पोखराका मेयर नेतृत्वमा कोरिया भ्रमण

समाधान संवाददाता २०८१ पुष ३ गते १९:२६

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य कोरिया भ्रमणमा निस्केका छन् । हरित रोजगारी सिर्जना गर्ने उद्देश्यले कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा पोखरामा सञ्चालन हुने परियोजनाको सन्दर्भमा अध्ययन तथा अवलोकन भ्रमणमा ९ सदस्यीय टोली बुधबार कोरियाका लागि हिँडेको हो ।

Advertisement

हरित परियोजनाले फोहोर व्यवस्थापनमा नवीन दृष्टिकोण अपनाउँदै पुनः प्रयोगलाई प्रोत्साहन गर्ने मेयर आचार्यले जनाएका छन् । पोखरा प्रदर्शनी केन्द्रमा निर्माणाधीन बहुउद्देश्यीय ‘ग्रिन भेन्चर जोन’ले कोसेली घर र अध्ययन केन्द्रको रूपमा काम गर्दै स्थानीय उत्पादनहरूको प्रदर्शनी र ज्ञान आदानप्रदानको थलोको रूपमा विकास हुनेछ ।

परियोजनाले पोखराका ३३ वटै वडाका १२६ समूहलाई समेट्दै करिब ३ हजारलाई रोजगारी प्रदान गर्ने लक्ष्य राखेको छ । परियोजना सतप्रतिशत अनुदानमा आधारित परियोजना हो ।
परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि ज्ञान आदानप्रदान गर्ने हेतुले कोरिया गएको टोलीमा मेयर धनराज आचार्य वडाध्यक्षहरू रुद्रनाथ बराल (वडा नम्बर ८), दीपेन्द्र मर्सानी (वडा नम्बर ९), सरसफाइ शाखा प्रमुख बलाराम पाठक, सार्वजनिक निजी साझेदारी शाखाका प्रमुख इन्जिनियर नेत्र तिमिल्सिनासहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालिप्रसाद रिजाल, उपसचिव महेन्द्रकुमार सापकोटा, युएनडिपीका सुदीप अर्याल र यमुना सुवाल लगायत छन् ।

Advertisement

कोरियाको सफल फोहोर व्यवस्थापन प्रणालीबाट प्रेरणा लिँदै पोखरामा पनि यसैगरी प्रभावकारी व्यवस्थापन गर्ने लक्ष्य राखिएको मेयर आचार्यले जनाए । ‘कोरियाको भ्रमणबाट प्राप्त ज्ञान र अनुभवलाई पोखरामा लागू गरी दिगो विकासका लक्ष्यहरू हासिल गर्ने प्रयास गरिनेछ,’ उनले भनेका छन् ।

परियोजनाले नेपाल र कोरियाबीचको विकास साझेदारीलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ । कोइका र युएनडिपीको सहयोगले पोखराको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया