा जिल्लामा क्याप्टेन रुद्रबहादुर गुरुङले लगाव, योगदान र परिश्रम बढाएर सिरुवारीलाई होमस्टे (घरबास)का कारण भ्रमण गराउनमा थुप्रै आन्तरिक र बाह्रय पर्यटक भित्राउन सफल भए । सिरुवारी गुरुङ बस्ती भएकाले लमजुङ जिल्लाका घले गाउँ, भुुजुङ गाउँ, सिग्दी गाउँ, राइनासकोट गाउँ जस्तै बढी परिचित हुन पुग्यो । राज्यका पर्यटन सम्बन्धी निकायहरुले नियमित अनुगमन र पूर्वाधार विकासले यात्रालाई सहज बनाईदियो । बागलुङ भकुण्डेको धौलेचउरमा पनि होमस्टेको विकास र विस्तारको संस्थागत अभियानको प्रतिफल रुद्रमान गुरुङ स्मृति पार्कको सोच आयो ।


होमस्टेको तालिम, गोष्ठी, भ्रमण हुँदा नेपालमा होमस्टेका संस्थापक रुद्रमान गुरुङ भएको जानकारी हुन आएपछि उहाँको बारेमा समेत थप अध्यययन हुन थाल्यो । भारतीय सेनाबाट अवकाश पाएपछि नेपाली कांग्रेसको राजनीति गरी उनी सांसदसमेत भएको पाइन्छ । भकुण्डेका होमस्टे अभियन्ताहरुलाई विभिन्न कार्यक्रममा सहभागी हुँदा उच्च सम्मान र प्रशंसा अकल्पनीय रुपमा गरेको र सम्मानको समयमा उत्पन्न भावनाको उजागरपछि भकुण्डे गाउँमा पर्यटनका थप पूर्वाधार निर्माण गर्न लागि अपप्र्यात स्रोत तथा साधनहरु भए पनि निरन्तर लागि लाग्न पुग्दछन् ।


होमस्टेको अनुभव आदानप्रदान गर्ने, भावी योजना निर्माण गर्ने, सशक्तीकरण गर्ने, एकापसमा स्थलगत भ्रमण गर्ने शिलशिलामा नयाँ र नौलो ऐतिहासिक पार्क स्थलका रुपमा रुद्रमान गुरुङ स्मृति पार्क बनाउने सोच आएको र मगर बस्तीहरुको बिचमा समेत गुरुङ समुदायको नेपालका होमस्टेका पिताको शालिक अनावरण गरी पर्यटकीय गन्तव्य बनाउने सोच र योजना बनेको होमस्टे सञ्चालक खिमबहादुर थापा बताउनुहुन्छ । नेपाल भित्रका विभिन्न सहर, पालिका र नगरपालिकाबिच भगिनी सम्बन्ध स्थापना गर्ने समयमा बढी मात्रामा नगर प्रमुख, गाउँपालिका अध्यक्ष नै बढी अग्रसर भएर लागिपरेको होमस्टेका इतिहासका र भगिनी सम्बन्धबारे खोजी गर्दा देखिन्छ ।


सिरुबारी र भकुण्डेमात्र नभई अरु थुप्रै गाउँ, सहर र प्रदेशका पालिकाबिच भगिनी सम्बन्ध स्थापना गर्न पाएमा अझै एकापसमा अनुभव र ज्ञान आदानप्रदान भई संस्थागत विकास र विस्तार गर्न सकिने देखिन्छ । भकुण्डे घुम्न आउने पर्यटकलाई सिरुवारीका बारेमा जानकारी दिने र सिरुबारीमा आउनेलाई भकुण्डेका बारेमा विस्तृत जानकारी गराई पाहुनालाई बढीभन्दा बढी लोभ्याएर आर्थिक उर्पाजन गर्न सकिन्छ । पर्यटकलाई पालो सिस्टममा रुपान्तरण गर्न सकेमा पक्कै पर्यटक बढ्ने छन् । कतै कतै त पर्यटनलाई सकारात्मक हल्ला र प्रचारप्रसारको व्यापारसमेत भन्ने गरिएको छ ।


अतिथि सामुदायिक होमस्टे बागलुङ र सिरुबारी सामुदायिक हामेस्टे स्याङ्जाबिचको मितेरी सम्बन्ध कायय गर्नेसम्बन्धी समझदारी पत्र २०८० मा भएको हो । २०८० चैत २८ गते भगिनी सम्बन्ध स्थापना भएकाले नेपाल भरका सामुदायिक होमस्टेका असल अभ्यासलाई अवलोकन, भम्रण गरेर आदानप्रदान गर्नुपर्दछ । एकापसमा होर्डिङ बोर्ड निर्माण गरी जनस्तरमा जानकारी दिने सम्झौता भएको छ । भकुण्डे गाउँ समुन्द्री सतह ८ सय ५० मिटरदेखि २ हजार ३ सय ५० मिटरमा छ भने सिरुवारी १ हजार ६ सय १० मिटरमा अवस्थित छ । आँधीखोला गाउँपालिकाको वडा नं. १ मा पर्ने सिरुबारी सामुदायिक होमस्टे २०५४ कात्तिक २३ गते अगुवा रुद्रमान गुरुङले सुरुआत गरेका थिए ।


विकाससँगै विनास आउने सम्भावनालाई मध्यनजर गर्दै पर्यटकसँग आउने विभिन्न खालका विकृतिलाई निस्तेज गर्नमा ध्यान पु¥याउनुपर्ने देखिन्छ । सरुवा रोगहरु फैलन सक्ने, बढी मात्रामा मादक पदार्थ उपयोग हुँदा दुव्र्यसन बढ्ने खतरा हुने, मौलिक कला, संस्कृतिलाई अतिक्रमित भई बाह्रय कला, संस्कृति भित्रिने, अनुसन्धान तथा खोजका लागि हुने गतिविधिका लागि अनुदान, सहयोग घातक हुने परिपाटीप्रति सजग हुनु पर्दछ । आगामी दिनमा थप थुप्रै नेपालभित्र र बाहिरका सहरबिच भगिनी सम्बन्ध स्थापित गर्नमा पहल गर्नु जरुरी छ । सकारात्मक सोचका साथ पर्यटन संस्कारसँगै पूर्वाधार, शिक्षा र स्वास्थ्यमा समेत ध्यान दिनुपर्छ । बढदो सामाजिक सञ्जालको सदुपयोग गरी पर्यटनका सम्भावना र लक्षित वर्गसम्म पुग्नसमेत सकिन्छ ।

तपाईको प्रतिक्रिया