स्मृतिमा मगर भाषाका कवि केबी नाम्जाली

समाधान संवाददाता २०८१ पुष ३ गते १९:४४

पोखरा ।


‘कारखानामा काम गर्नेहरु भोको पेट कम्मर कस्नुपर्छ
महल बनाउने श्रमजीवीहरु आफैं झुपडीमा बस्नुपर्छ
मेहनत गरेर खेत खन्ने किसानहरु पनि
बाँच्न कै लागि यहाँ केही जुटाउन मुग्लानतिर पस्नुपर्छ


मगर भाषाका कवि केशरबहादुर (केबी) थापा नाम्जाली भुरुङ मगरले ५० को दशकमा परदेश भएकै बेला सिर्जना गरेको मुक्तक हो यो । यो कवितालाई उनले मगर भाषामा पनि अनुवाद गरेरका छन् । यिनै मुक्तक समेटेर नेपाली भाषालाई मातृ भाषामा अनुवाद गरिएको मुक्तक संग्रह कसिङ्गर उनले २०६८ सालमा प्रकाशित गरे । मगर भाषामा मीछास उपनाम दिएका कृतिमा उनको १ सय ७९ मुक्तक नेपाली र मगर भाषामा छन् ।

Advertisement


मीछास पछि उनले मगर भाषालाई मै आगो ‘म्हे’ कविता संग्रह प्रकाशित गरे । म्हेमा पनि उनको यस्तै क्रान्तिकारी रचनाहरु समावेश छन् । पोखरामा किनारा पसल सञ्चालन गर्दा र विदेश (साउदी) हुँदा कोरिएका रचना समेटेर २०६८ सालमा नेपाल फर्केर उनले मीछास र म्हे प्रकाशित गरेका थिए । त्यसपछि ‘हिमटाकुरा’ कविता संग्रह प्रकाशोन्मुख अवस्थामै छाडेर २०६८ फागुनमा बहराईन गए । त्यहाँ पुगेको ३ महिनामै उनको मृत्यूको खबर आयो ।
देशको तत्कालिन अवस्थालाई आफ्ना क्रान्तिकारी रचनामार्फत जनतालाई सजग गराउने अनि रचनालाई आफ्नो मातृभाषामा जोड्ने कवि केबी थापा नाम्जाली भुरुङ मगरको देहावदान भयो । परिवारले प्रकाशोन्मुख कविता संग्रह प्रकाशित गरिदिने भनेपनि अहिलेसम्म आफूसँगै बहराइन पु¥याएका कुनै पनि कागजपत्र नेपाल आएन ।


मगर भाषालाई साहित्यसँग जोड्ने स्व. कवि केबीलाई अहिले मगर समुदायले भुल्न सकिरहेका छैनन् । मगर संघ÷संस्थाहरुले उनको योगदान सम्झिरहेका छन् । यसैमा मगर भाषा प्रतिष्ठान पनि उनको योगदानलाई जीवित राख्न तल्लिन छ । प्रतिष्ठान कास्की शाखाले उनको परिवारसँग सहकार्य गर्दै अक्षयकोषमार्फत स्रष्टासम्मान र स्व. कवि केबीको जन्मजयन्ती मनाउँदै आएको छ ।

Advertisement

विसं २०२४ साल पुस २ गते स्याङ्जाको हरिनास गाउँपालिका २ प्यारसिङ (साविक मग्याम चिसापानी गाविस १) मा जन्मिएका स्व. कवि केबीको ५८ औं जन्मजयन्ती उनकै जन्म गाउँमा पुगेर प्रतिष्ठानले स्मृति ग्रन्थ विमोचन गरी मनाएको छ । मंगलबार स्व. कवि केशर नाम्जाली भुरुङ मगरको जीवनीमा आधारित स्मृति ग्रन्थ स्मृतिमा कवि केशर (आरमीट्माङ रील्हीङ्ग्या केशर) विमोचन गरिएको छ ।

मगर भाषा प्रतिष्ठानले हरेक वर्ष पुस २ गते कवि केशर नामजाली मगरको जन्मजयन्ति विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । यसैक्रममा यस वर्ष उनको स्मृति ग्रन्थ प्रकाशन गरी मनाएको हो । कार्यक्रममा हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धर र गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य कृष्णप्रसाद पौडेललगायतले स्मतिग्रन्थ विमोचन गरेका हुन् ।

कार्यक्रमा हरिनास गाउँपालिका अध्यक्ष मानन्धरले हरिनासले सम्झिनुपर्ने व्यक्तिलाई मगर भाषा प्रतिष्ठानले अमर राख्ने काम गरेकोमा आभार प्रकट गरे । कविको स्मृतिमा उनको जन्मथलो चिनाउका लागि आगामी दिनमा स्व. कवि केबीको परिवारसँग सहकार्य गरेर अघि बढ्ने उनले बताए । साथै स्व. कविलाई यो गाउँ र जिल्लामा मात्र नभई राष्ट्रीय रुपमा नै चिनाउने र सँधैभरि सम्झिरहने वातावारण बनाउनको लागि पहल गर्ने उनको भनाइ थियो ।
हरिनास २ का वडाध्यक्ष चित्रबहादुर थापा मगरले कवि स्व. भुरुङ मगरले साहित्यको क्षेत्रबाट आफ्नो मात्र नभई गाउँकै नाम र इज्जतलाई उचाइमा पुर्‍याएको स्मरण गरे । स्व. कविले गरेको योगदानको विशेष अवसरमा मात्र नभई सधैंभरि सम्झिनुपर्ने उनको भनाइ थियो ।


गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा भाषा साहित्य तथा दर्शन विभाग प्रमुख प्राज्ञ कृष्ण प्रसाद पौडेलले जुनसुकै समुदायको भाषा संस्कार संस्कृतिले राष्ट्रको पहिचान झल्काउने भएकाले यसको जगेर्ना गर्नु राज्यको दायित्व रहेको बताए । भाषा संक्षणको महत्वपूर्ण माध्यम भनेको साहित्य लेखन भएकोले मातृभाषामा धेरै भन्दा धेरै लेखन र प्रकाशन हुनु जरुरी रहेको पनि उनका भनाइ थियो । यस कार्यका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानले भाषा कक्षा सञ्चालन गरिरहेको उनले जानकारी गराए ।

कार्यक्रममा नेपाल मगर महिला संघ गण्डकी प्रदेशका अध्यक्ष तुलसी थापामगर, नेपाल मगर संघ हरिनास गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर रानामगर, नेपाल मगर संघ कास्कीका कार्यवाहक अध्यक्ष सु. चन्द्रबहादुर पुर्जामगर, स्व. कवि केवी नाम्जाली भुरुङ मगर अक्षय कोषका संरक्षक क्या. नरेश थापामगर लगायतले स्व. कवि केबीको योगदानको चर्चा गरेका थिए ।

मगर भाषा प्रतिष्ठान कास्कीका संस्थापक अध्यक्ष निर्मल थापामगरले कृतिको विमोचन गरेका थिए भने प्रतिष्ठानका सदस्य टोलमाया थापामगरले स्व. कवि भुरुङ मगरको संक्षिप्त जिवनी सुनाएकी थिइन् ।

प्रतिष्ठानका अध्यक्ष यामबहादुर थापामगरले आगामी दिनमा स्व. कवि केबीको जन्मजयन्ती अझै भव्य रुपमा मनाउने बताए । संस्थाका उपाध्यक्ष रुद्र श्रीसमगरले पछिल्लो समय मगर भाषा विर्सदै गएको अवस्थामा मीछास र म्हे जस्ता कृतिले भाषा संरक्षणमा सहयोग पुग्ने बताए । सचिव मिना थापामगरले स्व. कविलाई जीवन्त बनाइराख्न पालिकाले गाउँ वा चोक उनकै नाम बाट राख्न सुझाव दिएकी थिइन् ।

हरिनास गाउँपालिका २ को कार्यालयको विशेष सहयोगमा भएको कार्यक्रमको व्यवस्थापन जनप्रिय आमा समूहले गरेको थियो ।

तपाईको प्रतिक्रिया