
जोमसोम ।
उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको उपल्लो मुस्ताङमा चिसो ह्वात्तै बढेको छ । हिउँदयामको अत्यधिक चिसो बढेसँगै उपल्लो मुस्ताङको जनजीवन समेत प्रभावित बन्दै जान थालेको छ ।
उपल्लो मुस्ताङमा दिउँसोको समय घाम लाग्दा केही न्यानो महसुस भए पनि बिहान र बेलुकीपख अत्यधिक चिसो छाउँने गरेको लोमान्थाङ गाउँपालिकाका सबइन्जिनियर उदय घिमिरेले जानकारी दिए । सबइन्जिनियर घिमिरेका अनुसार उपल्लो मुस्ताङमा बिहान र बेलुकीपखको समयमा तापक्रम माइनस २० डिग्रीसम्म पुग्ने गरेको बताए । उपल्लो मुस्ताङमा चिसो अत्यधिक रुपमा वृद्धि भइरहेकाले स्थानीय नागरिकहरूको दैनिकी समेत प्रभावित बन्दै जान थालेको सबइन्जिनियर घिमिरेको भनाइ छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा अत्यधिक चिसोका कारण शाखा नदी, सिँचाइ कुलो, खानेपानी धारा र घरका सेफ्टी ट्यांकी बरफ बनेर जम्ने गरेको छ । चिसोले शाखा नदी बरफ बनेर जम्न थालेपछि स्थानीय नागरिकको दैनिक जीवनमा प्रतिकूल असर पुगेको छ ।
शाखा नदी जमेपछि उपल्लो मुस्ताङ आउजाउ गर्ने सवारी साधनलाई समस्या उत्पन्न हुने गरेको छ । सिँचाइ कुलो जमेकाले नागरिकको खेतीयोग्य जमिनलाई सिञ्चित गर्नमा अप्ठ्यारो परेको छ । उपल्लो मुस्ताङमा घरका धारा र शौचालयका सेफ्टी ट्यांकी नै जमेर बसेकाले समेत स्थानीयको जनजीवन कष्ठप्रद बनेको हो ।
उपल्लो मुस्ताङमा चिसोले पानीका स्रोतहरू बरफ बनेर जम्न थालेपछि दैनिक खानपान पकाउन र पशु आहाराका लागि कुडो पकाउन समेत पानीको समस्या देखिएको छ । अहिले उपल्लो मुस्ताङमा घर र पशुचौपाया रेखदेखका लागि कुरुवा भएर बसेकाले शाखा नदी र सिँचाइ कुलो बरफलाई तताएर खाने र पशुलाई दिने गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका वडाध्यक्ष टै ढिन्डुक ठकुरीले जानकारी दिए । हिउँदयामको चिसोले उपल्लो मुस्ताङमा पानी स्रोत सबै बरफ जमेर ठप्प रोकिएको छ । बर्खायाममा निरन्तर बग्ने शाखा नदी र सिँचाइ कुलो सबै सेताम्मे बरफ जमेर बसेकाले नदीको बहाव चल्न छाडेको वडाध्यक्ष ठकुरीको भनाइ छ ।
जलवायु परिवर्तनका कारण यसवर्ष हिउँदयाम सुरु भइसक्दा समेत हिउँ परेको छैन । तथापि अत्यधिक मात्रामा चिसो बढिसकेकाले त्यहाँका नागरिकलाई दैनिक जीवन यापनमा निकै समस्या र चुनौती सिर्जना भएको छ । केही वर्षअघि उपल्लो मुस्ताङमा कात्तिक महिनामै हिउँ पथ्र्यो । यसपालि पुस लाग्दासमेत हिउँ पर्ने छनक देखिएको छ । अनुकूल मौसममा हिउँ नपर्ने हो भने स्थानीय किसानको स्याउ लगायतका अन्नबालीमा असर पुग्ने निश्चितनै छ ।
पछिल्लो समयमा हिमाली जिल्ला मुस्ताङमा जलवायु परिवर्तनको असरका कारण कुनै वर्ष अत्यधिक हिमपात हुने, कुनैवर्ष आंशिक हिमपात हुने र कुनैवर्ष हिउँ नै नपर्ने प्राकृतिक संकेतका असरहरु देखिने थालेका हुन् । हिउँदयामको अनुकूल समयमा पर्ने हिउँ किसानका लागि बरदान सावित हुन्छ ।
हिउँले किसानको खेतबारीले सिञ्चित गर्ने र खेतीयोग्य जमिनको भित्री तहसम्म रिचार्ज गर्न मद्यत पुग्ने भएकाले हिउँयामको हिउँ किसानका लागि बरदान सावित हुने गरेको कृषि विज्ञहरु बताउँछन् । हिउँदयामको अनुकूल हिउँले किसानले उत्पादन गर्ने अन्नबाली तथा फलफूलहरुमा लाग्ने रोगकिराहरुको संक्रमण जोखिमलाई न्यूनीकरण गर्न अर्गानिक विषादीको रुपमा काम लाग्छ ।
२०७५ सालमा उपल्लो मुस्ताङमा भारी हिमपात हुँदा त्यहाँका पशुकिसानको ठुलोसंख्यामा याकचौरीहरु खर्कमा पुरिएर क्षति तुल्याएको थियो । पछिल्लो समय हिउँदयामको मौसममा समेत हिउँ नपर्दा हिमालहरु कालापत्थरको रुपमा देखिन थालेको छ । हिउँदयाममा छपक्कै हिउँले ढाकिने पहाडहरु हिउँ नपर्दा फुस्रा र नांगा देखिएका छन् ।
जोमसोमबाट देखिने नीलगिरी र धौलागिरी हिमालको चमक हिउँ नपर्दा आर्कषक देखिन छाडेको छ । मुस्ताङमा पुस र माघ महिनामा हिउँ पर्ने महिनाको रुपमा लिने गरिएको छ । हिउँले शीतोष्ण फलफूल तथा तरकारीहरुमा परागसेचन अर्थात पोलिनेशन भई उत्पादनदर वृद्धि हुने भनाइ छ ।
हिउँदयामको मौसमसँगै उपल्लो मुस्ताङका दुईपालिका नागरिकविहीनको अवस्थामा रहेको छ । अत्यधिक चिसो बढेसंगै त्यहाँका स्थानीय नागरिकहरु मंसिर अगावै जाडो छल्न बेसी झरिसकेका छन् । उपल्लो मुस्ताङको लोमान्थाङमा प्राय घरधुरीहरुमा ताल्चा मारिएको छ ।
होटलहरु समेत लगभग पुरै बन्द अवस्थामा रहेको लोमान्थाङ गाउँपालिकाका प्रशासन प्रमुख विकास केसीले जानकारी दिए । लोमान्थाङमा घरकुरुवा, वृद्धवृद्धा र पशु रेखदेख गर्ने गोठाला गरी १५/२० जना बाहेक अरु बाँकी सबे जाडो छल्न बेसी झरिसकेको प्रशासन प्रमुख केसीले उल्लेख गरे ।
त्यसो त उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका प्राय गाउँ वस्ती चिसोका कारण नागरिकविहिनको अवस्थामा छ । गाउका नागरिक सबै बेसी झरिसकेकाले उपल्लो मुस्ताङका सबै गाउँ र वडाहरु गुमनाम जस्तै छ । उपल्लो मुस्ताङमा चिसो बढेसँगै कोरलानाकामा स्थानीय व्यापारीको उपस्थिती समेत निकै नै कम छ । चिसोले नाकामा पर्यटक तथा सर्वसाधारण जान छोडेपछि नाका छेउ व्यापार गर्ने र सीमापारि पुगेर सामान आयात गर्ने उपल्लो मुस्ताङीको उपस्थिति पातलिँदै जान थालेको हो ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया