फेवा संवाद : नेपालसहित १० देशका विज्ञको पोखरामा जमघट

पोखरा । पोखरामा नेपालसहित १० देशका विज्ञ पोखरामा भेला भएका छन् । चीन, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, मलेसिया, सिंगापुर र इन्डोनेसियाका विज्ञहरु शुक्रबारसम्म यहिँ रहनेछन् । २ दिनसम्म उनीहरुले विभिन्न सेसनमा समाज रुपान्तरण, आर्थिक समृद्धि र मुलुकको उन्नतिका लागि पोखरामा विश्व औद्योगिक रुपान्तरणमा दक्षिण एसियाको विकल्प सम्बन्धी छलफल र संवाद गर्नेछन् ।
विज्ञहरुको जमघटको चाँजोपाजो त्रिभुवन विश्वविद्यालय र चीनको सिचुआन विश्वविद्यालयले मिलाएको हो । दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकहरुको सहकार्यलाई थप प्रगाढ बनाउने, अन्तर आवद्धतालाई अवसरमा रुपान्तरण गर्ने, प्रविधि र विकासको साझेदारी अभिवृद्धि गर्ने उद्देश्यले गरिएको संवादको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् ।
उद्घाटन कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले विश्वव्यापीरुपमा सफल, अनुकरणीय र उपयुक्त विकास अभ्यासबाट सकारात्मक पाठ सिक्नुपर्ने बताइन् । केही दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको अनुभव हाम्रा लागि प्रेरणादायी हुने उनको भनाइ थियो । चीनले छोटो अवधिमा ठूलो जनसंख्यालाई गरिबीबाट बाहिर निकालेको र आफ्नो अर्थतन्त्रमा आमूलपरिवर्तन गरेकाले नेपालजस्ता मुलुकले अनुसरण गर्नुपर्ने उनले बताइन् ।
छोटो अवधिमा ठूलो जनसंख्यालाई गरिबीबाट बाहिर निकालेको चीनबाट हाम्रो मुलुकले अनुसरण गर्नुपर्छ
विद्यादेवी भण्डारी, पूर्व राष्ट्रपति
लगानीमैत्री र व्यावसायिक वातावरण, वैदेशिक लगानी आकर्षित गर्न द्रुत नीति र संस्थागत सुधार, औद्योगिक तथा भौतिक पूर्वाधारको विकास र सुशासन र संस्थागत क्षमता वृद्धिलगायत क्षेत्रमा सुधार गरेमा दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न सकिने पूर्वराष्ट्रपति भण्डारीको धारणा थियो ।
पूर्वराष्ट्रपति भण्डारीले पूर्वाधार निर्माण र सेवा विस्तारका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउँदै लैजानुपर्नेमा जोड दिइन् । उनले विदेशी र स्वदेशी लगानीका क्षेत्र बढाउँदै स्वदेशी उत्पादनमार्फत राजस्वमा वृद्धि गर्नुपर्ने बताइन् । नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको कृषिलाई व्यावसायिक बनाउनुका स्थानीयस्तरमा उद्योग स्थापना गरी स्वदेशी माग पूरा गर्नुपर्नेमा उनको जोड थियो ।
विकास प्रक्रियालाई तीव्रता दिँदा जलवायु परिवर्तनका प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्ने र त्यसलाई अनुकूल बनाउने किसिमका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको पूर्वराष्ट्रपति भण्डारीले बताइन् ।
नेपालका लागि चिनियाँ राजदूत छन् सङले सम्मेलनले यहाँको पर्यटन प्रवद्र्धनसँगै जनता–जनताबीच सम्बन्ध स्थापना गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । चिनियाँहरु आर्थिक रुपान्तरणको खोजीमा रहेको उनको भनाइ थियो । विकास र समृद्धि बाहेक आफूहरुको कुनै स्वार्थ नरहेको उनले बताए । ठूलो सानो धनी गरिब नभनी सामहिक हितमा अघि बढ्ने चाहेको बेला भूराजनीति चिन्ताको विषय भएको उनले बताए । पोखरामा भएको फेवा संवादले त्यो तनाव हटाउने विषयमा छलफल र बहस गर्नेमा विश्वस्त रहेको उनले सुनाए ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले त्रिभुवन विश्वविद्यालय र सिचुआन विश्वविद्यालयबीचमा शैक्षिक, प्राज्ञिक तथा अनुसन्धानका क्षेत्रमा विभिन्न सहकार्य हुँदै आएको बताउँदै सोहीअन्तर्गत पोखरामा यस किसिमको बौद्धिक बहस गर्न लागिएको जानकारी दिए ।
कार्यक्रम संयोजकसमेत रहेका त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलकको सहकार्यलाई थप प्रगाढ बनाउन, अन्तर आबद्धतालाई अवसरमा रुपान्तरण गर्न, प्रविधि र विकासको साझेदारी अभिवृद्धि गर्न फेवा संवाद आयोजना गरिएको जानकारी दिए । संवादमार्फत विश्वका प्रभावशाली मुलुकसँग सहकार्य गरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आंकाक्षालाई पूरा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको उनले बताए ।
२ दिनसम्म चल्ने सम्मेलनमा नेपालबाट शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, पूर्वपरराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, डा प्रकाशशरण महत, पूर्वमन्त्री कमल थापा, पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, लगायत राजनीतिज्ञ, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु डा दीपेन्द्रबहादुर क्षेत्री, प्राडा गोविन्दराज पोखरेल, डा विश्व पौडेल, पूर्वराजदूत, विश्वविद्यालयका प्राध्यापक, लगायत विज्ञहरुको सहभागिता छ ।
नेपालको ७६ जिल्लामा विस्तारित त्रिभुवन विश्वविद्यालयले विश्वका करिब १ सय ८२ विश्वविद्यालयहरुसँग शैक्षिक, प्राज्ञिक एवं अनुसन्धानात्मक सहकार्य गर्दै आइरहेको छ । देशका ८२ प्रतिशत विद्यार्थी पढ्ने विश्वविद्यालयमा गत वर्षभन्दा ३ प्रतिशत विद्यार्थी बढेको शिक्षाध्यक्ष केसीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया