ज्ञानमाला भजन शिरोमणि सोम

रवीन्द्र माकाजु २०८१ पुष ३ गते ११:२३

नेपालकै ज्ञानमाला भजन पोखरेली गायन इतिहासमा स्वर्ण अक्षरमा सजिएका एक शतपात्र हुन्ः सोम बज्राचार्य । जो ज्ञानमाला भजनका साथ धर्मशीला बुद्ध विहारमा अत्यन्त सुमधुर स्वरका साथ प्रायः सधैं प्रस्तुत हुन्थे ।

Advertisement


उनको स्मृतिमा परिवारले सोम स्मृति संगीत पुरस्कार स्थापना भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारमा अनि धर्मशीला बुद्धबिहारमा पनि सोम स्मृति ज्ञानमाला पुरस्कार दिने गरिन्छ । त्यस्तै संगीतप्रेमीलाई प्रदान गरिने सोम स्मृति संगीत पुरस्कारबाट पछिल्लो पटक पुरस्कृत भए संगीतज्ञ श्यामलाल श्रेष्ठ ।


संगीतज्ञ परिवारमा जन्मेका सोमका बाबु चन्द्रमान भजन गायक थिए भने दाजु सूर्यकुमार, सुवर्ण र सरोजगोपालहरु संगीतका उच्च साधक । झनै सरोजगोपालका प्रसिद्धिका कारण सोम संगीत क्षेत्रमा झुम्मिए । उनी दाजुहरूका पछि लागेर विहारमा हुने भजन सुन्दै मनमनै गुन्थे र सोच्थे–म पनि ठूलो भएर यस्तै मीठो भजन गाउनेछु ।


पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष सोमले चन्द्रलक्ष्मी सिर्जनाग्रामलाई २ रोपनी जग्गा र ५० हजार नगद दान दिए । त्यस्तै उनले अर्जुन नेपाली स्मृति संगीत पुरस्कारका लागि विशेष योगदान दिए । उनले ५० भन्दा बढी ज्ञानमाला भजन गाए । उनले ज्ञानमाला भजन संग्रह १, २, ३ क्यासेट निकाले ।


२०१६ वैशाख १४ मा जन्मेका सोम संगीत प्रशिक्षण केन्द्रका पूर्वअध्यक्ष पनि थिए । उनको समग्र जीवन ज्ञानमाला भजन, आधुनिक गायन एवं संगीत क्षेत्रमा नै समर्पित भएको देखिन्छ । उनले गाएका मिठामिठा ज्ञानमाला भजनको कारण उनी सधैँ स्मरणीय र वन्दनीय छन् । उनका ज्ञानमाला भजन अत्यन्तै लोकप्रिय छन् । विशेष गरी पूर्व नजाउ पश्चिम नजाउ मेरो संघ आउ भजन जहाँ पनि फर्माइस हुने गथ्र्याे । उक्त भजनमा भनिएको ६ लाख बत्ती बाली मलाई खोज्नु पर्दैन ।

Advertisement

सोमको स्मृतिमा धर्मशिला बुद्ध विहार, पोखरेली युवा साँस्कृतिक परिवार लगायतले अझै केही गर्न बाँकी छ जस्तो लाग्छ


कतिकति कष्टहरुमा मरीपरी आएको छु
अथाहमा छिपेको सत्य जतन गरी ल्याएको छु ।
तुष्णा नै हो दुःखको कारण असमान ईच्छा नराख
रात, द्वेष, क्रोध मिटाई सदा शील सजाऊ
तिमीसँगै छु नि, तिमी मेरो संघ आऊ …

कर्मकाण्ड पूजा जपले तिम्रो दुःख टर्दैन
लाख बत्ती बाली कतै मलाई खोज्नु पर्दैन

यसका अलावा पारिबाट को आयो सालको पात बजाउँदै जस्ता लोकगीत उनले गाए । थुप्रै राष्ट्रिय गीत रेकर्ड गरेका थिए गायक सोमले । शीरमा राखी माछापुच्छ्रे, मनमा फेवाताल मेरै हिमाल जस्तै हाँसीरहूँ पोखरा, तीर्थ श्रेष्ठका पहाडको लालीगुँरास, राघवलाल वैद्यको हिऊँ पुरीको शिरमुनि, आरजु विष्ट सल्यानीको आऊ है चेली माइतीलाई सम्झेर, उनले हरिदेवी कोइरालासँग मिलेर थुप्रै गीत गाए ।


पोखरामा हरेक वर्ष मनाइने बुद्ध जयन्तीमा होस् वा बेला बेला पोखरामा प्रदर्शन गरिने रामायणमा मीठो भजन गाउँदै हिँड्ने सोमलाई लाग्छ पोखरेलीले कहिले बिर्सने छैनन् । उनको सांस्कृतिक र सांगीतिक योगदानको कदरस्वरूप विभिन्न संघ, संस्थाबाट सम्मानित भए । उनले पछिल्लोपटक नेत्र स्मृति पुरस्कार र अलिमिँया लोक संगीत वाङ्मय पुरस्कार प्राप्त गरेका थिए ।


पोखरामा हुने हरेक सांगितिक कार्यक्रममा उनको सहभागिता रहन्थ्यो । उनी ज्ञानमाला भजन सम्मेलनमा जहाँ पुगे पनि आफ्नो मधुर भजन सुनाएर सबैलाई लठ्ठ पार्थे । उनी राष्ट्रिय प्रतिभाका रूपमा स्थापित भइसकेका थिए । उनले गाएका कतिपय ज्ञानमाला भजन कालजयी भजनका रूपमा स्थापित छन् । जति सुनेर पनि नअघाउने उनका भजनले उनको स्मृतिलाई सधैँ ताजगी बनाउँछ ।


पोखरामा प्रदर्शन गरिने हरेक रामायणमा उनको मिठो स्वर अहिले पनि धेरैको मनमस्तिष्कमा रहिरहेको छ । यसरी उनले पोखरेलीको सेवा गर्दागर्दै ०६२ साल मंसिर २६ गते यस धर्तीबाट कहिल्यै नफर्कने गरी बिदा लिए । उनको भौतिक शरीर हामीमाझ नरहे पनि उनले उपहार स्वरूप प्रदान गरेका ज्ञानमाला भजन एवं अन्य मधुर संगीतले उनलाई स्मरण गराइरहनेछ । उनको स्मृतिमा भने धर्मशिला बुद्ध विहार, पोखरेली युवा साँस्कृतिक परिवार जस्ता संस्थाले अझै केही गर्न बाँकी छ जस्तो लाग्छ ।

रवीन्द्र माकाजु

(माकाजु स्वतन्त्र लेखक हुन् )

तपाईको प्रतिक्रिया